निर्वाचन चर्चाः नयाँं बाहिरी, पुराना भित्री तयारीमा
मंसिर १३, २०८२, शनिबार | विहान ०८:१४ बजे | 260
भक्तपुुर । भक्तपुरमा प्रभुत्व जमाउँंदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेंभक्त फोंजू आफूलाई ठूला भन्ने दलहरु सार्वजनिक रुपमा चुनाव हुँंदैन भनेर हिंडिरहे पनि जिल्लाको हकमा भित्रभित्रै उनीहरु चुनावको तयारी गरिरहेको बताउँछन् । उनीहरु प्रत्यक्षअप्रत्यक्ष रुपमा जनतामा गइरहनु नै यो कुराको प्रमाण भएको उनको तर्क छ । चाहे वर्तमान सरकारको विरोध होस् वा अन्य विविध कार्यक्रम नै, जेसुकै भने पनि उनीहरु जनतासमक्ष जानु भनेको चुनावको लागि तयारी गर्नु नै हो, उनको विश्लेषण छ ।
वर्तमान समयमा विशेष गरेर नेपाल कम्युनिष्ट पार्टी एमाले चुनावको बाटोमा नभइकन संसद् पुनस्थापनाको पक्षमा स्पष्ट रुपमा उभिएको छ । एमाले त्यसका लागि सर्वाेच्च अदातालेको ढोका पनि ढकढकाउन पुगेको छ । साथै सडक पनि तताउन थालेको छ उसले संसद पुनस्थापनाको लागि । तर पनि उक्त पार्टीका जिल्लास्तरीय नेताहरु जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरले निर्वाचनको तयारीका विषयमा छलफल गर्न जिल्लामा क्रियाशिल राजनीतिक दलहरुलाई बोलाएको पटकपटकको सर्वदलीय बैठकमा निरन्तर भाग लिइरहेका छन् । यसले पनि उनीहरु चुनावमा पनि जान तयार रहेको स्पष्ट संकेत मिलेको छ ।
जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख प्रकाश मगर राजनीतिक दलहरु मात्रै नभई मतदाताहरु पनि निर्वाचनप्रति अधिक उत्साही रहेको दावी गर्छन् । विशेष गरेर जेन्जी पुस्ता निर्वाचनप्रति बढी उत्साही रहेको पाइएको अनुभब उनी सुनाउँंछन् । उनी भन्छन्, ‘खासमा १८ वर्ष उमेर पुगेको नेपालीले मात्रै मतदाता नामावलीमा नाम समावेश हुन्छ तर १६ वर्षमै मतदातामा नामावलीमा नाम दर्ता गर्न भनी धेरै जेन्जीहरु कार्यालयमा आए ।’
‘राजनीतिक दल वा अरु जोसुकैले जेसुकै भने पनि हामी निर्वाचन गरेरै छाड्छौं, उनले भने, ‘हाम्रो उद्देश्य नै तोकिएको मितिमा निर्वाचन गराउनु हो ।’ यसका लागि कार्यालयले रफ्तारमा काम गरिरहेको उनी सुनाउँंछन् । यसैका खातिर दिनमा एक हजार भन्दा वढीसम्मको मतदाता नामावली संकलन गरेको अनुभब उनी सुनाउँंछन् । अरुबेला सुनसान भए पनि लामो लाइन लागेर मतदाता नामावलीमा नाम थप्न आएको र युवामा देखिएको यही निर्वाचनको उत्साहलाई मर्न नदिन कति पनि बोझ नमानी आफूहरुले सेवा दिएको उनी सम्झन्छन् ।
१८ वर्ष पूरा गरेको नेपाली नागरिकहरुले जुनसुकै बेला पनि मतदाता नामावलीमा आफनो नाम थप्न सकिने व्यवस्था छ । तर पनि निर्वाचन नजिकिएपछि मात्रै भीड वढ्ने कार्यालयको अनुभब छ । यही कारण यो वर्ष अन्तिम केही दिनहरुमा कार्यालयमा अत्याधिक भीड लागेको थियो । विशेष गरी कार्तिकको अन्तिम हप्ता विहानैदेखि रातिसम्म मतदाता नामावलीमा आफनो नाम थप्न आउनेहरुको भीड लागेको थियो । सरकारले त्यसपछि वढाएर मंसिर ५ गतेसम्मको मिति तोकेको थियो । त्यसपछि भने खासै भीड लागेन । किनकि त्यसबेला घरबाट पनि मतदाता नामावली भर्न सकिने व्यवस्था मिलेको थियो ।
जिल्ला निर्वाचनको कार्यालय सल्लाघारी भक्तपुरका प्रवक्ता भीमबहादुर विसी मतदाता नामावलीमा नाम थप्न आउनेहरुको भीड सम्झदा निर्वाचन नहुने भने कुनै शंकै नलागेको बताउँंछन् । विशेष गरेर १८ देखि ४० वर्ष उमेरका नेपालीहरु मतदाता नामावलीमा नाम थप्न आउनेहरु वढी भेटिएको उनको अनुभब छ ।
जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर चुनावी माहोल पनि तातिएको छ । राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले घर–घर अभियान, भेला, छलफल र घुम्तीसभालाई प्रत्यक्षअप्रत्यक्ष रुपमा तीव्र बनाएका छन् । विशेष गरेर राष्टिय स्वतन्त्र पार्टी भक्तपुर निर्वाचन केन्द्रित भएर नै निरन्तर विभिन्न कार्यक्रमहरुमा लागिपरेको छ ।
राष्टिय स्वतन्त्र पार्टीका जिल्ला नेता एवं गएको ०७९ मंसिरमा भएको निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदबार बनेका साजन विक चुनाव निश्चित रुपमा हुने बताउँंछन् । ‘जनता चुनाव चाहन्छन्, उनी प्रश्न गर्छन्, ‘जनताले चाहेपछि कसले रोक्न सक्छ ?’ जनता नयाँ दलप्रति आकर्षित रहेको र नयाँं दलहरुको नेतृत्व आफनो पार्टीले गरेको उनको विश्लेषण छ । त्यसकारण यो पटकको निर्वाचनले ठूला दलहरुलाई जनताले साइजमा ल्याउने उनको दावी हो ।
आयोगले चुनावको तयारीलाई तीव्रता दिएको जनाएको छ । मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाउँदै आयोगले मतदान केन्द्रहरूकाबारेमा छलफलसमेत चलाएको छ । साथै सीसीटीभी, सहज पहुँच, विशेष सुरक्षा व्यवस्था राखिने बताएको छ ।
मतदातामा पनि उत्साह देखिन्छ । बजार, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चुनावकै चर्चा चलिरहेको छ । पहिलोपटक मताधिकार प्रयोग गर्न पाउने युवाहरू विशेष उत्साहित छन् ।
भक्तपुर सूर्यविनायकका एकजना मतदाता नुमा सुव्बा यो पटक आफूलाई मत हाल्ने विशेष उत्साह थपेको बताउँंछिन् । यो पटक नयाँं शक्तिहरु आएकाले मत हाल्न विशेष उत्साह थपेको उनको भनाई छ । ‘पहिला पहिला पनि धेरै पटक मत हालियो, तर जसलाई जिताए पनि देशका लागि खासै कसैले केही गरेनन्, उनले थपिन्, त्यही कारण मतदान गर्न नै झ्याउ लागेको थियो । तर अहिले नयाँं शक्तिहरु उदाएका कारण उनीहरु जिताउनकै लागि पनि आफू चुनावमा मत दिन जान लालायित भएको उनको भनाई छ ।
चुनाव नजिकिँदै जाँदा भक्तपुरमा सन्तुलित प्रतिस्पर्धा हुने पनि संकेत देखिएको छ । नयाँं दलहरु सार्वजनिक रुपमै तयारीमा जुटेका छन् । तर पुराना दलहरु भने भित्रभित्रै तयारीमा जुटिरहेको देखिन्छ । राजनीतिक विश्लेषकहरूले मतदाता अन्तिम चरणसम्म व्यक्ति, सेवाप्रदर्शन र स्थानीय मुद्दा आधारमा निर्णय लिने बताएका छन् । फागुन २१ को चुनावबाट भक्तपुरबाट कसले परिणाम हात पार्ला भन्ने विषयमा पनि उत्सुकता र रहस्य हालै झन् बढ्दो छ ।
यस्तो थियो निर्वाचन परिणाम
भक्तपुरमा दुई वटा प्रत्यक्ष निर्वाचन क्षेत्र छन्, भक्तपुर निर्वाचन क्षेत्र नं १ र भक्तपुर निर्वाचन क्षेत्र नं २ । भक्तपुर क्षेत्र नं १ मा भक्तपुर नगरपालिका र चाँंगुनारायण नगरपालिका पर्दछन् भने भक्तपुर क्षेत्र नं २ मा मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका पर्दछ । यो जिल्ला गाउँंपालिकाविहीन छ ।
भक्तपुर क्षेत्र नं १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभुत्व रहेको क्षेत्र हो । यो क्षेत्रमा उसले २०४६ सालदेखि अहिलेसम्म निरन्तर फराकिलो मतका साथ विजय हासिल गर्दै आएको छ । २०७९ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका थिए । यसअघि पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले यो क्षेत्रबाट पाँच पटक जित निकालेको थियो । २०७९ को चुनावमा यो क्षेत्रबाट सुवालले ४२ हजारभन्दा बढी मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलाल ११ हजार मतमा सिमित भएका थिए । यस हिसावले विजयी र निकतम प्रतिद्धन्द्धीबीचको मतान्तर ३० हजार बढीको फराकिलो थियो । उक्त निर्वाचनमा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका थिए । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका थिए । यो क्षेत्रको मत खासै तलमाथि पनि हुँंदैन । सैद्धान्तिक मत भएकै कारणले यहाँंको मत प्रायः स्थीर हँुदै आएको छ ।
भक्तपुरको निर्वाचनको विशेष आकर्षण र चर्चा भक्तपुर क्षेत्र नं २ नै हो । यहाँं कसले कुन पार्टीको उम्मेदबारले जित मार्ला प्रत्येक निर्वाचनमा चर्चाको विषय हुने गरेको छ । यो क्षेत्रमा २०४६ सालपछिको निर्वाचनपछि नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी नेमकिपाले पालैपाले जित निकाल्दै आएको थियो । तर पछिल्लो पटक निर्वाचनहरुमा भने क्षेत्र फेरिएको छ । यसपछि भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेवीच प्रतिस्पर्धा चल्दै आएको छ ।
२०७९ मंसिरको पछिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा यो क्षेत्रबाट विजयी भएका थिए । एमालेका महेश वस्नेतलाई हराउँंदै थापा विजयी बनेका थिए । उक्त निर्वाचनमा थापाले २४ हजार २३९ मत पाई विजयी बनेका थिए भने उनका निकटम प्रतिद्धन्द्धी बस्नेतले २३ हजार दुई सय ८२ मत पाएका थिए । विजयी थापा र निकतम प्रतिद्धन्द्धी बस्नेतवीच ९ सय ५९ को मतान्तर थियो । तेश्रो स्थानमा नेमकिपाकी अनुराधा थापामगरले सात हजार १२७ मत पाएकी थिइन् । चौथौंमा रास्वपाका साजन विकले चार हजार ९८ मत पाएका थिए ।
यसअघि भने एमालेका नेता महेश बस्नेत कांग्रेस नेता तथा पूर्व सभामुख स्वर्गीय दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतान्तरले पराजित गरेका थिए । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मतमा खुम्चिएका थिए । यस हिसावले पनि यो क्षेत्रको मत चयालमान छ । साथसाथै यो क्षेत्र नेपालकै सवैभन्दा वढी बसाईसराई वढ्दो रहेको क्षेत्र पनि हो । त्यसकारण यहाँं नयाँ मतदाता थप्ने क्रम तीव्र रुपमा वढी छ । यो मतदाता कस्तो, कुन विचार बोकेको थपे यसले पनि निर्वाचन परिणाममा असर पर्ने निश्चित नै छ । यसकारणले पनि यहाँंको मतपरिणाम कता जाला अहिले नै आकलन गर्न निकै कठिन नै छ । यो क्षेत्रमा यो पटक नेपाली कांग्रेस र एमालेलाई नेमकिपा वा रास्वपा चुनौती बन्ने आकलन गरिएको छ ।
कति थपिए नयाँं मतदाता ?
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाए अनुसार जिल्लामा झण्डै १५ हजार नयाँं मतदाता थपिएका छन् । कार्तिक मसान्तसम्ममा १३ हजार ५७६ मतदाता थपिएका थिए । निर्वाचन आयोगले गत असोज १० गतेदेखि नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक सयांैंजनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । जिल्ला निर्वाचन कार्यालय सल्लाघारी भक्तपुरका सूचना अधिकारी भीमबहादुर बिसीले भक्तपुरमा यस पटक मतदाताको सङ्ख्या दुई लाख नाघेको जानकारी दिए । मतदाता नामावली सङ्कलन हरेक दिन बिहान ८ बजेदखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको र सेवाग्राही बिहान ६ बजेदेखि नै लाइन बस्न आउने गरेको उनले सम्झे । आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको थियो । त्यसकारण यसको अन्तिम नामावली भने आउन बाँंकी नै छ ।
जनमत
निर्वाचन हुनुपर्छ र हुन्छ
प्रेमध्वज लामा, अभियन्ता
अहिलेको वर्तमान वातावरण हेर्दा निर्वाचनको खासै माहोल म देख्दिन । तापनि निर्वाचनको अर्को कुनै बिकल्प छैन । निर्वाचन नै अहिलेको राजनीतिक अस्थिरताको निकास हो । निर्वाचन तोकिएको मितिमा हुन सकेन भने देश अझै वढी संकटमा फस्नसक्ने निश्चित प्रायः छ । यसकारणले पनि निर्वाचन हुनुपर्छ र हुन्छ पनि ।
जहाँंसम्म निर्वाचनको परिणामको कुरा छ मलाई लाग्छ, यही हिसावले अगाडि वढ्ने हो भने पुराना दलहरुलाई पाखा लगाउन कठिन नै छ । किनकि नयाँ दलहरु भन्दा वर्षौंवर्ष राज गरेको पुरानै दलको पकट अहिले पनि उस्तै देख्छु जहाँं पनि । त्यो चाहे सरकारी कार्यालय होस् वा गैरसरकारी कार्यालय नै किन नहोस् । उनीहरुको कर्मचारी संगठन, उनीहरुका मान्छेहरुले नै नियन्त्रणमा राखेका छन् ।
यसो भन्दैमा नयाँं दलहरु जित्दै जित्दैनन् म भन्न सक्नि । जित्लान् दुई चार सिट । तर बाहुल्यता भने पुराना भन्ने दलहरुकै हुनेछ । यसकारण नयाँ आउने दलको भावी कार्य योजना के हो भन्ने प्रष्ट हुनुपर्छ । अहिलेसम्म उनीहरुको भाबी योजना, नीति, सिद्धान्त खासै प्रष्ट छैन । साथै उनीहरु धेरै विभाजित पनि छन् । यसकारणले पनि नयाँंलाई गाह्रो छ । यसकारण नयाँं भन्नेहरुले यस विषयमा विशेष ध्यान दिनैपर्ने हुन्छ ।
निर्वाचन नै होला जस्तो लाग्दैन
सन्तबहादुर लाकजू, लेखापढी व्यवसायी
फाल्गुन २१ गतेको निर्वाचन सरकारकोतर्फबाट खासै तयारी देखिँदैन । सरकारको गतिविधिले निर्वाचन हुन्छ भन्ने मलाई चाहिं लाग्दैन । यद्यपि राजनीतिक दलहरूले भने निर्वाचनमा जान तयारी गरेको देखिन्छ । यो निर्वाचनले पनि जेन्जीहरुको माग पूरा गर्न सकिँदैन जस्तो मलाई लाग्छ ।
मेरो विचारमा निर्वाचन भइहालेमा जितेर आउने उही पुरानै भनिने एमाले, कांग्रेस, राप्रपा, नेपाली कम्युनिस्ट पार्टीहरू नै हुन् । किनकि जेन्जीहरुको गतिले र एकजुट पार्टी नै देख्दिन म । उनीहरु कुन पार्टीमा जाने भन्ने एकिन पनि छैन । उनीहरू आफैमा विवादमा पनि देखिन्छन् । यसैको फाइदा पुराना भनिने दलहरुले लिनेछन् ।
अहिलेको अवस्थामा जो असली जेन्जीहरु छन्, उनीहरूको यात्रा कहाँसम्मको हो भन्ने अन्योल र अलमलमा परेको देखिन्छ । यात्रा निश्चित नगरी जाँंदा अन्तत त्यो विलय नै हुने हो, हराउने नै हो । यसकारण नयाँं जेन्जी साथीहरुलाई अगाडि वढ्ने भए योजना बनाएर, एकजुट भएर अगाडि वढ्न अनुरोध छ । नभए त परिणाम उस्तै हो ।
एमालेका कारण चुनाव अनिश्चयमा छ
सूर्य श्रेष्ठ, समाजसेवी
सवैलाई थाहा भएकै विषय हो, देशकै ठूलो भनिएको नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचनको विपक्षमा छ । एमाले चुनाव गराउने पक्षमै छैन । फेरि अहिले देश जलेको अवस्थामा छ । सवै संरचनाहरु ध्वस्त छन् । यति मात्रै होइन, चुनावको तयारीको समय पनि अपुग छ । छोटो अवधिमै चुनावको तयारी गर्नुपरेको छ । हतारहतारमा चुनाव गर्नुपरेको छ । भन्नुको अर्थ समय अपुग छ ।
मलाई लागेको छुटाउनै नहुने कुरा के हो भने एमाले चुनाव गराउनै चाहँंदैन । तर त्यो पार्टी यति बाठो छ कि चुनाव हुने भयो भने आफू छुटला भनेर उसले चुनावमा भाग लिन भने छोड्दैन । चुनावी प्रतिस्पर्धामा उ जसरी पनि आउँछ जस्तो मलाई लाग्छ । एमालेकै कारण चुनाव अनिश्चयमा छ ।
चुनाव परिणाम नयाँं शक्तिको पक्षमा
न्हुछें मानन्धर, राजनीतिकर्मी
वर्तमान समस्याको समाधान नै चुनाव हो । त्यसकारण चुनाव हुन्छ । यसमा शंका नै नगर्दा हुन्छ । मलाई लाग्छ चुनाव परिणाम पनि अहिले हामी सहजै अनुमान लगाउन सक्छौं । चुनावको परिणाम नयाँं पार्टीहरुमा अर्थात् नयाँं शक्तिहरुमा पुग्नेछ । पुरानो पार्टीको रुपमा रहेको कांग्रेस र एमालेलाई जनताले साइजमा ल्याउने छ । किनकि ४० वर्षदेखि उनीहरुले नै शाशण चलाइरहेका छन् तर काम भने कुच नही छ । यो कुरा जनताले बुझिसके ।
मलाई लाग्छ अव चुनावको परिणाम नयाँं पार्टीहरुमा कति जान्छ भने कुरा चाहिं नयाँं पार्टीहरुको एकताले देखाउनेछ । नयाँं सवै शक्तिहरु एक भए स्वत उनीहरु एकल बहुमतमा आउने छ । होइन, उनीहरु एक्लाएक्लै लडे भने परिणाम निश्चित आउनेछ । यसमा नयाँं र पुराना दलहरु उतिउति नै आउनेछ । यो देशको लागि यस्तै अस्थिरता भइरहने अर्काे कारण हुनेछ । त्यसकारण जनताले त्यो चाहनु हुँदैन ।
फाेटाेमा हेर्नुहाेस्...
