सूर्यमढीमा दश जोड दुुईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाई ज्ञापन


पुष १२, २०८२, शनिबार | राति ०८:४२ बजे | 105


सूर्यमढीमा दश जोड दुुईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाई ज्ञापन

भक्तपुर, १२ पुस
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ ९ वडा एकाइ समितिको आयोजनामा सूर्यमढीमा प्रवीणता प्रमाणपत्र(प्लस टु) तह, स्नातक तह, स्नातकोत्तर तह, एम.फिल. तह र विद्यावारिधी तह उत्तीर्ण वि.सं. २०७७ सालदेखि २०८२ सम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले वर्तमान राजनीतिक अवस्थाबारे अवगत गराउनुभयो । उहाँले विद्यार्थीहरु संगठित भई वैचारिक रुपमा परिपक्व हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ९का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पहिलाको तुलनामा अहिले शिक्षा र स्वास्थ्यमा भक्तपुर  निकै अघि बढेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई उत्साहित गरी सामाजिक गतिविधिमा आवद्ध गराउनुपर्ने बताउनुभयो । नेपाल र चीन उही समयमा स्वतन्त्र भएपनि चीनभन्दा नेपाल निकै पछि परेको बताउँदै उहाँले समाजवादी व्यवस्थाले मात्र देश र जनताको हित गर्ने बताउनुभयो । साथै नयाँ पुस्ता गलत बाटोमा हिडे हाम्रै समाज अघि बढ्न नसक्ने तर्क राख्दै उहाँले विद्यार्थीहरुलाई समाज चिनाउन दिनुपर्ने औंल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजुले विद्यार्थी जीवन ज्ञान आर्जन गर्ने भएकाले विद्यार्थीहरुलाई खराव आचरणमा लाग्न दिन नहुने बताउनुभयो । उहाँले नेक्राविसंघ नेपाल मजदुर किसान पार्टीले अँगालेको सिद्धान्त र विचारमा अघि बढ्ने भएकोले यसमा लागेका  विद्यार्थीहरु सिद्धान्तहिन गतिविधिमा नलाग्ने स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघ २४आौं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सचिव सुजी ह्योंग्वले सिद्धान्त र विचारमा नलागी गरेको जेनजी आन्दोलनले वास्तविक जनताको उपलब्धी बलिदानीमा तुङ्ग्याउनुपरेको स्पष्ट पार्नुभयो । साथै उहाँले विद्यार्थी संघको इतिहासबारे स्पष्ट पार्दै नेपाल मजदुर किसान पार्टीको मार्गदर्शक सिद्धान्तमा लागेकै कारण त्यस्तो कार्यक्रममा समाहित नभएको बताउनुभयो ।
आयोजक समितिका संयोजक राज प्रजापतिको सभापतित्वमा भएको उ्रक्त कार्यक्रममा नेक्राविसंघ भक्तपुर नगरसमितिका सचिव प्रज्वल खत्री, सगुन धन्छालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यावारिधीतर्फ ४ जना, एम फिलतर्फ २ जना, स्नातकोत्तरतर्फ ४० जना, स्नातकतर्फ ४५ जना र दश जोड दुई÷प्रवीणता प्रमाणपत्र तर्फ १२५ जनालाई प्रमुख अतिथि, अतिथिहरुबाट बधाईपत्र, मायाको चिनो प्रदान गर्नुभएको थियो । 
कार्यक्रममा विद्यार्थीहरुबाट विभ्रिन्न नृत्य तथा प्रहसनहरु प्रस्तुत भएको थियो । 

Comments