भक्तपुर बारको ३३औं साधारणसभा सम्पन्न
मंसिर १९, २०८२, शुक्रबार | राति ०९:१० बजे | 85
भक्तपुर, १९ मंसिर
नेपाल बार एशोसिएशन भक्तपुर जिल्ला अदालत इकाईको ३३औं वार्षिक साधारणसभा र स्वागत तथा विदाइ कार्यक्रम शुक्रबार भक्तपुर जिल्ला अदालतको सभाहलमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवम् नेपाल बार एशोसिएशनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले उक्त साधारणसभाको उद्घाटन गर्दै पेसागत रुपमा कानुन व्यवसायी कम तर कांग्रेस–कम्युनिष्ट प्रवृत्ति बढी भएकोले कानुन व्यवसायी पेसा कमजोर भएको बताउनुभयो । उहाँले न्यायाधिसको पद अत्यन्त संवेदनशील भएकाले न्यायाधिसलाई स्वतन्त्र रुपमा न्याय निरुपण गर्न दिनुपर्ने बताउनुभयो । साथै नयाँ पदभार गर्नुभएका न्यायाधिसलाई स्वागत गर्दै राम्रो न्याय सम्पादन गर्ने उहाँको विश्वास छ ।
उक्त साधारणसभाकै अवसरमा अन्त सरुवा हुनुभएका न्यायाधिस रामप्रसाद न्यौपानेलाई विदाइ र नयाँ पदभार गर्नुभएका न्यायाधिस नवराज दाहाललाई स्वागत गरेको उक्त कार्यक्रममा न्यायाधिस न्यौपानेले भक्तपुर जिल्ला अदालतमा कार्यभार सम्हाल्दाको अनुभव सुनाउनुभएको थियो । उहाँले बार र बेन्चबिचको राम्रो सम्बन्धले अदालतको न्याय सम्पादनमा निकै सहज भएको स्पष्ट पार्नुभयो ।
भक्तपुर बारका पूर्व अध्यक्ष बाबुराजा जोशीले अदालतमा पार्टीको भाषा नभई कानुन व्यवसायीको भाषा बोल्नुपर्नेमा जोड दिनुभयो । साथै साधारणसभामा स्वतन्त्र न्यायपालिका, लोकतन्त्र र मानव अधिकारबारे बोल्नुपर्ने उहाँको भनाइ छ । उहाँले न्यायपालिकामा आगो लगाउँदा कानुन व्यवसायी खुशी हुन नहुने औंल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष राम सुन्दर खाइतुको सभापतित्वमा भएको उक्त कार्यक्रममा अदालतका न्यायाधिसहरु, वरिष्ठ अधिवक्ताहरु र कानुन व्यवसायीहरुले शुभकामना दिएको थियो ।
