खुल्ला रक्तदान तथा स्मृति सभा सम्पन्न
माघ १३, २०८२, मङ्गलबार | दिउँसो १२:५८ बजे | 230
भक्तपुर, माघ १३ —धनसार टोल विकास संस्थाका अध्यक्ष स्वर्गीय श्याम कायस्थको ४५ औँ पुण्यतिथिको अवसरमा मंगलबार भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार (धनसार) मा खुल्ला रक्तदान कार्यक्रम तथा विशेष स्मृति सभा सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी सिरुटार उपशाखाको समन्वयमा तथा भक्तपुर जिल्ला रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा बिहान ७ बजेदेखि कार्यक्रम सञ्चालन गरिएको थियो। औपचारिक रूपमा सुरु भएको स्मृति सभाको सभापतित्व धनसार टोल विकास संस्थाकी कार्यवाहक अध्यक्ष ज्ञानु माया श्रेष्ठ ले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानु काजी कायस्थ, विशेष अतिथिमा संस्थाका प्रमुख सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ, टोलका ज्येष्ठ नागरिक रामलाल कायस्थ लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय योग–ध्यान प्रशिक्षक चन्द्रहरी कायस्थ, नेपाल रेडक्रस सोसाइटी सिरुटार शाखाका अध्यक्ष बलभद्र राउत,सिरु योग साधना केन्द्र सिरुटारका अध्यक्ष राजेश श्रेष्ठ,स्थानीय लुनिबा धिमे खलका अध्यक्ष रवि श्रेष्ठ, सिरुटार माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पोखरेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार श्यामकृष्ण श्रेष्ठ ले राख्नुभएको थियो भने प्रमुख सल्लाहकार राजेन्द्रकुमार श्रेष्ठ ले स्वर्गीय श्याम कायस्थको जीवनी, टोल विकासमा उहाँले पुर्याउनुभएको योगदान, दुःख–सुख र संस्थागत नेतृत्वमा खेलेको भूमिकाबारे विस्तृत जानकारी दिनुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
