वातावरण संरक्षण मञ्च भक्तपुरको साधारणसभा तथा अधिवेशन सम्पन्न


कार्तिक ३०, २०८२, आइतबार | विहान ११:५७ बजे | 180


वातावरण संरक्षण मञ्च भक्तपुरको साधारणसभा तथा अधिवेशन सम्पन्न

कार्तिक २८, भक्तपुर । वातावरण संरक्षण मञ्च भक्तपुरको २० आैं साधारणसभा तथा ८ आैं अधिवेशन शनिवार एक कार्यक्रमका बीच सम्पन्न भयो ।
भक्तपुर बहुमुखी क्याम्पसका प्राध्यापक नवीन नारायण मुनंकर्मीले वातावरण संरक्षण मञ्चमा विभिन्न उमेर समूह हुँदा विश्वमा बदलिएको वातावरण परिवर्तनले खाद्य तथा वातावरण संरक्षणमा विज्ञान र प्रविधिको माध्यमबाट जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरूलाई आयआर्जनसँगै वातावरण संरक्षणको लागि सामाजिक संघसंस्थामा लागेर समाजसेवामा लाग्न मञ्चले आवश्यक भूमिका निर्वाहसँगै वातावरणको प्रवर्द्धन र सुधारका लागि अध्ययन अनुसन्धानको माध्यमबाट प्रस्तावना तयार गर्न जोड दिनुभयो ।
नाष्टका युवा वैज्ञानिक पवन न्याैपानेले सीमित स्राेत साधनमा सदस्यहरूको सकृयताबाट वातावरण संरक्षण कार्यमा भक्तपुरको उदाहरणीय कामप्रति प्रशंसा गर्नुभयो ।
सल्लाहकार रामबहादुर श्रेष्ठले स्वच्छ वातावरण संरक्षणको लागि जनचेतना अभिवृद्धि सहित बाैद्धिक लडाकु समूहको रूपमा कार्यक्रम गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष न्हुछे बहादुर प्रजापतिले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वातावरणीय समस्या न्यूनीकरणका लागि आवश्यक कार्ययोजना पेश गरेका थिए ।
मञ्चका कोषाध्यक्ष सहना पसखलले मञ्चको वार्षिक आम्दानी र खर्च सहिदको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मञ्चका महासचिव मनिराम लामिछाने, उपाध्यक्ष अभिमन्यु राउत, संस्थापक अध्यक्ष जयराम थापा, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि ध्रुवराज विष्ट तथा रमेश गिरी लगायतले बोल्नुभयो ।
कार्यक्रममा तीनवर्ष देखि निरन्तर विज्ञापन दिने विज्ञापनदाता तथा लेख रचना दिई सहयोग गर्ने लेखकलाई प्रशंसापत्रसहित सम्मानित गरिएको छ ।
मञ्चमा आजीवन सदस्य मात्रै कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ । सोही अनुसार ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसमा अध्यक्ष न्हुछे बहादुर प्रजापति, उपाध्यक्ष सहना पसखल, महासचिव मनिराम लामिछाने, कोषाध्यक्ष श्यामबहादुर माकजु तथा सदस्यहरूमा लक्ष्मी न्याैपाने, केशव बानियाँ, दिलकृष्ण प्रजापति, राजन कार्की, जयराम थापा तथा राम कुसीलगायत एक जना सदस्य पछि थप हुने जनाएको छ ।
२०६६ सालमा राष्ट्रिय वातावरण पुरस्कार प्राप्त वातावरण संरक्षण मञ्च विसं २०५९ मा स्थापना भएको हो ।
मञ्चको मूल नारा “स्वच्छ वातावरण प्रवर्द्धन गर्न वृक्षरोपण गराैं” भन्ने रहेको छ ।

Comments