भक्तपुर क्षेत्र नं १ मा रास्वपाबाट को हुन्छन् उम्मेदबारः रुकेश कि रोशन ?
पुष १८, २०८२, शुक्रबार | साँझ ०५:२९ बजे | 2380
भक्तपुर । भक्तपुर क्षेत्र नं. १ भन्ने बित्तिकै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को बलियो पकड भएको क्षेत्रका रूपमा चिनिँदै आएको छ । २०४८ सालदेखि अहिलेसम्म नेमकिपाले यस क्षेत्रमा एकछत्र राज्य गर्दै आएको छ अर्थात तीन दशकयता उक्त क्षेत्रमा अन्य राजनीतिक दलको प्रदर्शन निकै कमजोर रहँदै आएको छ । तर, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एकता भएपछि भने यसपटक नेमकिपाको गढ भत्काएर इतिहास रच्ने दाउमा रास्वपा देखिएको छ ।
भक्तपुर क्षेत्र नं. १ बाट फागुन २१ गतेको प्रतिनिनिध सभा निर्वाचनका लागि रास्वपाकातर्फबाट जिल्ला सचिव रुकेश रञ्जित र चाँगुनारायण नगर सभापति रोशन थापा आकांक्षीका रूपमा देखिएका छन् ।
को हुन् रुकेश ?
व्यवसायी र समाजसेवीका रूपमा परिचित रुकेश भक्तपुर इलेक्ट्रोनिक्स व्यापार संघका उपाध्यक्ष र भक्तपुर उद्योग वाणिज्य संघका सदस्य हुन् । यस्तै, उनी रक्तदाता संघ नेपाल–ब्लडन भक्तपुरका पूर्वअध्यक्ष, लायन्स क्लब अफ भक्तपुर नमस्तेका पूर्वचार्टर अध्यक्ष र हेलो प्वाइन्ट नेपाल प्रालिका कार्यकारी निर्देशक समेत हुन् । उनी व्यापार र समाजसेवासँग सम्बन्धित एक दर्जनभन्दा बढी संघसंस्थामा आबद्ध छन् ।
को हुन् रोशन?
झण्डै दुई दशक पत्रकारिता क्षेत्रमा इमानदार र मिहिनेती छवि बनाएका रोशन थापा नेपाल बेसबल तथा सफ्टबल संघका केन्द्रीय सदस्य तथा बेसबल खेलका राष्ट्रिय प्रशिक्षक समेत हुन् । चाँगुनारायण नगरभित्र हुँदै आएको भ्रष्टाचार, बेथिति र विचलनविरुद्ध खरो उत्रिँदै आएका थापाले सार्वजनिक जग्गा संरक्षण र अवैध बालुवा–माटो ओसारपसार रोक्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
भक्तपुर क्षेत्र नं. १ मा रास्वपाबाट दुई जना आकांक्षीका रूपमा देखिए पनि थापा भने आगामी स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगर प्रमुखमा आफूलाई अगाडि सार्ने दाउमा छन् । त्यसैले रुकेश नै सर्वसम्मत उम्मेदवार बन्ने लगभग पक्कापक्की जस्तै रहेको रास्वपा स्रोत बताउँछ ।
भक्तपुर क्षेत्र नं. १ मा पहिलोपटक प्रत्यक्षतर्फ उम्मेदवारी दिन लागेको रास्वपालाई नेमकिपाको गढ भत्काउन त्यति सहज भने हुने छैन । गत निर्वाचनमा यस क्षेत्रबाट नेमकिपाका प्रेम सुवाल ४२ हजार ७ सय ६१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९ सय ६८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुनिल गोठेले ५ हजार २ सय ८३ मत पाएका थिए । यस क्षेत्रमा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।
गत निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ मा रास्वपाले समानुपातिकतर्फ ११ हजार ३ सय १० मत प्राप्त गर्दै दोस्रो ठूलो दल बनेको थियो भने नेमकिपाले ३३ हजार ८ सय ५१ मत प्राप्त गरेको थियो ।
तर, रास्वपा चाँगुका नगर सभापति थापाले नेमकिपाको जनमत बढ्दो नभइ घट्दो अवस्थामा रहेको र अहिलेको परिस्थितिमा रास्वपाप्रति बढी आकर्षण देखिएकाले आफूहरू बलियो अवस्थामा रहेको दाबी गरे ।
नेमकिपाले यस क्षेत्रमा बढ्दो नभई घट्दो मतसहित जित्दै आएको हो । गत निर्वाचनमा रास्वपाको अभियानमा जोडिएका साथीहरूले अन्य पुराना दललाई भन्दा नेमकिपालाई मत दिनुपर्छ भनेर अभियानै चलाएका थियौँ, जसका कारण प्रेम दाइको मत बढ्यो,’ थापाले भने, ’तर यसपटक जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने गरी बालेन, कुलमान लगायतका आशा गरिएका नेताहरु रास्वपामा जोडिएपछि जनता पनि उत्साही पाएका छौं, जसले गर्दा यसपटक नेमकिपाका समर्थकहरूले रास्वपालाई मत दिई जिताउनुहुनेछ भन्नेमा विश्वस्त छौं ।’
ख्वप कलेजलाई विश्वविद्यालय बनाउने, भक्तपुरलाई शिक्षाको हबका रूपमा विकास गर्ने नेमकिपाको माग पूरा गर्नसक्ने र भक्तपुरको प्राचीन मौलिकता बचाइराख्ने तथा मूर्तअमूर्त सम्पदाहरूको संरक्षण गर्दै पर्यटकीय हबका रूपमा थप विकास गर्न सक्ने पार्टी रास्वपा नै भएकाले पनि यसपटक सबैले सहयोग गर्ने विश्वास लिएको थापाको भनाइ छ ।
भक्तपुर नगरपालिकाको देको–मिबा–इटापाके जग्गा एकीकरण आयोजनामा देखिएको विवादका कारण नेमकिपासँग धेरै स्थानीय रुष्ट छन् ।
भक्तपुर नगरपालिका वडा नं. १० मा नयाँ बसोबास गर्न आउनेको सङ्ख्यामा पनि वृद्धि देखिएको छ । यस्तै, ’जेनजी’ आन्दोलनमा भक्तपुरका युवाहरूले पार्टीको निर्देशनविपरीत खुलेरै समर्थन जनाएका थिए । भक्तपुर नगरभित्र पारदर्शिता र सुशासनकाबारेमा आवाज नउठेको पनि होइन । यी सबै कारणले गर्दा यसपटक रास्वपा उत्साहित देखिएको छ ।
निर्वाचन कार्यालयका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा कुल १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन् । त्यसमध्ये ५२ हजार ६६ पुरुष र ५४ हजार ९ सय ८८ महिला मतदाता छन् । यो क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिका पर्दछन् ।
फाेटाेमा हेर्नुहाेस्...
