भक्तपुरको जगातीमा भेटियो दुर्लभ सालक
जेठ ३१, २०७७, शनिबार | विहान ०३:२३ बजे | 70
भक्तपुर । भक्तपुरको जगातीमा दुर्लभ तथा संरक्षित स्तनधारी जनावर सालक फेला परेको छ । नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालक भक्तपुर नगरपालिका वडा नम्वर ७ जगातीमा प्रहरीले फेला पारेको हो । फेला परेको सालक प्रहरीले इलाका वन कार्यालय सूर्यविनायकको जिम्मा लगाएको छ ।
इलाका वन कार्यालय सूर्यविनायक र तौडोल छाप सामुदायिक वनका प्रतिनिधीहरु मिलेर सालक सूर्यविनायक नगरपालिका वडा नम्वर ८ सिपाडोलस्थित तौडोल छाप सामुदायिक वनमा छाडेको छ । सालक वयस्क भाले रहेको इलाका वन कार्यालय सूर्यविनायकका फरेस्टर रोशनी बुढाथोकीले जानकारी दिइन् ।
लामो समयदेखि सालकसम्बन्धी अनुसन्धान गर्दै आएकी तुल्सीलक्ष्मी सुवालका अनुसार फेला परेको सालक पाँच केजीको बयस्क रहेको छ । प्राणी अनुसन्धान तथा संरक्षण फाउण्डेसन मार्फत साना स्तनधारी प्राणीको विषयमा अध्ययन गर्दै आएकी उनका अनुसार फेला परेको सालक कालो प्यागुईन (कालो सालक) रहेको छ । छोडेको सालक भाले भएको र यो तीन वर्षमाथीको रहेको उनले बताईन् । उनका अनुसार भक्तपुरको नगरकोट जंगल सूर्यविनायकका विभिन्न जंगलमा सालक फेला पर्ने गरेका छन् । उनका अनुसार नेपालमा पाँचसयका हाराहारीमा सालक रहेका छन् ।
सालक दिनभर सुत्ने र रातमा खानाको खोजीमा निक्लने प्रजाती हो । यो उत्तर मोहोडाको सेपिलो र भिरालो जंगलमा बढी पाईने गर्दछन् । सालक दुर्लभ वन्यजन्तु भएकाले संरक्षित क्षेत्र घोषणा गरी तौडोलछापले यसको संरक्षणका लागि गरेको छ ।