दुई सदस्यले गरे पार्टी सदस्यताको परित्याग
कार्तिक १४, २०८२, शुक्रबार | साँझ ०६:२८ बजे | 440
काठमाडौं, कात्तिक १४ – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य नन्दलाल खरेल र स्कुलिङ विभागका सचिव भगिरथ न्यौपानेले पार्टी सदस्यतासहित पार्टी परित्याग गरेका छन्। उनीहरूसँगै अन्य दर्जनौँ नेता तथा कार्यकर्ताले पनि पार्टी छोडेको स्रोतले जनाएको छ। पार्टी परित्यागको कारण बताउँदै खरेल र न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीले सधैं जडसूत्रवादलाई अंगालेको, क्रान्तिको कुरा मात्रै गर्ने तर त्यसको कार्यान्वयन नगर्ने, र पार्टीलाई गफ–गफको अखडा बनाएको आरोप लगाएका छन्। उनीहरूले पार्टीभित्र वैचारिक स्पष्टता र क्रान्तिकारी दिशाको अभावले संगठन निष्प्रभावी बनेको बताए। नेता खरेलका अनुसार पार्टी नेतृत्वले देश र जनताको वर्तमान संकटप्रति संवेदनशील भूमिका खेल्न असफल भएको छ। “मुलुक अहिले गम्भीर आर्थिक, राजनीतिक र वैचारिक संकटमा छ। साम्राज्यवाद र प्रतिक्रियावादी शक्तिको हस्तक्षेप झनै बढ्दै गएको छ, तर हाम्रो पार्टी यथार्थ बुझ्न र त्यसविरुद्ध ठोस कार्यक्रम ल्याउन असमर्थ रह्यो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। त्यसैगरी सचिव न्यौपानेले पनि पार्टीभित्र आन्तरिक छलफल, वैचारिक सुदृढता र संगठनात्मक अनुशासनको अभावले क्रान्तिकारी दिशा हराएको टिप्पणी गरेका छन्। उनका अनुसार, “क्रान्तिको कुरा गरेर जनतालाई आशा दिलाउने तर व्यवहारमा निष्क्रिय रहने प्रवृत्तिले हामीलाई गम्भीर आत्ममन्थन गर्न बाध्य बनायो।” हालको राजनीतिक परिस्थितिमा देशभक्त, जनपक्षीय र क्रान्तिकारी शक्तिहरूबीच एकता र ध्रुवीकरण अपरिहार्य भएको उनीहरूको निष्कर्ष छ। विज्ञप्तिमा भनिएको छ, “साम्राज्यवाद र प्रतिक्रियावादविरुद्धको संघर्ष अहिलेको प्रमुख कार्यभार हो। त्यसका लागि साना-ठूला सबै क्रान्तिकारी शक्तिहरू एक साझा मोर्चामा उभिनु आवश्यक छ।” खरेल र न्यौपानेले आगामी दिनमा देशभक्त र जनमुखी शक्तिहरूसँग मिलेर नयाँ वैचारिक अभियान अघि बढाउने संकेत दिएका छन्। उनीहरूले जनताको हितका लागि सैद्धान्तिक स्पष्टता, वैचारिक शुद्धता र क्रान्तिकारी एकताको नारा उठाएका छन्। यो घटनाले पार्टीभित्रको असन्तोष झनै सतहमा आएको विश्लेषण गरिएको छ। पार्टी नेतृत्वले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
फाेटाेमा हेर्नुहाेस्...
