भक्तपुर क्षेत्र नं २ का दुईजना उम्मेदबारसँंग स्पष्टीकरण


माघ १३, २०८२, मङ्गलबार | साँझ ०६:५४ बजे | 195


भक्तपुर क्षेत्र नं २ का दुईजना उम्मेदबारसँंग स्पष्टीकरण

भक्तपुर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । यसमा नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (ञ) र (ण) अनुसार निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । उनी भक्तपुर २ का उम्मेदबार हुन् । 
त्यसैगरी श्रम संस्कृति पार्टीलाई निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (घ) उल्लङ्घन भएको ठहर गर्दै स्पष्टीकरण सोधेको आयोगले जानकारी दिएको छ। त्यसैगरी आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने बारेमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (च) अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं–२ का उम्मेदवार महेश बस्नेतलाई नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा–४ को खण्ड (ठ), सोही आचारसंहिताको दफा १३ को उपदफा (१) को (ञ), मुलुकी अपराधसंहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो÷होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाहलाई एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। त्यसैगरी, जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल (डा. निकोलस) सहित आचारसंहिता विपरीत काम भएको भन्दै १५ उमेदवारलाई स्पष्टीकरण सोधेको छ।
यसैवीच फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता पालना गर्न भक्तपुरको सबै राजनीतिक दल तथा सरोकार वाला निकायले प्रतिबद्धता जनाएका छन् । 
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आयोजना गरेको निर्वाचन आचारसंहित सम्बन्धी अन्तक्रियामा स्वच्छ, निष्पक्ष तथा भयरहित तरिकाले शान्तिपुर्ण रूपमा फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकायले प्रतिबद्धता जनाएका हुन् । 
मुख्य निर्वाचन अधिकृत नवराज दाहालले निर्वाचन आयोगले सबै राजनीतिक दलहरूसँग छलफलपछि मात्रै निर्वाचन आचारसंहिता तयार गरेको बताउँदै मुख्य गरी राजनीतिक दलहरूले यसको पालनामा विषेश ध्यान दिनुपर्ने बताउनुभयो । निर्वाचनमा सहभागी हुने सम्पुर्ण सरोकारवाला निकायलाई पनि आचारसंहिताको धाराले बाँधेको उहाँको भनाइ थियो । 
अन्तक्रियामा प्रमुख जिल्ला अधिकारीले निर्वाचनको मिति नजिकिएकाले लाइसेन्स प्राप्त हात हतियारहरू समयमै नजिकैको प्रहरी चौकीमा बुझाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचन आचारसंहिता पालना गराउने विषयमा जिल्ला प्रशासन कार्यालय कडाइका साथ प्रस्तुत हुने समेत बताउनुभयो । 
कार्यक्रममा सहभागी उम्मेदवारहरूले निर्वाचन आचारसंहिता सबै उम्मेदवार र राजनीतिक दलहरूलाई सम्मान रूपमा लागू गराउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । निर्वाचन आचारसंहितासम्बन्धी अन्तक्रियामा राजनीतिक दलहरू, उम्मेदवार, सरकारी निकायका प्रमुख तथा सुरक्षा निकायका प्रमुख तथा भक्तपुर उद्योग वाणिज्य संघ र गैर सरकारी संस्था भक्तपुरका प्रमुखहरू आ–आफनो धारणा राखेका थिए ।

Comments