नीलबाराही संरक्षणमा मध्यपुर थिमि नगरपालिकालाई झड्का (पत्रसहित)
कार्तिक १९, २०८२, बुधबार | राति ०७:२४ बजे | 825
भक्तपुर । पुरातत्व विभागले भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीस्थित ऐतिहासिक श्री नीलबाराही क्षेत्र जोगाउने योजनाको काम तत्काल सुरु नगर्न निर्देशन दिएको छ । सरोकारवाला मध्यपुर थिमि नगरपालिका, काठमाडौं उपत्यका विकास प्राधीकरण अनामनगर काठमाडौंलाई बुधबार विभागले पत्र पठाई काम नथाल्न निर्देशन दिएको हो । त्यसको वोधार्थ नीलबाराही क्षेत्र रहेको मध्यपुर थिमि नगरपालिका वडा नं ९ को कार्यालयलाई पनि पठाइएको छ ।
कार्यकर्ता बोलाएर समर्थन गर्न लगाएको आरोप
यसैवीच सरोकार समितिका पदाधिकारीहरुले नेपाली कांग्रेस मध्यपुर थिमिले पार्टीका कार्यकर्ताहरुलाई बोलाएर नगरपालिकाको पक्षमा प्रदर्शन गर्न लगाएको आरोप लगाएका छन् । अभियन्ता एवं श्रमदाता भगवती श्रेष्ठले फेसबुकमा त्यसको प्रमाण सार्वजनिक गर्दै बुधबार लेखेका छन्, नेपाली कांग्रेस मध्यपुर थिमि नगरपालिकाले पार्टीको निर्देशन अनुसार समर्थनमा उत्रन निर्देशन दिई कार्यक्रम गर्न लगाइयो ।
मंगलबार मध्यपुर थिमि नगरपालिका कार्यालय अगाडि जनप्रदर्शन गरी काम छिटो गर्न नगरपालिकालाई दवाव दिएको थियो । मध्यपुर थिमि नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजबाहकको नेतृत्वमा दिनभर नगरपालिका अगाडि प्रदर्शन गरी नीलबाराहीको काम छिटो गर्न दवाव दिएको थियो ।
किन रोक्यो पुरातत्वले ?
योजना सुरु गर्दा प्राचीन मन्दिरलाई केकस्तो असर पर्ने हो? सोको बारेमा विस्तृत सम्पदा प्रभाब अध्ययन गरी प्रतिवेदन प्राप्त भएपछि मात्रै कार्य गर्न गराउन निर्देशन अनुसार अनुरोध गरिएको पत्रमा उल्लेख छ । पुरातत्व विभागका पुरातत्व अधिकृत करुणा नकर्मीले नीलबाराही मन्दिर पुनः निर्माण सम्वन्धमा अधिवक्ता तीर्थबहादुर बैद्यको कार्तिक १७ गते विभागमा दिएको निवेदन प्राप्त भएको र त्यस निवेदनमा नीलबाराही मन्दिर परिसरभित्र काम भइरहेको जानकारी प्राप्त भएको हुँंदा यसबाट ऐतिहासिक सम्पदामा पर्ने असरबारे प्रतिवेदन नआएसम्म काम अगाडि नवढाउन निर्देशन दिइएको छ ।
के भन्छन् निवेदनकर्ता बैद्य ?
निवेदनकर्ता अधिवक्ता बैद्यले यसबारे विभागलाई आफूले जानकारी गराएको स्पष्ट पारे । नीलबाराही जोगाउनका लागि आफूले निवेदन राखेको र त्यसपश्चात हाललाई काम रोक्न विभागले निर्देशन दिएको पुष्टी उनले गरे । काम गर्ने नाममा जथाभाबी ऐतिहासिक सम्पदामा असर पर्ने गरी काम गर्न पाइन्न, उनले भने ।
यसअघि मंगलबार मात्रै काम थाल्न ठेक्का पाएको ठेकेदारले कार्यस्थलमा एक ट्रक ढुंगा खसाल्न खोजेको थियो । तर राति पनि एक दर्जन युवाहरु आएर काम अगाडि वढाउन दिंदैनौ भनी ढुंगा खसाल्न अवरोध सृजना गरेका थिए । सम्पदामा क्षति पुग्ने गरी काम गर्न नदिने भन्दै श्री नीलबाराही क्षेत्र सरोकार समितिले आपति जनाउँंदै आएको छ । यस अन्तर्गत समितिले बुधबार मात्रै जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा ध्यानाकर्षणपत्र बुझाएको थियो ।
सरोकार समितिका अध्यक्षको भनाई
सरोकार समितिका अध्यक्ष दिलकृष्ण राजबाहकले सम्पदाको संरक्षणलाई कुनै वास्तै नगरी बजेट आयो भनेर काम थाल्न खोज्नु उपयुक्त नभएको तर्कसहित प्रशाशनको ध्यानाकर्षण गराएको जानकारी दिए । यस क्रममा स्थानीयको हस्ताक्षर सहित पत्र प्रशाशनलाई बुझाएको उनले जानकारी गराए ।
यसअघि मंगलबार मात्रै स्थानीयबासीहरुको एक समूहले योजना तत्काल कार्यान्वयको मागसहितको हस्ताक्षरका पत्र मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृतलगायतलाई संयुक्त रुपमा बुझाएका थिए ।
इतिहास
काठमाडौँ उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक मानिने ऐतिहासिक नीलबाराही क्षेत्र करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ । लामो समयदेखि यो ऐतिहासिक क्षेत्र पहिरोको उच्च जोखिममा छ । यही कारण यसलाई जोगाउने योजना तत्काल कार्यान्वयन गर्न माग गरी हस्ताक्षरसहितको पत्र नगरपालिकामा बुझाएको थियो । यसरी तत्काल काम गर्नुपर्ने र सम्पदा बचाईमात्रै काम अगाडि वढाउनुपर्ने गरी अहिले स्थानीय जनता दुई पक्षमा विभाजित छन् ।
फाेटाेमा हेर्नुहाेस्...
