काठमाडौँ–२ मा नितेश पौडेलको चुनावी भेटघाट कार्यक्रम, लोकतन्त्र र राष्ट्रियता जोगाउन कम्युनिस्ट उम्मेदवार जिताउनुपर्नेमा जोड


माघ १६, २०८२, शुक्रबार | दिउँसो ०३:५० बजे | 230


काठमाडौँ–२ मा नितेश पौडेलको चुनावी भेटघाट कार्यक्रम, लोकतन्त्र र राष्ट्रियता जोगाउन कम्युनिस्ट उम्मेदवार जिताउनुपर्नेमा जोड

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार युवा तथा जुझारु नेता नितेश पौडेलको चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित कोटेश्वर पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता गिरिराजमणि पोख्रेलले वर्तमान अवस्थामा लोकतन्त्र र राष्ट्रियता गम्भीर धरापमा परेको बताएका छन्। उनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरू जोगाउनु आजको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यसका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूलाई विजयी गराउनु अनिवार्य रहेको बताए। “अहिले देशमा अमेरिकी साम्राज्यवाद हावी हुँदै गएको छ, यसले हाम्रो स्वाधीनता, आत्मनिर्भरता र जनताको अधिकारमाथि खतरा सिर्जना गरेको छ,” पोख्रेलले भने, “यसको प्रतिरोध संगठित कम्युनिस्ट शक्तिबाट मात्र सम्भव छ।” कार्यक्रमका आकर्षक वक्ता तथा उम्मेदवार नितेश पौडेलले आफू व्यक्ति भन्दा पार्टी ठूलो भएको स्पष्ट धारणा राखे। “हामी पार्टीका उम्मेदवार हौं, पार्टीभन्दा हामी ठूलो होइनौं,” उनले भने, “पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो।” पौडेलले आफू विगत १६ वर्षदेखि काठमाडौँ–२ क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको बताउँदै यहाँको विकास निर्माणसँग घुलमिल भएको व्यक्ति भएको दाबी गरे। “म यहीँको समस्या, आवश्यकता र सम्भावनासँग प्रत्यक्ष जोडिएको छु, त्यसैले मेरो जितका आधार प्रशस्त छन्,” उनले आत्मविश्वास व्यक्त गरे। उनले पछिल्लो समय चर्चामा रहेका जेन–जी (Gen Z) का मुद्दाहरू सही र समयसापेक्ष रहेको उल्लेख गर्दै ती मुद्दाहरूको समुचित सम्बोधन नेपाली कम्युनिस्ट पार्टीले गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी वक्ताहरूले काठमाडौँ–२ लाई परिवर्तन र प्रगतितर्फ लैजान नितेश पौडेल उपयुक्त उम्मेदवार भएको धारणा राखेका थिए।

फाेटाेमा हेर्नुहाेस्...

काठमाडौँ–२ मा नितेश पौडेलको चुनावी भेटघाट कार्यक्रम, लोकतन्त्र र राष्ट्रियता जोगाउन कम्युनिस्ट उम्मेदवार जिताउनुपर्नेमा जोड

Comments