एमाले भक्तपुरको आह्वानः अत्यावश्यकबाहेकका निजी प्रयोजनका सवारीसाधन सञ्चालनमा वैकल्पिक सडक प्रयोग गर्न आह्वान
मंसिर २६, २०८२, शुक्रबार | राति ०९:५५ बजे | 110
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरले भोलि शनिबार पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको रयालीको क्रममा राजमार्ग अवरद्ध हुनसक्ने भएको भन्दै त्यसको लागि अत्यावश्यक बाहेकका निजी प्रयोजनका सवारी साधन सञ्चालनमा वैकल्पिक सडक प्रयोग गर्न आह्वान गरेको छ । पार्टी जिल्ला अध्यक्ष वचन देउजाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सकेसम्म राजमार्ग अवरुद्ध नपार्ने तर लाखौ जनता रयालीमा रहने भएकाले यातायात सहजताका लागि यस्तो आग्रह गरेको जनाएको छ ।
विज्ञप्ति
हार्दिक अपिल
नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशन हामीहरुकै प्यारो जिल्ला भक्तपुर सल्लाघरीको चौरमा यहीं मंसीर २७ गते शनिवार भव्य समारोहबीच उदघाटन हुदैछ भन्ने कुरा हामी सबैमा विदितै छ । भक्तपुर जिल्लामा पहिलो पटक हुन लागेको पार्टी जीवनको ऐतिहासिक महाधिवेशन हामी भक्तपुरवासीको गौरवको विषय हो ।
नेकपा एमालेको महाधिवेशन भए पनि यो राष्ट्र निर्माणको अभिभारा बोकेर अगाडि बढेको पार्टी विभिन्न पार्टी तथा नागरिक समाजसँग हातेमालो गर्दै देश विकासको लागि अगाडि बढिरहेको छ । त्यसैले एमालेको महाधिवेशनको उदघाटन सत्र भव्य र सभ्य रुपमा सम्पन्न गराउन एमालेका आम कार्यकर्ता, शुभेच्छुकको जिम्मेवारी त हुँदै हो । यसमा अन्य पार्टी, विभिन्न नागरिक सरोकारवाला सम्बद्ध निकायहरु, नागरिक समाज, आम भक्तपुरवासी, सम्पूर्ण दाजुभाइ, दिदीवहिनी, बुबाआमा, युवायुवती र नयाँ पुस्ताका जेनजी युवाहरुको समेत सहयोग र हातेमालो सहित सहभागिता महत्वपूर्ण रहने हामीले विश्वास गरेका छौं ।
एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्र २७ गते शनिवार परेको छ । त्यसर्थ कार्यालयहरु, विद्यालयहरु सबै सार्वजनिक निकायमा विदा रहेकाले अत्यावश्यक काम बाहेकका अन्य सवारीसाधन त्यस दिन भक्तपुरको मुख्य सडक अरनिको राजमार्ग भएर सञ्चालन हुँदैनन् भन्ने हामीले विश्वासका साथ अपेक्षा गरेका छौं ।
देशभरबाट कार्यक्रमस्थलमा आउने लाखौं देशवासीको विशाल जनरÞ्यालीका कारण पूर्वतर्फ भक्तपुरको जगातीदेखि पश्चिमतर्फ लोकन्थलीको मनोहरा पुलसम्म केही घण्टा सडक अवरुद्ध हुने सम्भावना रहला । रयाली कार्यक्रमस्थलमा आइपुगेपछि सडक सहज सुचारु होला नै यद्यपि सुरक्षा निकायसँगको छलफलमा सकेसम्म सडक सञ्चालन गर्नसक्ने गरी रÞ्यालीको व्यवस्थापन गर्ने तयार गरेपछि चारैतिरबाट रÞ्याली आउने हुँदा सडकमा केही बाधा हुनसक्ने भएकाले यसलाई मध्यनजर गर्दै शनिवार उदघाटन सत्र सम्पन्न नभएसम्मका लागि अत्यावश्यक बाहेकका निजी प्रयोजनका सवारी साधन सञ्चालनमा वैकल्पिक सडक प्रयोग गरी सहयोग गरिदिनु हुन अपिल गर्दछौं । त्यसका साथै एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको सल्लाघारीमा हुने उदघाटन सत्रलाई शान्तिपूर्ण र भव्यरुपमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दल, सार्वजनिक निकाय, जनसमुदाय, भक्तपुरवासी, नागरिक समाज र युवा पुस्ताहरुमा कार्यक्रममा सहभागी भइदिनु हुनका लागि समेत सार्वजनिक अपिल गर्दछौं ।
भक्तपुरको सम्पदा, कला, संस्कृति, भेषभुषा, परम्परा झल्कने गरि बनाइएको स्टेज आफैमा भक्तपुरको पहिचान पनि हो । यही पहिचानलाई सिद्ध गर्दै यस कार्यक्रमले भक्तपुरको पर्यटनको समेत विकासमा ठूलो टेवा पुग्ने अपेक्षा समेत हामीले गरेका छौ । त्यसैले यो कार्यक्रममा आम देशवासीको साझा कार्यक्रम हो भन्ने मनन गर्दै कार्यक्रमलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न गराउन सबैको सकारात्मक सहयोग र उदघाटन कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउनका लागि नेकपा एमाले भक्तपुर जिल्ला कमिटी हार्दिक अपिल गर्दछ ।
बचन देउजा अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (एमाले), जिल्ला कार्यालय, भक्तपुर
फाेटाेमा हेर्नुहाेस्...
