चाँगुनारायणमा १ दिने सम्बन्ध विकास कार्यशाला


मंसिर १२, २०८२, शुक्रबार | साँझ ०४:३९ बजे | 85


चाँगुनारायणमा १ दिने सम्बन्ध विकास कार्यशाला

खरिपाटी, भक्तपुर
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित सहारा परियोजना अन्तर्गत १ दिने सम्बन्ध विकास कार्यशाला सम्पन्न भएकोछ । वडास्तरीय ज्येष्ठ नागरिक मिलन चौतारीको दिगोपनाको लागि जनप्रतिनिधिहरु, सहकारी संस्थाहरु, उपशाखाहरुबीच सहकार्य, समन्वय र सहयोग अभिवृद्धि गर्ने उद्धेश्यले नगरापलिकाको हलमा कार्यशाला सञ्चालन गरिएको थियो ।
कार्यशालाको शुरुवात गर्नुहुदै चाँगुनरायण नगरपालिकाका प्रवक्ता सामाजिक विकास समितिका संयोजक तथा वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीले ज्येष्ठ नागरिकहरुको सक्रियता तथा स्वस्थ जीवनयापनमा सहयोग गर्ने उद्धेश्यले नगरपालिकाले रेडक्रससंगको सहकार्यमा स्वस्थ्य बुढ्यौली परियोजना सञ्चालन गरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको जनसंख्या बढ्दै गइरहेको अवस्थामा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमले ज्येष्ठ नागरिक आमा बुवाहरुको मुहारमा खुशी ल्याउन सफल भएको बताउनुभयो । सहकारी संस्थाहरुले आफ्नो बार्षिक कार्यक्रममा सामाजिक उत्तरदायित्व बहन अन्तर्गत ज्येष्ठ नागरिकहरुको लागि सहयोगी गतिविधि तथा कार्यक्रमहरु राख्न अनुरोध गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति परशुराम पाण्डेले सहभागिहरुलाई स्वागत गर्नुहुदै सहारा कार्यक्रम साँच्चिकै चाँगुनरायण नगरबासी ज्येष्ठ नागरिकहरुका लागि स्वस्थ्य, सक्रिय र मर्यादीत जीवनयापनमा सहारा बनेको बताउनुभयो । उहाँले सम्बन्ध विकास कार्यशालाले स्थानीय तहमा रहेका सहकारी संस्था, रेडक्रसका उपशाखा र स्थानीय जनप्रतिनिधिहरुबीचको सहकार्य र समन्वयले ज्येष्ठ नागरिक मिलन चौतारीको सञ्चालनमा दिगोपना ल्याउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यशालामा सहारा परियोजना अन्र्तगत हालसम्म भएका प्रगतिका बारेमा चाँगुनारायण नगरपालिकाका कार्यक्रम संयोजक दिनेश थापाले प्रस्तुतीकरण गर्नुभएको थियो भने ज्येष्ठ नागरिक मिलन चौतारीमा हुनुपर्ने न्यूनतम सुविधा तथा सामग्रीहरुको बारेमा भक्तपुर रेडक्रसकी संयोजक उमा थापाले प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुरका कोषाध्यक्ष प्रदिप कुमार के.सीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी संस्थाहरुले प्रदान गर्दै आएको सेवाहरु तथा सञ्चालन गरेका गतविधिहरुकोे बारेमा जानकारी गराउनु भएको थियो । कार्यशालामा ज्येष्ठ नागरिक मिलनचौतारीका अध्यक्ष तथा प्रतिनिधिहरु, वडाका जनप्रतिनिधिहरु, रेडक्रसका उपशाखाहरु, सहकारी संस्थाहरुका सहभागिहरुलाई ३ समुहमा विभाजन गरी आपसी समन्वय, सहकार्य र सहयोगमा सञ्चालन गर्न सकिने कार्यक्रम तथा गतिविधहरुको बारेमा समुहगत छलफल गरी प्रस्तुतीकरण गरिएको थियो ।
कार्यशालाको अनुगमन र निरीक्षण गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले वडाका जनप्रतिनिधिहरु, सहकारीका प्रतिनिधिहरु, ज्येष्ठ नागरिक मिलन चौतारीका प्रतिनिधिहरु र उपशाखाका प्रतिनिधिहरुलाई आपसी सहकार्य, समन्वय र सहयोगमा अभिवृद्धि गरी ज्येष्ठ नागरिक मिलन चौतारीका बार्षिक गतिविधिहरु सञ्चालनमा योगदान गर्नको लागि अनुरोध गर्नुभयो । उहाँले नगरबासी ज्येष्ठ नागरिकहरुका मुहारमा खुशी ल्याउनका लागि नगरपालिकाले रेडक्रससंगको सहकार्यमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा स्वस्थ्य बुढ्यौली परियोजना  सञ्चालन गरेका बताउनुहुदै उमेरमैत्री शहर निर्माण तर्फ नगरपालिका लागि परेकोले सबै सरोकारवाला निकायहरुलाई हातेमालो गरी नगरपालिकालाई सहयोग गर्न अनुरोध गर्नुभयो ।  
कार्यशालाको समापनमा मन्तव्य राख्नुहुदै कार्यपालिका सदस्य कमला गिरी भारतीले शरीरलाइ माया गरे शरीरले सथ दिने हुनाले ज्येष्ठ नागरिकहरु उमेर बढेसंगै स्वस्थ्य प्रति सजग हुनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरुमा  उमेरका कारण आउने बानी ब्यवहार परिवर्तनसंग परिवारका सदस्यहरु अनुकुल भई ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक जीवनयापनमा सहयोग गर्नुपर्ने कुरा बताउनु भयो ।
वडा नं २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले सानो कुराले पनी ज्येष्ठ नागरीक खुशी हुने हुनाले परिवारका सदस्यहरुले आफ्नो घरमा रहनु भएका ज्येष्ठ नागरिकहरुसंग समय विताउने र वहाँहरुका कुरा सुन्नुपर्ने बताउनुभयो । सरोकारवाला निकाय बीच सहकार्यले ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत ज्येष्ठ नागरिकहरुका लागि गतिविधिहरु सञ्चालनमा आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने बताउनु भयो । उहाँले सामाजिक सेवाको लागि धन भन्दा पनी  मन फराकीलो बनाउनुपर्ने कुरामा जोड दिनुभयो । 
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार श्रेष्ठले सरकारले ज्येष्ठ नागरिक सम्बन्धी कानुन तयार गरी ज्येष्ठ नागरिकहरुको हक हित र संरक्षणका प्रावधान व्यवस्था गरेको बताउनुभयो ।  ज्येष्ठ नागरीकहरु ज्ञान, शीप र अनुभवका खानी भएकाले उहाँहरुको सदैब सम्मान र आदर गर्नुपर्ने बताउनुभयो । लक्षित समुहको रुपमा ज्येष्ठ नागरीकका लागी काम पर्याप्त नभएको अवस्थामा चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस बीचको सहकार्यमा सञ्चालित सहारा परियोजनाले  ज्येष्ठ नागरिकहरुका लागि चौतारीको रुपमा काम गरेको कुरा प्रमुख प्रशासकिय श्रेष्ठले बताउनुभयो ।  उहाँले ६० वर्ष पुरा हुनुभएका नगरबासीहरु उमेरगत रुपमा बुढ्यौली तर्फ ढल्किएता पनी चाँगुनारायणका ज्येष्ठ नागरिकहरुको क्रियाशीलताले हामी सबैमा उर्जा थपेको बताउनुभयो । 
कार्यशालामा कार्यपालिका सदस्य निर्मला के.सी, २ नं वडा सदस्य राधादेवी गैँडा माकजु, वडा नं ८ का सदस्य प्रल्हाद दुलाल, वडा नं ७ का सदस्य श्यामकाजी नयाँजु श्रेष्ठ, ९ वटै ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्षहरु, रेडक्रसका ९ वटै उशाखाहरु, महिला बालबालिका तथा समाजकल्याण शाखाकी प्रमुख नीला कुमारी घिमिरे, स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, सहकारी संस्थाका प्रतिनिधिहरु, नगरपालिका भित्रका स्वास्थ्य, सहकारी, सामाजिक बिकास शाखा, सुचना प्रविधि, विपद् व्यवस्थापन तथा सहारा परियोजनाका कर्मचारीहरु गरी ४३ जनाको उपस्थिती रहेको थियो ।
 

फाेटाेमा हेर्नुहाेस्...

चाँगुनारायणमा १ दिने सम्बन्ध विकास कार्यशाला

Comments