सुसमाचारः ह्विलचियरबाटै स्नातक पास
कार्तिक १७, २०८२, सोमबार | विहान ०८:४१ बजे | 390
भक्तपुर । आँटे के हुँदैन भन्ने सन्देश दिन सफल भएकी छिन् भक्तपुरकी प्रिता वल्ल । मस्तिष्क पक्षघात भई शारीरिक अपांगतामा जीवन बिताइरहेकी उनी स्नातक तह उतीर्ण गरी सवैका लागि प्रेरणा बनेकी छिन् ।
भक्तपुर नगरपालिका वडा नं. ३ तेखापुखू निवासी प्रिता आफैंले केही पनि गर्न सक्दिनन् । उनको हातखुटादेखि लिएर अरु कुनै पनि अंग खासै चल्दैन । त्यही कारण उनी दिनभरि घरको कोठामा सिमित छिन् । अरुको सहायताले ह्विलचियरमा राखेपछि मात्रै उनी आवतजावत गर्न सक्छिन् । न हातले, न त खुटाले नै लेख्न पनि सक्दिनन् । तर पनि उनले मानविकी संकायबाट स्नातक तह पास गर्न सफल भएकी छिन् । भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित ख्वप कलेजबाट उनले स्नातक तह उतीर्ण गरेकी हुन् । यही वर्ष मात्रै उनले स्नातक तहको परीक्षा उतीर्ण गर्न सफल भएकी हुन् ।
प्रिताका पिता पवनकुमारका अनुसार २०४८ साल असार ३१ गते पहिलो सन्तानको रूपमा प्रिता जन्मिएकी थिइन् । उनी जन्मेको दस वर्षसम्म हिंड्डुल गर्न सकिनन् । त्यसपछि अलिअलि बांगोबांगो भएर हिंड्न पनि सकिन् । तर त्यसपछि उनी फेरि पूरै अशक्त भइन् । अहिलेसम्म पनि ह्विलचियरमै सीमित छिन् उनी । तथापि उनले अध्ययन गर्न भने छाडिनन् ।
परिवारले जनाए अनुसार प्रिताले २०५२ सालमा सुस्त मनस्थिति कल्याण संस्थाको सहयोगमा भक्तपुर स्काउटबाट सञ्चालित कक्षामा १ वर्ष अध्ययन गरिन् । त्यसपछि २०५३ मा १ गतेदेखि समुदायमा आधारित पुनः स्थापना केन्द्र (सिविआर) भक्तपुरबाट सञ्चालित बहुअपांगता विशेष विद्यालय इन्द्रायणी भक्तपुरमा ९ वर्ष अध्ययन गरिन् । २०६२ वैशाख ६ गतेदेखि २०६८ साउन १ गतेसम्म एभरेस्ट इंगलिश स्कुल मिवाछें ब्यासी भक्तपुरमा ३ देखि ८ कक्षासम्म अध्ययन गरिन् । २०७० सालदेखि २०७३ सालसम्म शान्ति निकेतन मावि राममन्दिर अध्ययन गरी २०७३ सालमा उनले एसइई उत्तीर्ण गरिन् ।
२०७४ साउन २ गते शारदा उच्च मावि कक्षा ११ मा भर्ना भई २०७६ मा १२ उत्तीर्ण गरिन् । त्यसपछि २०७६ भाद्र २९ गतेदेखि २०८१ बैशाखसम्म ख्वप कलेज देकोचा भक्तपुरमा स्नातक तह अध्ययन गरी स्नातक उतीर्ण गरेकी हुन् ।
प्रिताकी माता रामेश्वरीले आफ्नै खुट्टाको सहाराले अहिले भने मोवाइलबाट टाइप सिकेकी सुनाइन् । खुटाबाटै नेपाली टाइप गरी उनले दुई सय ४२ पृष्ठ लामो पुस्तक लेखेर सार्वजनिकसमेत गरिसकेकी छिन् ।
प्रिता खासै वोल्न पनि सक्दिनन् । तथापि बोल्न अप्ठेरो मानीमानी गाह्रो गरीगरी बोल्छिन् । उनको बोली सामान्यतयाः अरुले बुझ्न सक्दिनन् । तर घरपरिवारले भने बुझन सक्छन् । उनी मात्रै सुन्न सक्छिन् । यही आधारमा उनले पढेर स्नातक तहसम्मको पढाई पास गर्न सफल भएकी हुन् ।
उनले स्नातक तह पास गरेको ख्वप कलेज देकोचा भक्तपुरका प्राचार्य प्रकाशकुमार श्रेष्ठका अनुसार कक्षामा उनी ह्विलचियरमै बसेर सुन्छिन् मात्रै । नोट लेख्न आदि इत्यादि केही गर्न सक्दिनन् । त्यसकारण उनी कापीकिताव पनि केही पनि लिएर जाँंदिनन् । उनलाई कक्षामा परिवारले पुरयाइदिएको हुन्छ । कक्षा सकेपछि फेरि परिवारले नै लिन आएका हुन्छ । परीक्षामा भने उनले दोभाषे (लेखिदिने सहायक)को मद्धतबाट सहभागी हुन्छन् ।
प्रिताले आफूले अव स्नातकोतर तहको पढाई पनि गर्न चाहेको बताइन् । त्यसकारण उनी अहिले भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा स्नातकोतर तहमा भर्ना हुने तयारीमा छिन् । साथै उनी कविता संग्रह पुस्तकको प्रकाशनको अन्तिम तयारीमा पनि छिन् । प्रिताको जीवन सुखमय होस् । हाम्रोतर्फबाट यही नै शुभकामना ।
फाेटाेमा हेर्नुहाेस्...
