रास्वपाका सभापति रवि लामिछानेको रिहाइ


पुष ३, २०८२, बिहीबार | साँझ ०५:४३ बजे | 230


रास्वपाका सभापति रवि लामिछानेको रिहाइ

जेन–जी मुभमेन्टका अगुवा एवं हामी नेपालका अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइलाई स्वागत गरेका छन्।

बिहीबार उच्च अदालत बुटवलले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले अब अन्तिम एकताको समय आएको बताए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपालाई बधाई। जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक छु। अब अन्तिम एकताको समय आयो।’

गुरुङले लामिछानेको रिहाइसँगै नयाँ सिराबाट जनताको शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने सङ्केत गरेका छन्।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेलाई उच्च अदालत बुटवलले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको मुद्दामा सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतले लामिछानेसँग २ करोड ६८ लाख रुपैयाँ धरौटी (जमानत) माग गरेको छ।

लामिछानेले बिगो बापतको रकम धरौटी राखेर थुनाबाहिरै बसी मुद्दा लड्न पाउँ भनी निवेदन दिएका थिए।

सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले तोकिएको धरौटी रकम बुझाएमा उनलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।

Comments