अन्तर्राष्ट्रिय भोजपुरी संगम महोत्सव- २०२५ हुने
पुष ४, २०८२, शुक्रबार | राति ०९:३२ बजे | 80
मधेशी आयोगका प्रथम अध्यक्ष डा.विजय कुमार दत्त भारतको उत्तर प्रदेश राज्यस्थित आजमगढ शहरमा आयोजना हुन गइरहेको प्रतिष्ठित “अन्तर्राष्ट्रिय भोजपुरी संगम महोत्सव- २०२५ तथा गौरवशाली पूर्वाञ्चल” कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। उक्त अन्तर्राष्ट्रियस्तरको कार्यक्रम डिसेम्बर २१ देखि २३, २०२५ सम्म सञ्चालन हुनेछ।
यो महोत्सव केवल सांस्कृतिक कार्यक्रम मात्र नभई भोजपुरी भाषा, साहित्य, कला र लोकसंस्कृतिको अन्तर्राष्ट्रिय पहिचान, संरक्षण र प्रवर्द्धनका लागि एक महत्वपूर्ण साझा मञ्चको रूपमा स्थापित हुँदै आएको छ। भाषिक विविधता, लोकपरम्परा, साहित्यिक विमर्श र सांस्कृतिक आदान- प्रदानमार्फत विश्वका विभिन्न देशका समुदायलाई एक सूत्रमा बाँध्ने यस सम्मेलनलाई विश्वस्तरकै एक प्रतिष्ठित बौद्धिक तथा सांस्कृतिक सम्मेलनका रूपमा हेरिन्छ।
कार्यक्रममा भारतसहित एक दर्जनभन्दा बढी देशबाट शीर्ष राजनीतिक नेतृत्व, ख्यातिप्राप्त साहित्यकार, वरिष्ठ प्रशासक, शिक्षाविद्, अनुसन्धानकर्ता तथा संस्कृतिकर्मीहरूको सहभागिता रहनेछ। यसले दक्षिण एसियाली भाषिक-सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
डा. दत्तले यस अवसरमा भाषाको महत्वमाथि जोड दिँदै भनेका छन्, “भाषा केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, इतिहास र सभ्यताको आधार हो। हरेक भाषाको सम्मान र प्रवर्द्धन हुनु भनेकै मानव सभ्यताको संरक्षण हो। भाषा र संस्कृतिले हामी सबैलाई आपसमा जोड्छ।”
उनका अनुसार, यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध, जनस्तरीय कूटनीति र आपसी समझदारीलाई अझ मजबुत बनाउने महत्वपूर्ण भूमिका खेल्दछन्।
डा. दत्त उक्त कार्यक्रममा सहभागी हुन डिसेम्बर २०, २०२५ मा नेपालबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
