भक्तपुरमा पहिलो ‘इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न


माघ १६, २०८२, शुक्रबार | राति ०९:०४ बजे | 230


भक्तपुरमा पहिलो ‘इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न

भक्तपुर । संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुर जिल्ला समितिको आयोजनामा पहिलो पटक (इसान फन फिएस्टा) कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । बालबालिकाको सर्वाङ्गीण विकास, खेलकुदप्रतिको रुचि र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रम भक्तपुरको ऐतिहासिक तौमढी स्क्वायर र शहीदस्मृति खेलमैदानमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमको उदघाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले रंगीन बलुन उडाएर गर्नुभएको थियो । उदघाटन समारोहमा उपप्रमुख जोशीसँगै इसान केन्द्रीय अध्यक्ष प्रेमजन थापा, केन्द्रीय कोषाध्यक्ष उकेश कवां तथा आयोजक समितिका अध्यक्ष कृष्णराम त्वनाबासुले मन्तव्य राख्दै बालमैत्री कार्यक्रमहरूले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
इसान फन फिएस्टामा भक्तपुर जिल्लाका १९ वटा संस्थागत विद्यालयहरु सहभागी भएका थिए । प्रत्येक विद्यालयबाट जुनियर केजी र सिनियर केजी तहका ८÷८ जना गरी १६ जना विद्यार्थीहरु सहभागी भएका थिए भने सम्पूर्ण विद्यालयबाट ४ जना शिक्षकहरु कार्यक्रम व्यवस्थापन तथा सहजीकरणमा संलग्न रहेका थिए । कार्यक्रमको शुभारम्भसंगै तौमढी स्क्वायरमा विद्यार्थीहरूले आकर्षक सामूहिक नृत्य     (मास डान्स) र सामूहिक पीटी अभ्यास (मास पीटी एक्सरसाइज) प्रस्तुत गरेका थिए । त्यसपछि तौमढी स्क्वायरबाट भक्तपुर दरबार स्क्वायर हुँदै शहीदस्मृति खेलमैदानसम्म ¥याली निकालिएको थियो, जसले कार्यक्रम उत्सवमय बनाएको थियो ।
शहीदस्मृति खेलमैदानमा पुगेपछि बालबालिकाका लागि ८ प्रकारका विभिन्न खेल गतिविधि सञ्चालन गरिएको थियो । खेलमार्फत सिकाइ, सहकार्य र अनुशासनको अभ्यास गराउने उद्देश्यले खेलहरू आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कृष्ण राम त्वानाबासूले जनाएको छ ।
कार्यक्रमको समापन समारोहमा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्र गोसाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । समापन समारोहमा मन्तव्य राख्दै गोसाईंले यस्ता कार्यक्रमहरूले प्रारम्भिक तहका बालबालिकामा आत्मविश्वास, नेतृत्व र खेलभावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो । समापन समारोहमा आयोजक समितिका अध्यक्ष कृष्णराम त्वनाबासुले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी सबै विद्यालय र विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । इसान भक्तपुर जिल्ला समितिले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक, शैक्षिक तथा खेलकुदमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा पहिलो ‘इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न
भक्तपुरमा पहिलो ‘इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न
भक्तपुरमा पहिलो ‘इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न
भक्तपुरमा पहिलो ‘इसान फन फिएस्टा’ भव्य रूपमा सम्पन्न

Comments