फिजीबाट आफ्ना पुर्खा खोज्दै
कार्तिक २३, २०८२, आइतबार | साँझ ०४:२३ बजे | 100
भक्तपुर । १३२ वर्षअघि आफ्ना पुर्खाहरूले छाडेको माटोमा टेक्न पाउँदा फिजीका सञ्जीव कुमार घर्तीका आँखा रसाए । पुर्खाको घरको दैलोको माटो निधारमा लगाउँदै उनले भने, "यो मेरो जीवनको सबैभन्दा अमूल्य क्षण हो ।"
राफत सञ्चार क्लब, भक्तपुरमा आयोजित एक पत्रकार सम्मेलनमा फिजीबाट आएका घर्ती र नेपालमा रहेका उनका आफन्तहरूबीचको ऐतिहासिक पुनर्मिलनको कथा सुनाइयो । यो पुनर्मिलनको अवसर विश्व साइकल यात्रीद्वय भगत खत्री र अजय मिश्रले जुराइदिएका हुन् ।
अष्ट्रेलिया यात्राका क्रममा खत्री र मिश्रको भेट फिजीमा सञ्जीवसँग भएको थियो । भेटका क्रममा सञ्जीवले नेपालमा रहेका आफ्ना पुर्खाहरूलाई भेट्ने उत्कट इच्छा व्यक्त गरेका थिए । उनको यही इच्छालाई साकार पार्न साइकल यात्रीद्वयले महत्त्वपूर्ण भूमिका खेले । करिब एक वर्षको प्रयासपछि सञ्जीवको सपना पूरा भएको हो ।
नेपाल आएपछि सञ्जीवले चितवनमा रहेका आफ्ना काका जयबहादुर घर्ती, बहिनी रश्मी जिसी लगायतका आफन्तहरूसँग भेट गरे । १३२ वर्षपछि भएको यो पुनर्मिलन अत्यन्तै भावुक थियो । "काकासँग अँगालो मार्दा, बहिनी र आफन्तसँग भेट्दा म आफूलाई आफ्नै घर फर्किएको महसुस भयो," सञ्जीवले भने, "नेपाल मेरो पुर्खाको थलो हो, फिजी मेरो जन्मथलो । नेपालमा बिताएका यी दश दिन मेरो जीवनका सबैभन्दा अविस्मरणीय समय बनेका छन् ।"
उनले पुर्खाको घरबाट लगेको माटो फिजी लिएर जाने र त्यसलाई सधैँ आफूसँग राख्ने बताए । "अब नेपाल र फिजीबीचको यो नाता कहिल्यै नटुट्नेछ," उनले दृढता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै विश्व साइकल यात्री खत्री र मिश्रले यो पुनर्मिलनले विदेशमा बसेका नेपालीहरूलाई आफ्नो जरासँग जोड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनीहरूले यस्ता मानवीय कथाहरूले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।