भक्तपुर राम्रो, सफा सुन्दर हुनुमा सफाइ कर्मचारीको देन
पुष १५, २०८२, मङ्गलबार | साँझ ०५:०० बजे | 175
भक्तपुर, १५ पुस । भक्तपुर नगरपालिका वातावरण समितिको आयोजनामा भक्तपुर नगरपालिकामा कार्यरत वडा निरीक्षक, ड्राईभर र हेल्परहरुको भेला भनपा सभाकक्षमा मंगलबार सम्पन्न भयो । कार्यक्रममा वातावरण समितिका सदस्य एवम् वडा नं २ का महिला सदस्य मञ्जुमैया लाखाजुले फोहर छुट्याएर संकलन गर्दा ड्राइभर हेल्परहरुलाई गुनासा आउने मानविय स्वभाव नै भएको बताउँदै जनसंख्या बृद्धिसंगै फोहरमैलामा पनि समस्या बढीरहेकोमा वातावरण जोगाउने कष्ट साध्य काममा हामीले योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुर राम्रो, सफा सुन्दर हुनुमा सफाइ कर्मचारीको देन रहेको बताउँदै तल्लो तहमा अझै पनि कमिकमजोरीहरु सुधार गर्नुपर्ने पक्ष रहेको बताउनुभयो । उहाँले समाजशास्त्रले भन्ने अनुसार जन्मेदेखि नमरेसम्म सिक्नुपर्ने हाम्रो जीवनमा यस्तो मार्ग निर्देशनहरु कतिमात्र सुन्ने भने कर्मचारीहरुलाई लाग्न सक्ला तर हाम्रो साँस्कृतिक स्तर उठाउन निरन्तर सिकाईले मात्र व्यवहार परिवर्तन गर्न सक्ने बताउनुभयो । उहाँले खौमा इन्द्रायणी मन्दिरमा छाना छाउँदा बाह्य र आन्तरिक पर्यटकहरु, स्कुले विद्यार्थीहरुले गरेको श्रमदान र आर्थिक सहयोग र उदाहरणीय व्यक्तित्व बुद्धिजीवी एवम् राजनीतिज्ञ का.नारायणमान विजुक्छेंबाट निरिक्षण गर्दा बालबच्चादेखि बृद्धबृद्धासम्म हौसिएको र विदेशीहरुले समेत फोटो खिचाएको बताउँदै उहाँलाई विदेशीहरुले चिनेको उहाँले भक्तपुर प्रति गरेको जीवनभरको दुखकष्ट योगदान हो भन्नुभयो । उहाँले कर्मचारीहरु पोशाकदेखि हरेक कुरामा स्मार्ट हुनु पर्ने बताउँदै नेमकिपाको गढ भनेर चिनिने ठाउँमा मास्टर र पिएचडिका इन्टर्न गर्न आउने विद्यार्थीहरुले सोधपुछ गर्दा भन्नसक्ने गरी सक्षम हुन राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र कुराहरु जानकारी अपडेट भई राख्नु पर्छ भन्नुभयो । उहाँले नयाँ पुस्ता युवाहरुमा राजनीतिक चेतना नभए देशका जनताले दुख पाउने बताउँदै नमुना शहर, सचेत नागरिक, आचासंहिता पालना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा श्यानिटेशन प्रमुख दिलिप कुमार सुवालले २०५१ सालमा ७ वटा ट्याक्टरले फोहर उठाएकोमा फोहर बढेसंगै कर्मचारी सवारी साधन बढेर ठूलो जमात भएको बताउँदै ड्युतिसंगै आकस्मिक उद्धारमा तत्परता देखाउनुपर्ने बताउनुभयो । उहाँले ड्राइभर हेल्परहरुले सुधार गर्नुपर्ने, फोहर न्युनिकरण गर्ने, फोहर छुट्याउने, फोहरलाई मोहर बनाउने सिकिरहेको बताउँदै गाडीमा असम्बन्धित व्यक्ति राख्न नहुने बताउनुभयो । उहाँले कुलतबाट टाढा रहे स्वस्थ्य हुने बताउँदै काममा सक्षमता ल्याउँछ भन्नुभयो । उहाँले नगरबासीसंग झर्केर छाडा बोल्न नहुने, जवालसवाल गर्न नहुने, झै झगडा गर्न नहुने बताउँदै हाम्रो कमजोरीमा हेलो सरकार मार्फत गुनासो गर्न सक्ने भएकोेले सभ्य र शिष्ट भएर इमान्दारपूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले निरिक्षकहरुले पनि सरसफाईमा ध्यान दिनुपर्ने बताउँदै फोहर छुट्याई संकलन, हरियाली व्यवस्थापनले भक्तपुरको वातावरण प्रदुषणबाट बचाउँछ भन्नुभयो ।
कार्यक्रममा वडानिरिक्षक रामकृष्ण प्रजापतिले भेला हुनुको उद्देश्य हामीले गरिरहेको सफाइ सम्बन्धी जिम्मेवार कामलाई अझ इमानदार, अनुशासित र प्रभावकारी बनाउन हो भन्नुभयो । उहाँले हरेक बिहान शहर उठ्नुअघि नै सडक, टोल, बस्ती र सहर सफा गरेको स्वस्थ र बस्न योग्य बनेको बताउनुभयो । उहाँले सफाई काम सानो होइन, यो समाज सेवाको महान् काम भएको बताउनुभयो ।
उहाँले सफाइ ड्राइभर र हेल्परको भूमिका केवल गाडी चलाउने वा फोहोर उठाउने मात्र नभई सार्वजनिक स्वास्थ्यका रक्षक, नगरको अनुशासनका प्रतीक र कार्यालयको प्रतिनिधि भएको बताउँदै आफ्नो कामलाई इमानदारी, जिम्मेवारी र गर्वका साथ गर्नु अत्यन्त आवश्यक छ भन्नुभयो । उहाँले लापरवाहीले सानो गल्ती ठूला दुर्घटनामा परिणत हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने बताउनुभयो ।
उहाँले कमजोरी र गल्ती भए केवल संस्थाको बदनाम गराउने मात्र होइन, आफ्नै भविष्यलाई पनि असर पु¥याउँछ भन्नुभयो । उहाँले जाँड–रक्सी, लागूपदार्थ जस्ता कुलतहरू जीवनका सबैभन्दा ठूला शत्रु भएकोले यस्ता बानीले स्वास्थ्य बिगार्छ, परिवारमा समस्या ल्याउँछ, काममा ध्यान घटाउँछ र अन्ततः रोजगारी नै जोखिममा पार्न सक्ने बताउनुभयो । उहाँले अनुशासन भनेको केवल नियम पालना गर्नु मात्र होइन, आफ्नै जीवनलाई सही दिशामा लैजानु हो भन्नुभयो । उहाँले कर्मचारीहरुको मुल्याङ्कन बारे बताउँदै राम्रो काम गर्ने, अनुशासित र इमानदार कर्मचारी सधैं पहिचान, सम्मान र अवसर पाउने बताउनुभयो ।
.png)