जनताको माैलिक समस्यालाई संचार माध्यमले प्रस्तुत गर्नुपर्ने


मंसिर २८, २०८२, आइतबार | राति ०८:५९ बजे | 110


जनताको माैलिक समस्यालाई संचार माध्यमले प्रस्तुत गर्नुपर्ने

भक्तपुर, मंसिर २८। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले राज्यको चाैथो अंग संचार माध्यम नाफाको रूपमा नभइ जनताको समस्यालाई प्राथमिकता दिई रिपोर्टिङ गर्नुपर्ने कुरा टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रममा बताउनुभयो । उहाँले विद्यालय कलेजस्तरीय शिक्षा राम्रो बनाउन भाषा र साहित्यकाे अध्ययनमा त्याग र तपस्यासहित समर्पित हुन जोड दिँदै विभिन्न उपकरण मर्मत गर्नसक्ने जनशक्ति उत्पादनमा संचारकर्मीहरुले महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने बताउनुभयो । प्रमुख अतिथि सुवालले उत्तर कोरिया तथा चिनियाँ प्रजातान्त्रिक व्यवस्था भन्दा ट्रमशैलीको प्रजातान्त्रिक व्यवस्था बारे नेपालका ठूलठूला नेताहरू जनतामा प्रचारप्रसार गरिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका संयोजक सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको संचार माध्यमलाई समाज परिवर्तनको हतियार भएको बताउँदै "मेहनत र लगनशीलताका साथ जस्तोसुकै चुनाैति सामना गरि सत्यतथ्य तथा वास्तविकता विश्वसामु प्रस्तुत गर्नु पत्रकारको दायित्व हो" भन्नुभयो । उहाँले समाज उत्थानका लागि सामाजिक तथा राष्ट्रिय ऐन कानुनमा विशेष ध्यान दिई माैलिक र परम्परागत कला संस्कृतिमा रैथाने जातिको सामिप्यतासँगै संचार माध्यमबाट आत्मनिर्भर हुने बताउनुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक तथा ईमेज च्यानलका पत्रकार कृष्णकाजी मानन्धरले लक्ष्य धेरै राखी अपेक्षा कम गरेमा त्यसबाट आउने नतिजा सन्तुष्टि बताउँदै "स्थानीय सरकारद्वारा संचालन भएको देशकै पहिलो टेलिभिजन ख्वप टेलिभिजन हो" भन्नुभयो । अर्का प्रशिक्षकद्वय विकेन रञ्जित तथा प्रदिप खड्गीले तालिमको समयमा फोटोग्राफी तथा भिडियोग्राफीको कन्टेन क्रियशनलाई प्रभावकारी बनाउन अध्ययन भ्रमणसँगै सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए । ख्वप टेलिभिजनका व्यवस्थापक रवीन्द्रप्रसाद कुसीलगायत प्रशिक्षार्थीद्वय शम्भोचरण राजभण्डारी तथा रबिता बासुकलाले आफूहरुले सिकेको अनुभव बताउनुभयो । गत मंसिर १२ गतेदेखि २७ गतेसम्म संचालन भएको १५ दिने टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमका प्रशिक्षकहरुलाई धन्यवाद पत्र तथा मायाको चिनोले सम्मान गरिएको समापन कार्यक्रममा २५ जना प्रशिक्षार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गरियो । तालिममा नेपाल टेलिभिजन तथा रेडियो नेपालको फिल्ड भिजिट गरेका प्रशिक्षार्थीहरुको सकृयताले निकट भविष्यमा ख्वप टेलिभिजन संचालनको सपना पुरा हुने देखिन्छ ।

फाेटाेमा हेर्नुहाेस्...

जनताको माैलिक समस्यालाई संचार माध्यमले प्रस्तुत गर्नुपर्ने

Comments