बालकुमारी योग साधना केन्द्र ११ औं वर्षमा
कार्तिक २५, २०८२, मङ्गलबार | साँझ ०५:४३ बजे | 230
सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित शंखधर पार्र्टी प्यालेसमा संचालित बालकुमारी योग साधना केन्द्रले स्थापनाको ११ वर्ष मनाएको छ । गरौं योग रहौं निरोग भन्ने मूल नाराका साथ संचालित पतञ्जली योग समिति अन्तर्गत रहेको बालकुमारी योग साधना केन्द्रमा नियमित योग साधना हुँदै आएको छ । उक्त केन्द्रकी संयोजक पूर्णकेशरी श्रेष्ठको सभापतित्वमा भएको १० औं वार्षिक उत्सव एवं ११ औं स्थापना दिवस कार्यक्रमको उद्घाटन पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष नित्यनाथ श्रेष्ठले गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला अध्यक्ष श्रेष्ठले नियमित योग, ध्यान, प्राणायामले हामीलाई शारीरिक एवं मानसिक रुपमा स्वस्थ बनाउने भन्दै सकारात्मक सोच र चिन्तनका लागि पनि योगाभ्यास जरुरी रहेको बताउनु भयो । कार्यक्रममा शंखधर बैंक्वेटका अध्यक्ष सत्यसुन्दर श्रेष्ठ, पतञ्जली योग समिति भक्तपुरकी महिला अध्यक्ष सुनिता श्रेष्ठ, मध्यपुर थिमि नगर अध्यक्ष तुल्सीकृष्ण श्रेष्ठ लगायतका वक्ताहरुले बालकुमारी योग साधना केन्द्रको गतिविधि सम्बन्धी छोटो चर्चा गर्दै शारीरिक, मानसिक स्वास्थ्य एवं सकारातमक चिन्तनका लागि नियमित योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रकी सचिव सुष्मा श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा केन्द्रका उपसंयोजक तुइलाल भासिमाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मथिनपा भित्र संचालित १९ वटा योग साधना केन्द्रको तर्फबाट शंखधर योग साधना केन्द्रकी संयोजक झुमा सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरि मथिनपा पतञ्जली योग समिति महिलाको तर्फबाट अनिता शर्माले शुभकामना मन्तव्य र आयोजकको तर्फबाट तुल्सीराम श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका नियमित योग साधक साधिकाहरु राजेन्द्र साह र तुल्सी केशरी श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरि १५ दिने योग शिक्षक तालिम लिएका ३२ जना साधकसाधिकाहरुलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा स्थानीय गायक लक्ष्मीकृष्ण नापितले राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो । सुनिता श्रेष्ठ, मनिषा बस्नेत, रेणुका आचार्य लगायतका साधिकाहरुले सकारात्मक सन्देश प्रवाह गर्ने गीतमा आकर्षक सामुहिक नृत्य प्रस्तुत गर्नुभएको थियो । शंखधर बैंक्वेटमा भएको उक्त कार्यक्रममा सुशिला श्रेष्ठले एकल नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकी सभापति पूर्णकेशरी श्रेष्ठले बालकुमारी योगसाधना केन्द्रको हालसम्मको गतिविधि, भावि योजना एवं योगाभ्यासको प्रभाव र महत्व सहित आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
