मध्यपुर थिमिमा 'ध्वाक्सी गणेश मन्दिर' को शिलान्यास: ३० लाखको लागतमा प्राचीन स्वरूप ब्युँताइने, फेरिँदै ध्वाकासी परिसरको मुहार
माघ ९, २०८२, शुक्रबार | राति ०९:३५ बजे | 100
मध्यपुर थिमि नगरपालिकाले आफ्नो सांस्कृतिक सम्पदा संरक्षण र पर्यटकीय पूर्वाधार विकासको अभियानलाई तीव्रता दिएको छ। यसै क्रममा वडा नं. ७ स्थित ऐतिहासिक 'ध्वाक्सी गणेश मन्दिर' को पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।
धार्मिक विधिपूर्वक शिलान्यास
आज मिति २०८२ पुस ९ गते, एक विशेष समारोहका बीच नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, वडा अध्यक्ष कृष्ण कुमार, वडा सदस्यहरू शर्मिला विश्वकर्मा र भक्तराज आचार्य लगायतको उपस्थितिमा मन्दिरको जग पूजा तथा शिलान्यास सम्पन्न भएको छ।
शिलान्यासका क्रममा स्थानीय नगदेशवासीहरूको निकै उत्साहप्रद उपस्थिति रहेको थियो। नेवारी परम्परा र संस्कृतिलाई पछ्याउँदै स्थानीय बासिन्दाहरूले मन्दिरको जगमा राख्नका लागि पुराना सिक्काहरू र तामाका भाँडाकुँडाहरू श्रद्धापूर्वक अर्पण गरेका थिए। धार्मिक मान्यता अनुसार मन्दिरको जगमा यस्ता धातु र सिक्काहरू अर्पण गर्नाले शुभ हुने जनविश्वास रहिआएको छ।
सम्पदा संरक्षणमार्फत पर्यटकीय गन्तव्यको लक्ष्य
कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सम्पदाहरूको संरक्षणले नै नगरको पहिचान जीवन्त राख्ने बताउनुभयो। उहाँले स्थानीय कला र संस्कृति जोगिए मात्र नगरको मौलिकता बच्ने र यसले भविष्यमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले मद्यपुर थिमिका पुरातात्त्विक सम्पदाहरूलाई अक्षुण्न राख्दै नगरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँले ध्वाक्सी गणेश मन्दिरको पुनर्निर्माणले यो लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण सघाउ पुर्याउने उल्लेख गर्नुभयो।
धवाकासी परिसरमा एकीकृत विकासको योजना
उपप्रमुख श्रेष्ठले सोही क्षेत्रको एकीकृत विकासका योजनाहरूबारे थप जानकारी दिँदै भन्नुभयो:
मन्दिरसँगै रहेको कलात्मक फल्चा (पाटी) को निर्माण कार्य गत आर्थिक वर्ष २०८१/०८२ मा नै सफलतापूर्वक सम्पन्न भइसकेको छ।
चालू आर्थिक वर्षभित्रै यसै ध्वाकासी परिसरमा ऐतिहासिक 'ध्वाका' (प्रवेशद्वार) पुनर्निर्माणका लागि नगरपालिकाले २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
यसै क्षेत्रमा बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गर्न समेत बजेटको व्यवस्था गरिएको छ।
"यी परियोजनाहरू सम्पन्न भएपछि ध्वाकासी परिसरको समग्र मुहार फेरिने र यो क्षेत्र स्थानीय तथा बाह्य पर्यटकका लागि आकर्षक स्थल बन्नेछ," उपप्रमुख श्रेष्ठले भन्नुभयो।
परियोजनाको प्राविधिक पक्ष
नगरपालिकाको पूर्ण लगानीमा सञ्चालित यस पुनर्निर्माण परियोजनाको कूल लागत रु. २९,९९,९४५.९४ (करिब ३० लाख) रहेको छ। मन्दिरको प्राचीन मौलिक स्वरूप र वास्तुकलालाई जस्ताको तस्तै कायम राख्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ।
परियोजनालाई व्यवस्थित र पारदर्शी बनाउन रोशन बाडेको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ भने साइट इन्चार्जका रूपमा ई. मनिषा श्रेष्ठ रहनुभएको छ। यो आयोजना आगामी २०८३ वैशाख ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
फाेटाेमा हेर्नुहाेस्...
