राजविराजका चिकित्सकलाई भक्तपुरमा गरियो सम्मान
कार्तिक २२, २०८२, शनिबार | राति ०७:१८ बजे | 175
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं स्थापना दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका डा. अशोकानन्द मिश्र र भलिबलका प्रशिक्षक एवं रेफ्रि विनोदचरण रायलाई शनिबार संस्थाको प्राङ्गणमा आयोजित एक समारोहबीच सम्मान गरेको छ ।
वि.सं. २०५४ कार्तिक १९ गते भक्तपुरको च्याम्हासिंहमा ४० जना संस्थापक सदस्यहरुको १ लाख २० हजार पूँजीबाट विधिवत रुपमा डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको उक्त संस्थामा कार्तिक १९ सम्ममा ४ अर्ब ४६ करोड, ३६ लाख ६८ हजार ५२८ रुपैयाँको वासलात बनेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सम्मानित व्यक्तित्वलाई बेताली, दोसल्ला र नगद रु.२० हजारसहित सम्मानपत्र वितरण गर्दै देश र जनताको लागि निःस्वार्थी रुपमा सेवा गरेकालाई जनताले अभिनन्दन गर्ने बताउनुभयो । सहकारी क्षेत्रमा लाग्नेले इमानदारीपूर्वक काम गर्दा पनि कानुनी कठिनाइ आउन सक्ने भएकाले उहाँले सचेत भई कानुनी ज्ञान अध्यावधिक गरिरहनुपर्ने बताउनुभयो । वर्तमान राजनीति पूँजीवादी व्यवस्थाबाट निर्देशित भएकाले राम्रो विचारलाई अनुशरण गर्नुपर्ने र विचार नबुझिकन कुनै पनि पार्टीमा लाग्न नहुने बताउनुभयो । आफ्नो राजनीतिक अनुभव बताउँदै उहाँले भन्नुभयो, ‘कि राजनीति गर्दै नगर्ने, गर्ने भए नडराउने ।’ साथै मल किन्न पैसा नहुने, विउविजन किन्न पैसा नहुने भएकाले कृषिजन्य क्रियाकलाप गर्नका लागि सहकारी स्थापना भएकोमा अहिले करोडपतिहरुले सहकारी संस्थामा हैकम चलाएको उहाँको कथन छ । ठूला पार्टीका नेताहरुले नियम र कानुन बमोजिम नै सहकारीबाट कम ब्याजदरमा ऋण लगेकोले जतिसुकै ठगेपनि भ्रष्टाचार गरेपनि भ्रष्टाचारको आरोपमा जेठ पठाउन नसकेको उहाँले स्पष्ट पार्नुभयो । अहिलेका सहकारी संस्थामा हरप्रकारका हरक्षेत्रका मानिस सदस्य हुने भएकोले सहकारीको नीतिबमोजिम काम गर्न गाह्रो हुने र कृषि सहकारी संस्थामा त्यस क्षेत्रका मात्र आबद्ध हुने भएकाले सहज हुने उहाँले बताउनुभयो ।
त्यस्तै सम्मानित व्यक्ति डा अशोकानन्द मिश्रले कसैका लागि कुनै योगदानविनाको सम्मान आपूmले अस्वीकार गरेको बताउँदै यो सम्मान भक्तपुरका जनताका तर्फबाट पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भक्तपुरका जनताको सेवा गर्ने क्रममा भएका अनुभव सुनाउँदै भक्तपुर बचतप्रति सम्मान गरेकोमा आभार प्रकट गर्नुभयो ।
अर्का सम्मानित व्यक्ति भलिबलका प्रशिक्षक एवम् अन्तरराष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले खेल क्षेत्रमा आपूmले गरेको कार्यको मूल्यांकन गरी सम्मान गरेकोमा आभार प्रकट गर्दै खेलाडी रहँदा अनुशासनका कुरा गर्नेहरु खेल छोडिसकेपछि बिग्रिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले खेलसँगै सामाजिक क्रियाकलापमा समाहित भएको बताउनुभयो ।
वागमती प्रदेश सभाका सभासद् सृजना सैंजूले पूँजीपतिलाई ठगी गर्न हौस्याउने र जनतालाई दुबाउने खालको नीति पूँजीवादी सरकारले ल्याउने भएकाले त्यसबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लेनिनको आदर्श सोचलाई आत्मसात गर्दै आर्थिकसँगै सामाजिक गतिविधिमा भक्तपुर बचत लागेकोमा खुसी व्यक्त गर्नुभयो । भक्तपुर बचतले खोलेको आदर निकेतनसँगै अब शिशु स्याहार र बालउद्यानहरुको बन्दोबस्त गर्नुपर्ने उहाँको कथन छ । साथै उहाँले भक्तपुरमा एक वडा एक शिशुस्याहार र आदर निकेतन बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका ९ वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले ब्याजको लोभमा लागेर बचत गर्दा जनताले दुःख पाएको बताउँदै सामाजिक रुपमा लागेका सहकारीलाई मात्र विश्वास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाका प्रतिनिधिहरु तिब्बतको शान्नन शहरमा अबलोकनमा जाँदा भएका अनुभव सुनाउँदै त्यहाँको सहकारी जस्तै हामी पनि लाग्नुपर्ने बताउनुभयो । समाजको आर्थिक स्तर उकास्न भक्तपुर बचत लागिरहेको बताउँदै तिब्बतमा जस्तै नेपालमा गर्न सके धेरै कुरामा विकास गर्नसक्ने स्पष्ट पार्नुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाले न्यून आय भएका जनताका लागि सहकारी खोल्ने ऐन, कानुनमा रहेपनि पूँजीपति वर्गले आफ्नो व्यक्तिगत स्वार्थका लागि सहकारी संस्थाहरु खोलिरहेको बताउनुभयो । उहाँले त्यस्ता व्यक्तिहरुबाटै सहकारी अनियमितता, अपारदर्शिता र ठगी कार्य भइरहेको स्पष्ट पार्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिले संस्था स्थापना गर्नुका उद्देश्य र आजको सहकारी सम्बन्धमा स्पष्ट पार्दै संस्थाको दिगो विकासमा लागेका सदस्यहरुप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष एवम् भक्तपुर आदर निकेतनका अध्यक्ष लक्ष्मी प्रसाद कुसीले प्राधीकरणबाट सहकारीमा गरेको अनुगमनबारे स्पष्ट पार्दै प्राधिकरणका निर्देशन, मापदण्ड अनुसार मात्र चल्ने हो भने सहकारी संस्था नै नहुने बताउनुभयो । साथै उहाँले आर्थिकसँगै सामाजिक उत्तरदायित्वको रुपमा भक्तपुर आदर निकेतन खोलेकोमा यसको दिगो विकास र कार्यान्वयनका लागि सहयोगी हातहरुको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । सोही क्रममा त्यसै कार्यक्रममार्फत संस्थाका सदस्य शमशेर प्रजापति र मन्दिर प्रजापतिले आदर निकेतनका लागि २ लाख रुपैयाँको चेक अध्यक्षलाई हस्तान्तर गर्नुभयो ।
त्यस्तै भक्तपुर बचतको २८ औं वार्षिक साधारण सभाबाट पारित भक्तपुर साकोस छात्रवृत्ति कार्यविधि २०८२ यसवर्ष समाज सुधार मावि र ब्रहायणी आधारभूत विद्यालयलाई छनोटमा परेको छ । त्यसअनुसार समाज सुधार माविलाई ७ लाख ३५ हजार रुपैयाँ र ब्रम्हायण आविलाई २ लाख ४४ हजार रुपैयाँ प्रदान गरेको छ ।
कार्यक्रममा संस्थाका सचिव जगनाथ प्रजापति, सदस्य रामेश्वरी कोजूलगायतले बोल्नुभएको थियो ।