मेरो उम्मेदबारी अवैध प्लटिंगविरुद्धः महत
माघ १४, २०८२, बुधबार | दिउँसो १२:०४ बजे | 380
भक्तपुर क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार नवीन कुमार महतले आफूले अवैध प्लटिङ, प्राकृतिक दोहन र सार्वजनिक जग्गाको लुटजस्ता गम्भीर राष्ट्रिय मुद्दालाई प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारेका छन्।
उनले भनेका छन्,
“अवैध प्लटिङ, प्राकृतिक स्रोतको दोहन र सार्वजनिक जग्गाको लुट ठूला दलहरूको साझा स्वार्थ बनेको छ। यही गलत प्रवृत्तिविरुद्ध आवाज उठाउन मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ। यदि जनताले मलाई सम्मानजनक मत दिएर जिताउनु भयो भने, नीति–गत तहबाटै यस्तो समस्या देशभर अन्त्य गर्न सकिन्छ। अब नेतृत्व परिवर्तन मात्र होइन, चरित्र र नीतिको परिवर्तन आवश्यक छ।”
उनका अनुसार निर्वाचन लोकतान्त्रिक व्यवस्थाको आत्मा हो। आफूले पनि लोकतान्त्रिक प्रणालीभित्र रहेर, संविधानले दिएको अधिकार प्रयोग गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताए।
स्वतन्त्र उम्मेदवार कुनै दलको पक्ष वा विपक्षमा हुँदैनन्, न त उनीहरू कुनै राजनीतिक दलका शत्रु नै हुन्छन्। वास्तविकता के हो भने, राजनीतिक दलका सबैभन्दा ठूला शत्रु प्रायः राजनीतिक दल नै हुन्छन्, जसले आपसी स्वार्थ, सत्ता संघर्ष र गुटबन्दीमार्फत लोकतन्त्रलाई कमजोर बनाउँदै आएका छन्।
नवीन कुमार महत भन्छन्,
“राजनीतिमा पैसाको होइन, चेतनाको मापन हुनुपर्छ। स्वतन्त्र उम्मेदवारसँग दलसरह पैसा खर्च गरेर जनतालाई प्रभावित गर्ने क्षमता नहुन सक्छ, तर उनीहरूसँग चेतना, नैतिकता र स्पष्ट दृष्टिकोण हुन्छ। यही चेतनाको आधारमा जनतालाई सचेत गराएर मत माग्ने नै स्वतन्त्र उम्मेदवारको शक्ति हो।”
उनका अनुसार नागरिक स्वतन्त्र हुन्छन्। स्वतन्त्र अधिकार प्रयोग गर्ने हक नागरिकको पहिलो मानव अधिकारभित्र पर्छ। तर चुनावका बेला राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले स्वतन्त्र नागरिकलाई कार्यकर्ताको बिल्ला भिराएर आफ्नै मतदाता बनाउने प्रवृत्ति मौलाउँदै गएको छ।
धेरै नागरिक दलका एजेन्डा नबुझी, बहकाउ, लहैलहै र भावनात्मक नाराको पछि लागेर गलत नियतले खोलिएका राजनीतिक दललाई मतदान गर्न बाध्य हुने अवस्था अझै दोहोरिन सक्ने खतरा देखिन्छ।
महतले वर्तमान अवस्थाको विश्लेषण गर्दै चेतावनी दिए,
“हामी नेपाली हुनका लागि पहिला नेपाल चाहिन्छ। नेपाल बचाउन देशप्रेमी, नीतिवान र दबाबमुक्त व्यक्ति शासनमा पुग्नुपर्छ। आज बिना एजेन्डा भीडको पछि लाग्ने प्रवृत्ति बढ्दैछ, जसले केही पार्टीलाई फाइदा पुग्ला तर समग्रमा देशलाई ठूलो घाटा हुनेछ।”
उन्नत लोकतन्त्रका उदाहरण
उनका अनुसार विकसित लोकतन्त्र भएका देशहरू—जस्तै स्विट्जरल्यान्ड, नर्वे, फिनल्यान्ड—मा स्वतन्त्र वा दलको ह्वीपभन्दा माथि उठेर निर्णय गर्न सक्ने सांसदहरूको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ।
त्यहाँ सांसदहरू पार्टीको दबाबभन्दा बढी जनताको हित, दीर्घकालीन नीति र राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिन स्वतन्त्र हुन्छन्। यही कारण ती देशहरूमा स्थिर सरकार, पारदर्शी नीति निर्माण र दिगो विकास सम्भव भएको छ।
त्यसैले महतले सम्पूर्ण न्यायप्रेमी, चेतनशील र स्वतन्त्र नागरिकलाई अपिल गर्दै भने,
“यदि दलका उम्मेदवारभन्दा पनि स्वतन्त्र व्यक्तिबाट खडा भएको उम्मेदवारलाई जित दिलाइयो भने, देश दलको चपेटामा पर्नबाट जोगिन्छ। सरकार निर्माणमा स्वार्थले भरिएको, बिना एजेन्डाको गठबन्धन गर्नुपर्ने बाध्यता हट्छ। सांसदहरू बिना दबाब स्वतन्त्र भएर नीति निर्माण र कानुन लेखनमा भूमिका खेल्न सक्छन्, जसले स्थायी र जिम्मेवार सरकारको आधार तयार गर्छ।”
अन्त्यमा उनले देशको दिगो विकास, सुशासन र लोकतन्त्रको मजबुतीका लागि स्वतन्त्र उम्मेदवारको जित अपरिहार्य रहेको उल्लेख गर्दै भक्तपुर निर्वाचन क्षेत्र नं.२ का मतदातालाई "चुनाव चिह्न क्यामेरा" मा मतदान गर्न आग्रह गरेका छन्।
