कोजूले भने, म एमाले प्रवेश गरेको छैन, भ्रममा नपर्नुहोस्
मंसिर १६, २०८२, मङ्गलबार | साँझ ०६:२७ बजे | 1280
भक्तपुर । भक्तपुर लिवालीका सुरेन्द्र कोजूले आफू नेकपा एमाले पार्टीमा प्रवेश नगरेको स्पष्ट पारेका छन् । मंगलबार एवीसीडी खवर अनलाइनसँंग विशेष कुराकानी गर्दै उनले आफू एमाले प्रवेश गरेको भन्दै भ्रम छरेको बताए । बाहिर म एमाले प्रवेश गरेको भन्दै हल्ला फिजिसकेको रहेछ, आफूले मंगलबार मात्रै यो कुरा साथीले जानकारी दिएपछि थाहा पाएको भन्दै उनले सहयोगको आशाको स्वरमा भने, म अहिलेसम्म स्वतन्त्र नै छु, कुनै राजनीतिक दलसँंग सक्रिय रुपमा आवद्धता जनाएको छैन ।
उनका अनुसार आफूसहित नेकपा एस भक्तपुर नगर समिति पूरै एमाले प्रवेश गरेको हल्ला फिजाएको रहेछ । त्यसमा आफनो पनि नाम जोडेर नामावली पठाएको पाइएको उनले जानकारी गराए । दाजु डा राजेन्द्र कोजूले कहिलेकाही नेकपा एसको कार्यक्रममा सहभागी हुन अनुरोध गर्दा आफू सहभागी हुने गरेको र त्यही आधारमा आफू नेकपा एसको सदस्य भएको अनुमानका आधारमा आफू पनि नेकपा एसबाट एमाले प्रवेश गरेको हल्ला फैलाइएको हुनसक्ने उनको अनुमान छ ।
म नेकपा एमालेमा नगएको मात्रै होइन, नेकपा एसको पनि होइन, कोजूले थप स्पष्ट पार्दै भने । आफू स्वतन्त्र नागरिक भएको र स्वतन्त्र भएरै वस्ने उनको भनाई छ । आफू एकजना उद्योगी व्यवसायी भएको र त्यही रुपमा रहन चाहेको पनि उनले स्पष्ट पारेका छन् ।
उनी इटाभटा व्यवसायी हुन् । आफू उपत्यका बाहिर इटाभटा सञ्चालन गर्दै गरेको उद्योगी रहेको जानकारी उनले गराए । पहिला भक्तपुरको इटाभटामा कर्मचारीको रुपमा काम गरी पछिल्ला वर्षहरुमा आफैंले उद्योग सञ्चालन गरेको जानकारी उनले सुनाए ।
डा राजेन्द्र कोजू नेकपा एस भक्तपुर नगर कमिटीको अध्यक्ष थिए । पछिल्लो समय माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एस र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा एकीकृत माओवादी एकता घोषणा भएको थियो । केन्द्रीय स्तरको त्यो एकतापछि नेकपा एस भक्तपुर नगर अध्यक्ष डा कोजू एकीकृत भएको नेपाली कम्युनिष्ट पार्टीमा नगई नेकपा एमाले प्रवेश गरेका थिए । तत्कालिन नेकपा एस भक्तपुरका अध्यक्ष श्याम बस्नेत भने अहिले नेपाली कम्युनिष्ट पार्टी भक्तपुरका संयोजक छन् ।
