"जेनजी" आन्दोलनमा भएको दमनको हिसाब मतदाताले निर्वाचनबाट खोज्नेछन्: प्रजापति
माघ १७, २०८२, शनिबार | विहान ११:५२ बजे | 125
भक्तपुर
नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक नगरी नगदेशको न्याचामा आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै आयोजित एक कार्यक्रमका बीच पार्टीले सो कार्यालयको उद्घाटन गरेको हो।
"जेनजी" आन्दोलनमा भएको दमनको आलोचना:
कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर क्षेत्र नं. २ (समानुपातिक) का उम्मेदवार दिलिप कुमार प्रजापतिले वर्तमान निर्वाचन जनताले चाहेर नभई अघिल्लो सरकारको गलत निर्णय र दमनकारी नीतिका कारण निम्तिएको बाध्यात्मक परिस्थिति भएको बताउनुभयो।
सम्बोधनका क्रममा नेता प्रजापतिले भन्नुभयो— "सरकारको गलत निर्णयले गर्दा देशले कहिल्यै देख्न नचाहेको दुखद मोड देख्नुपर्यो। जेन्जी (Gen Z) आन्दोलनमा उत्रिएका नवजवान युवाहरूले ज्यान गुमाउनु पर्ने र हजारौँ घाइते हुनुपर्ने अवस्था सिर्जना भयो। यस्तो पीडादायक घटनाको पुनरावृत्ति हुन नदिन मतदाताले अब सहि र गलत चिन्नै पर्छ।"
उहाँले लोडसेडिङ अन्त्य गर्ने र भ्रष्टाचारीमाथि कारबाहीको डण्डा चलाउने नेपाली कम्युनिस्ट पार्टीलाई नै यस पटक जनताले विजय गराउने विश्वास व्यक्त गर्नुभयो।
"म सदैव जनतासँगै छु र रहनेछु": राम प्रसाद सापकोटा
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फका उम्मेदवार एवं केन्द्रीय सदस्य राम प्रसाद सापकोटाले आफू सधैँ जनताको सुख-दुःखमा साथै रहेको र आगामी दिनमा पनि जनताकै बीचमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो— "म हिजो पनि जनताको सेवामा समर्पित थिएँ, आज पनि छु र भोलि पनि सदैव जनतासँगै रहनेछु। हाम्रो उम्मेदवारी पदका लागि मात्र नभई जनसेवा र यो क्षेत्रको समग्र विकासका लागि हो।"
चुनावी सरगर्मी बढ्यो
पुरातात्त्विक र सांस्कृतिक महत्त्वको नगरी नगदेशमा सम्पर्क कार्यालय स्थापना भएपछि स्थानीय कार्यकर्तामा उत्साह थपिएको छ। लामो समयदेखि राजनीति र जनसेवामा सक्रिय प्रजापति र सापकोटा दुवै "जनताको सेवा गर्ने व्यग्र चाहना" बोकेर चुनावी मैदानमा होमिएका छन्।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।
