भोलिदेखि एमाले महाधिवेशनः दुई हजार कुर्सी, तीन लाख कार्यकर्ता सहभागी हुने दावी, १६ दललाई निमन्त्रणा  


मंसिर २६, २०८२, शुक्रबार | राति ०७:१४ बजे | 135


भोलिदेखि एमाले महाधिवेशनः दुई हजार कुर्सी, तीन लाख कार्यकर्ता सहभागी हुने दावी, १६ दललाई निमन्त्रणा  

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशन शनिबारदेखि भक्तपुरमा सुरु हुँदैछ । शुक्रबार गरिएको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाइयो । 
महाधिवेशन भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी खुल्ला मैदानमा हुनेछ । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवं स्वयमसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशनलाई सभ्य अनि भव्य पार्न पाँंच सय स्वयमसेवक परिचालन हुने जनाए । उनीहरु सवै पोशाकमा रहने उनले बताए । त्यसमा पार्टीका विभिन्न कमिटीका पदाधिकारीहरु रहने उनले जानकारी गराए । साथै उनीहरुमा पनि दस जना बराबर एकजना कमाण्डरको व्यवस्था रहेको उनले जानकारी गराए । साथै महाधिवेशनलाई थप व्यवस्थित गर्न अरु सामान्य १० हजार स्वयमसेवकहरु परिचालित हुने उनले जनाए । 
पत्रकार सम्मेलनमा पार्टी जनपरिचालन समितिका संयोजक डा राजन ढकालले महाधिवेशनमा देशभरबाट तीन लाख जनसमुदाय सहभागी हुने दावी गरे । महाधिवेशन उदघाटन अघि पूर्वका लागि भक्तपुरको जगाती र पश्चिमका लागि गठाघरबाट जुलुश सुरु भई महाधिवेशनस्थल सल्लाघारी पुग्ने उनले जनाए । महाधिवेशनस्थल पुग्न दुईदुई किलोमिटर परबाट पैदल जुलुश सुरु भई महाधिवेशनस्थलको उदघाटन सत्रमा पुग्ने योजना बनाइएको उनले जनाए ।  
यसअघि पश्चिमतिरको काठमाडौं कोटेश्वरदेखि गाडीमा आएकाहरु ग्ठाघरमा ओर्लने र पूर्वतिरबाट गाडीबाट आएकाहरु जगातीमा ओर्लेर जुलुशमा सहभागी गराउने योजना बनाइएको उनले बताए । पूर्वतिरका गाडी पार्किंगका लागि भक्तपुरकै नंखेलको भाइरल प्लानिंग र पश्चिमतिरका लागि मध्यपुर थिमिको खुल्ला चौरमा पार्किंगको व्यवस्था मिलाइएको उनले बताए । जुलुशमा दैशैभरिका दुई सय भेषभुषाका झाकीसहितको टोली सहभागी हुने र उनीहरु कार्यक्रम उदघाटनस्थलसम्म पुगी उदघाटनस्थलमै पनि झाँंकी प्रदर्शनमा रहने जनाइयो । 
महाधिवेशनमा समय अभावबका कारण विदेशी मुलुकका प्रतिनिधिहरुलाई नबोलाइएको बताइयो । उनीहरुको लिखित सन्देश आउने बताइयो । महाधिवेशनमा प्रतिनिधि सभा संसदमा प्रतिनिधित्व गर्ने १६ दलका प्रमुखहरुलाई निमन्त्रण गरिएको र उनीहरु सहभागी हुने जनाइयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका मित्र पार्टीका पार्टी अध्यक्षहरु सम्मेलनमा उपस्थित भई शुभकामना मन्तव्य दिनुहुने कार्यक्रम रहेको छ, पत्रकार सम्मेलनमा भनियो ।   
पार्टी पोलिटव्युरो सदस्य एवं मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले २१ गतेबाट मञ्च बनाउन सुरु गरी २६ गतेसम्म सकाउने योजना रहेको जानकारी गराए । दिउँंसो भएको पत्रकार सम्मेलनमा उनले भने, अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ, अवको चार घण्टापछि सम्पूर्ण काम सकिन्छ ।  
पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनस्थलमा बस्न मिल्ने गरी दुई हजार कुर्सी राखिएको जानकारी गराए । ती कुर्सीहरुमा एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइने जनाइएको छ । यी ठाउँंहरु बार राखेर सर्वसाधारण प्रवेश गर्न नमिल्ने गरी सुरक्षा व्यवस्था कडा बनाइएका छन् ।   
 

Comments