माओवादी केन्द्रसँग एकता प्रक्रियामा नेपाल कम्युनिस्ट पार्टी, विप्लवको नेकपामा विभाजन


कार्तिक १५, २०८२, शनिबार | साँझ ०५:४९ बजे | 175


माओवादी केन्द्रसँग एकता प्रक्रियामा नेपाल कम्युनिस्ट पार्टी, विप्लवको नेकपामा विभाजन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर विभाजन भएको छ। पोलिटब्युरो सदस्य मिलन सी को नेतृत्वमा रहेका नेताहरूले पार्टी परित्याग गर्दै माओवादी केन्द्रसँग एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्। काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलापछि आज आयोजित पत्रकार सम्मेलनमार्फत मिलन सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चाभित्रका सबै कम्युनिस्ट र समाजवादी शक्तिहरूबीच ऐतिहासिक पुनर्मिलनको सुरुवात भएको घोषणा गरेको हो। मिलन सीले पत्रकार सम्मेलनमा भने, “हामीले वाम एकता र समाजवादी पुनर्गठनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न नयाँ यात्राको थालनी गरेका छौँ। पार्टीभित्रको बहुमत—करिब ९० प्रतिशत स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय सदस्यहरू—एकताको पक्षमा छन्, तर महासचिव विप्लव अन्तिम समयमा पछि हटेपछि हामी विद्रोह गर्न बाध्य भयौँ।” उनका अनुसार माओवादी केन्द्रसँगको एकता केवल संगठनात्मक पुनर्संरचना होइन, जनताको आन्दोलनलाई नयाँ ऊर्जासँग अघि बढाउने ‘क्रान्तिकारी मोर्चा’ को सुरुवात हो। उनले माओवादी केन्द्रसँगको सहकार्यलाई “क्रान्तिकारी वाम शक्तिहरूबीचको ऐतिहासिक पुनर्मिलन” को रूपमा चित्रण गरे। पार्टी स्रोतका अनुसार, अब दुवै पक्षले संयुक्त राजनीतिक दस्तावेज र नयाँ संरचनात्मक रूपरेखा तयार गर्ने काम सुरु गरिसकेका छन्। केही दिनमै शीर्ष नेताहरूबीच औपचारिक सहमति र संयुक्त घोषणा हुने तयारी भइरहेको छ। पछिल्ला केही महिनादेखि विप्लव समूह र माओवादी केन्द्रबीच वाम एकताका विषयमा निरन्तर संवाद चलिरहेको थियो। पत्रकार सम्मेलनमा बोल्दै मिलन सीले पछिल्लो ‘जेन जी आन्दोलन’ बारे पनि धारणा सार्वजनिक गरे। उनले भने, “जेन जी आन्दोलन कुनै निश्चित दर्शन, सिद्धान्त वा पार्टीद्वारा सञ्चालन गरिएको होइन। यो स्वतःस्फूर्त रूपमा नयाँ पुस्ताले नेतृत्व गरेको विद्रोही चेतनाको विस्फोट हो। उनले थपे, “२३ गतेको राज्य दमनपछि जेन जी पुस्ता भड्कियो, २४ गतेसम्म पुग्दा सिङ्गो देश नै आन्दोलनको प्रभावमा आयो। भ्रष्टाचार, कालोबजारी, तस्करी, लुट, खसौट र स्वतन्त्र सञ्चारमाथिको अंकुश—यी सबै मुद्दा जेन जी पुस्ताले उठाएका हुन्, र ती सबै ठ्याक्कै ठिक छन्।” कार्यक्रममा पार्टीका प्रवक्ता जितेन्द्र सीले कार्यक्रम सञ्चालन गर्दै पत्रकारहरूलाई प्रेस विज्ञप्ति पढेर सुनाए। राजनीतिक विश्लेषकहरूका अनुसार, मिलन नेतृत्वको नेकपाले गरेको यो कदमले विप्लव नेतृत्वको नेकपामा ठूलो धक्का पुर्‍याएको छ। यस कदमले वाम राजनीति पुनः नयाँ समीकरणतर्फ मोडिने सम्भावना देखिएको छ।यदि आगामी दिनमा माओवादी केन्द्र र मिलन समूहबीच औपचारिक एकता घोषणा भयो भने, यो नेपालको वाम राजनीति पुनर्गठनको निर्णायक मोड बन्ने विश्लेषण गरिएको छ।

Comments