सारा कम्युनिष्टहरु एक हुन रोक्ने ओलीः यादव


कार्तिक १५, २०८२, शनिबार | राति ०८:३९ बजे | 105


सारा कम्युनिष्टहरु एक हुन रोक्ने ओलीः यादव

भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री महेन्द्र राय यादवले नेपालमा कम्युनिष्ट एकताका बाधक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेको दावी गरेका छन् । समसामयिक राजनीतिक विषयमा नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले शनिबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले यही कारण सारा कम्युनिष्टहरु एक हुन नसकेको बताए । अहिले पनि ६२ प्रतिशत नेपाली जनता बामपन्थी नै रहेको भन्दै उनले कम्युनिष्ट एकता हुन सके देश आफैं कम्युनिष्ट हुने बताए । 
कम्युनिष्ट एकता आवश्यक भएकै कारण अहिले पछिल्लो समय एमाले बाहेकका कम्युनिष्ट पार्टीहरु एकताको अन्तिम चरणमा पुगेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल अध्यक्ष रहेको नेकपा एस, आफू अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी, विप्लब नेतृत्वको माओवादीका एक खेमासहित विभिन्न अन्य कम्युनिष्ट पार्टीहरुको एकीकरण अन्तिम चरणमा पुगेको उनले बताए । 
उनले एकीकृत भएपछि बन्ने पार्टीको संयुक्त नाम नेपाल कम्युनिष्ट पार्टी समाजवादी रहने जानकारी गराए । साथै नयाँं पार्टीमा हाललाई संयोजक र उपसंयोजक दुई जना मात्रै तोकिने र पछि महाधिवेशन पछि पदाधिकारी बाँंडफाँंड हुने उनले सुनाए । संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधब नेपाल रहने बांँकी पद पछि महाधिवेशनपछि मिलाउने उनले बताए । महाधधिवेशन फागुनको चुनावापछि हुने उनले बताए । साथै संयुक्त पार्टी घोषणा कार्यक्रम छिटै हुने उनले बताए । 
 

Comments