को हुन् नेमकिपा ललितपुर १ कि उम्मेदबार सरिता ?
माघ ८, २०८२, बिहीबार | विहान ११:३८ बजे | 440
ललितपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट ललितपुर क्षेत्र नं १ मा सरिता गोसाई देशारले उम्मेदबारी दिएकी छिन् । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं ११ निवासी उनले पार्टीकोतर्फबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदबारी दर्ता गराएकी हुन् ।
देश र जनताको हितका लागि आफूले उम्मेदबारी दिएको उनले बताएकी छिन् । राजनीति शुद्ध समाजसेवाको लागि हुनुपर्ने भन्दै उनले राजनीतिलाई व्यापार बनाउनेका विरुद्ध आफनो उम्मेदबारी भएको बताइन् । राजनीतिलाई पैसा कमाउने भाँडो बनाउनेका विरुद्ध आफनो उम्मेदबारी रहेको उनले बताइन् । त्यसकारण काम गरिखाने वर्गको हितका लागि आफनो उम्मेदबारी जरुरी रहेको उनले सुनाइन् । त्यसकारण सम्पूर्ण सचेत मतदाताहरुलाई मादल चिन्हमा छाप लगाई आफूहरुलाई विजयी बनाउन उनले अनुरोध गरिन् ।
वर्ष ४५ कि सरिता भक्तपुरकी चेली हुन् । उनी ललितपुरकी बुहारी हुन् । उनको जन्म भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीमा भएको थियो । उनी भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा हुर्केकी हुन् । उनको विवाह ललितपुर गोदावरी नगरपालिकामा भएको हो ।
बुबा तुल्सीदास र आमा केशरीको कोखबाट उनको जन्म भएको हो । उनका मातापिता दुवै स्वर्गीय भइसकेका छन् । उनी नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी महिला संघ ललितपुरकी सदस्यसमेत हुन् ।
ललितपुर क्षेत्र नं १ मा ललितपुरको गोदावरी नगरपालिका पर्दछ । यसअघिको निर्वाचनमा यहाँं नेपाली कांग्रेसका उम्मेदबार विजयी भएको थियो ।
