ओस्ला नेपालको अध्यक्षमा सुशील जोशी


माघ ११, २०८२, आइतबार | राति ०७:३८ बजे | 125


ओस्ला नेपालको अध्यक्षमा सुशील जोशी

सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमिको अग्रणी सामाजिक संस्था ओस्ला नेपालको अध्यक्षमा सुशील जोशी सर्वसम्मत चयन हुनुभएको छ । ओस्ला नेपालको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा रोशन बज्राचार्य, सचिवमा दिकेश बज्राचार्य, सहसचिवमा रामसुन्दर श्रेष्ठ र कोषाध्यक्षमा शम्भुजय श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत गोपाल श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरि सदस्यहरुमा रत्नकृष्ण श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुर्यलाल श्रेष्ठ, हेरेन्द्र बज्राचार्य, बिजेन्द्र श्रेष्ठ र सुन्दर कृष्ण श्रेष्ठ चयन हुनुभएको छ । ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नपा वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास, सांस्कृतिक उत्थान, स्वास्थ्य सचेतना, सरसफाई एवं सांस्कृतिक बाजागाजाको संरक्षणमा ओस्ला नेपालले पु¥याएको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख एवं ओस्ला नेपालका पूर्व अध्यक्ष मदनसुन्दर श्रेष्ठले सामाजिक परिवर्तनका लागि युवा नेतृत्वको अपरिहार्यता भन्ने मूल नाराका साथ स्थापित ओस्ला नेपालले सामाजिक, सांस्कृतिक, स्वास्थ्य एवं व्यक्तित्व र नेतृत्व विकासमा गरेका कार्यहरुको बुँदागत जानकारी दिदैं ओस्ला नेपाल अझै सशक्त हुनुपर्नेमा जोड दिनुभयो । ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले ओस्ला नेपालले गतवर्ष २५ औं रजत वर्षको अवसरमा स्मारिका प्रकाशन गरेको र मध्यपुर महोत्सवमा नेवा भोजका परिकारहरुको प्रदर्शनी गरिएको जानकारी दिदैं धिमे बाजा प्रतियोगिता र नाइखी बाजा प्रशिक्षण लगायतका विषयमा मध्यपुर वासीले ओस्ला नेपाललाई स्मरण गर्ने गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुशील जोशीले ओस्ला नेपालको हालसम्मको गतिविधि, स्थापनको उद्देश्य सहित स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष दिकेश बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संचारकर्मी सागर गुरागाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव रोशन बज्राचार्यले समाज परिवर्तनमा युवा नेतृत्वको आवश्यकता भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै ओस्ला नेपालले संस्कृति संरक्षण, परम्परागत बाजा प्रशिक्षणदेखि नेतृत्व र व्यक्तित्व विकासका कार्यहरुलाई निरन्तरता दिने बताउनु भयो । मध्यपुर थिमि नपा ४ स्थित राजगणेश क्याफेमा भएको उक्त कार्यक्रममा ओस्ला नेपालका पदाधिकारी, सदस्य एवं संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
 

Comments