थिमि नगरपालिका भबन अगाडि लाग्यो अनिश वैद्य मुर्दावादको नारा
कार्तिक १८, २०८२, मङ्गलबार | साँझ ०५:४८ बजे | 1920
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरबासीले मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीस्थित ऐतिहासिक श्री नीलबाराही क्षेत्र जोगाउने योजना तत्काल कार्यान्वयनमा ल्याउन मध्यपुर थिमि नगरपालिकालाई दवाव बढाएका छन् । मध्यपुर थिमि नगरबासीहरुकोतर्फबाट गठित सरोकार समितिले मंगलबार दवावस्वरुप दिनभर नगरपालिका गेट अगाडि नाराजुलुश गरे । साथै उनीहरुले तत्काल योजना कार्यान्वयनको हस्ताक्षरसहितको मागपत्र नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृतलगायतलाई संयुक्त रुपमा बुझाए ।
काठमाडौँ उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक मानिने ऐतिहासिक नीलबाराही क्षेत्र करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ । लामो समयदेखि यो ऐतिहासिक क्षेत्र पहिरोको उच्च जोखिममा छ । यही कारण यसलाई जोगाउने योजना तत्काल कार्यान्वयन गर्न माग गरी आन्दोलन गरिएको हो ।
ऐतिहासिक यस क्षेत्रलाई जोगाउन मध्यपुर थिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले पहिरो नियन्त्रणका लागि मात्रै पनि करिब ९ करोड ४३ लाख रुपैयाँको बजेटमा तत्काल काम थाल्ने घोषणा पनि भइसकेको थियो । साथै सडक विभागबाट पनि हाललाई छुटै तीन करोडको बजेट विनियोजन गरिसकेको छ । तर अहिलेसम्म दुवै काम सुरु हुन सकेको छैन ।
श्री नीलबाराही क्षेत्र सरोकार समितिको अवरोधका कारण फिल्डमा काम थाल्न नसकेको हो । समितिले स्थानीय जनतासँंग समन्वय नगरी एकतर्फी रुपमा मनोमानी रुपमा काम अघि बढाएको भन्दै विरोध जनाउँंदै आएको छ । योजना कार्यान्वयनका लागि ठेक्का पाएको ठेकेदारले कार्यस्थलमा सोमबार राति पनि एक ट्रक ढुंगा खसाल्न खोजेको थियो । तर राति पनि एक दर्जन युवाहरु आएर काम अगाडि वढाउन दिंदैनौ भनी ढुंगा खसाल्न अवरोध सृजना गरे ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले दुई वर्षभित्र २० करोड लगानीमा नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने र त्यसको थ्रीडी नक्सा समेत सार्वजनिक गरेको तर केही मानिसले काम गर्न नदिएको आरोप लगाए । नीलबाराही क्षेत्र जोगाउन आएको बजेट फिर्ता पठाउने गलत मनसायका साथ केही साथीहरु अभियन्ताका नाममा लागिपरेका छन्, सरोकार समितिका पदाधिकारीहरुबाट ज्ञापनपत्र बुझेपछि मेयर श्रेष्ठले भने, हामी बजेट फिर्ता पठाउन दिन्नौं, काम जसरी पनि थाल्छौं । कार्यक्रममा उपमेयर विजयकृष्ण श्रेष्ठले कुनै हालतमा काम गरी छाड्ने प्रतिवद्धता दिलाए ।
यसअघि जनसरोकार समितिको जुलुश विहान नगरपालिका कार्यालय पुगेको थियो । ऐतिहासिक नीलबाराही क्षेत्र जोगाउने काम तत्काल सुरु गरलगायतका दर्जन नाराहरु लगाउँंदै जुलुश नगरपालिका गेटमा पुगेको थियो । त्यहाँं विभिन्न नाराहरु लागेको थियो । त्यसक्रममा आक्रोशित केही युवाहरुले अनिश वैद्य मुर्दावाद नारा पनि लगाएका थिए । तर केही मिनेटपछि आन्दोलनका अगुवाहरुले व्यक्तिको पछाडि नलागौं, यो हाम्रो निर्धारित नारा होइन भन्दै त्यो नारा लगाउन रोक लगाइएको थियो । आन्दोलनको नेतृत्व मध्यपुर थिमि नगरपालिका वडा नं ९ कार्यालय (नीलबाराही क्षेत्र रहेको वडा) का वडा अध्यक्ष सानुकाजी राजबाहकले गरेका थिए । त्यस क्रममा उनले केही व्यक्तिका कारण योजना कार्यान्वयनमा ल्याउन नसकेकोले तत्काल काम अगाडि वढाउन दवावस्वरुप दुई सय भन्दा वढी स्थानीयको हस्ताक्षरसहित नगरपालिकालाई दवाव दिन आएको बताए । त्यस अवसरमा दर्जन स्थानीयले गेट अगाडि भाषण गरी काम कार्यान्वयमा जोड दिएका थिए । नीलबाराही जोगाऔं अभियन्ता (पहिला अनिशका पक्षधर हाल विरोधी सूर्य श्रेष्ठ) लगायतले त्यसपछि साँंझ मेयर, उपपमेयरलगायतलाई हस्ताक्षरसहितको मागपत्र बुझाएको थियो । त्यस क्रममा त्यहाँं सहभागीहरुबाट पनि छुटै हस्ताक्षर संकलन गरिएको थियो । त्यहाँं झण्डै चार सय हस्ताक्षर संकलन भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
