यसरी मनाए समाजसेवी धौभडेलले जन्मदिन
मंसिर २४, २०८२, बुधबार | साँझ ०५:५५ बजे | 340
भक्तपुर । भक्तपुरका एकजना समाजसेवीले आफनो जन्मदिनको अवसरमा संकलन भएको रकम बृद्धाश्रमलाई प्रदान गरेका छन् । भक्तपुर नगरपालिका वडा नं ५ टौमढी वस्ने समाजसेवी श्यामसुन्दर धौभडेलले आफनौ ७३ औं जन्मोत्सवको अवसरमा संकलित रकम भक्तपुरको भेलुखेलस्थित सिद्धिस्मृति शालिग्राम जेष्ठ नागरिक आश्रमलाई प्रदान गरेका हुन् ।
जन्मदिनमा सहभागी हुन आमन्त्रण गरिएका सवैलाई उनले यसअघि नै जन्मदिनमा ल्याउन उपहारहरु जिन्सी (सामान) मा नभई नगदमा ल्याउन अनुरोध गरेका थिए । सिद्धिस्मृति प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहेका उनले यसअघि नै आफ्नो जन्मोत्सवमा संकलन हुने रकम सोही बृद्धाश्रमलाई प्रदान गर्ने घोषणा गरिसकेका थिए । त्यही अनुसार जति संकलन भयो सवै रकम बृद्धाश्रमलाई प्रदान गरेका हुन् ।
समाजसेवी धौभडेलका अनुसार सिद्धिस्मृति शालिग्राम जेष्ठ नागरिक आश्रमको दिवा सेवा कोरोनापछि बन्द छ । त्यसलाई पुनः सञ्चालन गर्न आवश्यक खर्च जुटाउन जन्मदिनको रकम प्रदान गरेको उनले बताए । दिवा सेवा सञ्चालनले भक्तपुरबासी बृद्धबृद्धाहरुलाई सहयोग पुग्ने उनको विश्वास छ । दिवा सेवामा जिल्लाका बृद्धबृद्धाहरुलाई भजनकीर्तन गराउने काम हुँंदै आएको थियो ।
जन्मदिनमा उनले आफ्ना ईष्टमित्र, नातेदार तथा शुभचिन्तकहरुलाई बोलाएर भोज पनि खुवाएका थिए । जन्मदिनमा सगुनस्वरुप गच्छे अनुसार दिएका आर्थिक सहयोगलाई उनले बृद्धाश्रमलाई दिएका हुन् ।
अध्यक्ष धौभडेलको ७३ औं जन्म दिनको अवसरमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, स्थानीय वडाध्यक्ष उकेश कवां सहित विभिन्न अस्पतालहरुका डाक्टर, चिकित्सक, नर्स, कर्माचारी एवं समाजसेवी, स्वास्थ्यकर्मी शुभचिन्तकहरुको ठूलो सहभागिता रहेका थियो ।
जन्मदिनको शुभकामना दिदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अग्रजहरुको अनुभव, सुझाव र सल्लाह अनुसार भक्तपुरको ऐतिहासिक सम्पदाहरु संरक्षण गर्दै आएको उल्लेख गरे । शिक्षा र स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले उदाहरणीय कार्य गरेको चर्चा गर्दै नगर प्रमुख प्रजापतिले सिद्धिस्मृति अस्पतालमा विपद् पर्दा सधै निरिक्षणमा आएर सहजिकरण गर्दै आएको र अस्पतालको सेवा प्रभावकारी बनाउन समन्वय भइरहेको अध्यक्ष धौभडेल समक्ष ताजै रहेर्कोे बताउनु भयो ।
यसअघि धौभडेलले २०६० सालमा पनि यसरी धुमधामका साथ जन्मोत्सव मनाएका थिए । उक्त समयमा पनि उनले आफनो जन्मोत्सवमा संकलन भएको रकम सोही बृद्धाश्रम निर्माणका लागि दिएका थिए ।
समाजसेवी धौभडेलका सहोदर दाजु अनन्दप्रसाद धौभडेलले जन्मदिन मनाएको चुपिंघाट परिसरको इतिहास कोट्याए । यो ठाउँ मेरो हजुर बाजेले बनाएको हो, उनले भने, यस ठाउँलाई हर्षमुक्तेश्वर महादेव परिसर भनिन्छ ।
आफ्नो हजुर बाज्ये हर्षनारायण धौभडेल जंगबहादुर राणाका बुवाको मित भएकाले आफ्नो ३२ रोप्नी जग्गामा हर्षमुक्तेश्वर महादेव स्थापना गरेको स्मरण उनले गरे । त्यसपछि यो क्षेत्रलाई सार्वजनिक तीर्थस्थलको रुपमा संरक्षण हुँदै आएको धौभडेलले बताए । मन्दिरमा हरेक वर्ष नयाँ वर्षको अवसरमा बैशाख १ गते विस्का जात्राको अवसरमा योसिंख्य आउने भक्तजनहरुले मन्दिर परिसर अवलोकनका लागि आउने परम्परा छ । हर्षमुक्तेश्वर महादेव अगाडिको ढुंगाको प्रतिमा आफ्नै हजुर बाज्ये हर्षनारायण धौभडेलको रहेको उनले बताए ।
धौभडेलहरु मल्ल राजाको परिवारका सदस्यहरु रहेको उल्लेख गर्दै उनले शाहहरुले भक्तपुर जितेपछि मल्लहरुलाई मारकाट गर्न थालेपछि बच्नका लागि आफ्नो पुर्खाले हामी त मल्ल होइनौं, धौभारी भएको भनेर सुरक्षित रहेको इतिहास उनले सुनाए । राणाकालका धौभारीहरु अहिले अप्रभंस भइ धौभडेल भएको कुरा पनि उनले सो अवसरमा बताएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
