भोलि अनिश वैद्य समूहले प्रशाशनमा ज्ञापनपत्र बुझाउने
कार्तिक १८, २०८२, मङ्गलबार | राति ०८:४४ बजे | 320
भक्तपुर । श्री नीलबाराही क्षेत्र सरोकार समितिले त्रुटिपूर्ण योजनाको सम्बन्धमा उठेका प्रश्नहरुबाट भागेर मध्यपुर थिमि नगरपालिकाले एकतर्फी नीलबाराही क्षेत्र जोगाउने योजना अगाडि सार्न खोजेको भन्दै त्यसको विरोधमा भोलि बुधबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाउने भएको छ । समितिका सचिव अनिश वैद्यले विहान १०ः३० बजे प्रशाशनमा भेला भई ज्ञापनपत्र बुझाउने योजना रहेको जनाए ।
त्रुटिपूर्ण योजनाको सम्बन्धमा उठेका प्रश्नहरुबाट भागेर, प्राविधिक सहित छलफल गरी निचोडमा पुग्नुपर्ने अवस्थामा राजनीतिक दाउपेच रचेर, स्थानीय बासिन्दा, सरोकार समिति तथा श्रमदाता समेतलाई बाइपास गरी अगाडि वढाउन खोजेको योजना हामीलाई अमान्य छ, वैद्यले भने, पचासौं हजारको जनश्रमदानको अवमूल्यन गरी राजनीतिक दम्भ र पदीय हैसियतको दुरुपयोग समेत गरी बल प्रयोग गरेर एकतर्फी रुपमा त्रुटिपूर्ण योजना जबर्जस्ती लाड्न खोजेकोले सरोकारवाला समिति, स्थानीय बासिन्दा तथा श्रमदाता समेतको प्रतिनिधित्व गरी प्राविधिकहरु समेतको छलफल गराई ऐतिहासिक श्री निलबाराही मन्दिरको पुरातात्विक मूल्य तथा मौलिक पुजा मार्गको संरक्षणको ग्यारेन्टी हुने गरेर समन्वय गरी काम अगाडि बढाउन र सो नगरी आफुखुशी स्थानीय निकाय लगायतबाट भएको कुनै पनि अवाञ्छित गतिविधिले कुनै किसिमको सामाजिक द्वन्द नहोस् भनी शान्ति सुरक्षा समेतको माग गर्न जिल्ला प्रशासन कार्यलय भक्तपुर तथा जिल्ला समन्वय समिति भक्तपुरमा ज्ञापनपत्र बुझाउन लागेका हौं ।
उनले त्यस क्रममा आफूहरुको शान्ति सुरक्षाको मागसहितको निवेदन पेश गर्ने कार्यक्रम समेत रहेको जनाए । कार्यक्रममा सम्बन्धित स्थानीय, सरोकारवाला तथा श्रमदाता सवैलाई सहभागी भइदिन उनले अनुरोध गरेका छन् ।
