घोडा, खच्चडको विदा कहिले ?
कार्तिक १४, २०८२, शुक्रबार | विहान ०८:०४ बजे | 60
भक्तपुर । नेपालमा मानव अधिकारकोबारेमा धेरै चर्काे बहस हुने गरेका छन् । तर पशु अधिकार अझ विशेष गरेर घोडा अनि खच्चडको अधिकारबारे भने सायदै बहस चल्ने गरेको छन् । यही घोडा अनि खच्चडकोबारेमा बिहीबार दिभर भक्तपुरमा गरमागरम बहस चल्यो । घोडा अनि खच्चडको अधिकारबारे वास्ता नै नहुने गरेको भन्दै कार्यक्रममा पीडा पोखियो ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखरा नेपालले गरेको छलफलमा जनावरहरुबारेमा कहिलेकाही भने पनि छलफल चल्ने गरेको भए पनि घोडा अनि खच्चडको अधिकारबारे कहिल्यै छलफल हुने नगरको बताइयो । जनावरहरुमा पनि घोडा तथा खच्चडलाई दोश्रो दर्जाको रुपमा हेर्ने गरेको र उनीहरुको अधिकारबारे कसैले चासो नदिएको भन्दै चिन्ता व्यक्त गरियो । अरु जनावरहरुको वीमासम्म भए पनि हुने र थोरै भए पनि अधिकार सुनिश्चित हुने गरेको तर घोडा तथा खच्चडको अधिकारबारे कसैले पनि चासो नदिएको आयोजकको भनाई थियो ।
आयोजक पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा पोखरा नेपालका भेटनरी चिकित्सक डा सुदर्शन भटराइले घोडा र खच्चडलाई जनावरहरुको वीचमा पनि दोश्रो दर्जमा राख्ने गरेको र उनीहरुको अधिकारबारे खासै कसैले वास्ता नगरेको सुनाए । यही कारण आफूहरुले उनीहरुको अधिकारका लागि आवाज वुलन्द गर्दै आएको उनले सुनाए । उनीहरुलाई प्रतिदिन ६ घण्टा भन्दा वढी काम गराउन नहुने, हप्तामा एक दिन काम गराउन रोक्नुपर्ने वा विदा दिनुपर्ने, उचित वासस्थान हुनुपर्ने, आवश्यक उपचार गर्नुपर्नेलगायतका विषयमा उनले सवैको ध्यानाकर्षण गराए ।
काठमाडौं उपत्यकालगायत देशैभरिका इटाभटाहरुमा घोडा अनि खच्चडलाई श्रम गर्न लगाइन्छ । इटाभटामा घोडा तथा खच्चडहरुलाई काँंचो इटा बोकाइ ओसार्ने लगाउने काम गराइन्छ । यस क्रममा उनीहरुको कुनै अधिकारलाई ध्यान नदिई पानीसम्म नदिई दिनरात काम गराउने, नगर्दा पिटेर जवरजस्ती काम गर्ने गराइएकोले इटा व्यवसायीहरुलाई बोलाएर कार्यक्रम गरिएको थियो । नेपाल इटा उद्योग महासंघ नेपालसँंगको सहकार्यमा इटा उद्योगीहरुलाई बोलाएर दिनभर छलफल चलाएको थियो ।
कार्यक्रममा इटा व्यवसायीहरुले आफूहरुले भन्दा घोडा तथा खच्चड ल्याउने ठेकेदारलाई यस विषयमा गम्भीर बनाउनुपर्ने जोड दिएका थिए । उनीहरुका अनुसार पश्चिम नेपालको नेपालगञ्जलगायतका ठाउँंहरुबाट ठेकेदारहरुले घोडा तथा खच्चड ल्याउने गर्दछन् र उनीहरुले नै घोडा तथा खच्चडहरुलाई इटा बोकाउने गर्दछन् ।
नेपाल इटा उद्योग महासंघका अध्यक्ष कृष्णप्रसाद अवालले आवश्यक जनशक्तिको अभाबमा घोडा तथा खच्चडबाट काँंचो इटा बोकाउने गरेको जानकारी गराए । केही दसकअघिसम्म भारतको विहारलगायतबाट इटा बोक्नेहरु पाउने गरेको तर अहिले मानब श्रोतको अभाबमा घोडा तथा खच्चडहरुबाट इटा बोकाउन बाध्य भएको उनले जनाए । उनले अव यस विषयमा महासंघले सम्पूर्ण इटा व्यवसायीहरुलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा पशु अधिकारकर्मी हरिप्रसाद जोशीले नेपालका धेरै ग्रामीण भेगमा अझै पनि घोडा तथा खच्चडलाई केवल ‘ढुवानीका उपकरण’ को रूपमा हेर्ने गरेको तर ती पनि जीवन भएका जीव हुन्, जसलाई विश्राम, उपचार र उचित व्यवहारको अधिकारबारे कोही कसैले वास्ता गर्ने गरेको नपाइएको बताए । विभिन्न जिल्लाहरुमा गरिएको अध्ययनले ६० प्रतिशतभन्दा बढी खच्चड र घोडा घाउचोटले ग्रस्त रहेको र आधाभन्दा बढीलाई आवश्यक खोर वा आश्रय नदिइएको तथ्य सार्वजनिक भएको उनले सुनाए ।
सरकारले सन् २०१७ मा “पशु कल्याण मापदण्ड” जारी गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले जनाए । उनले पशु ओसारपसारमा सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने, काम गर्ने समय निर्धारण गर्नुपर्ने र पशु चिकित्सकको नियमित अनुगमन सुनिश्चित गर्नुपर्ने माग गरे ।
हिमाली तथा पहाडी क्षेत्रमा यातायात र ढुवानीका मुख्य साधन मानिएका घोडा र खच्चडलाई त्यहाँं मात्रै होइन, देशैभरिका इटा उद्योगहरुमा पनि अत्यधिक श्रम गराइने, समयमा आहार नदिइने र घाउचोट भए पनि उपचार नपाउने अवस्था छ । कार्यक्रममा उनले झण्डै दिनभर प्रस्तुति तथा छलफल चलाएका थिए ।
घोडा तथा खच्चडमा अत्यधिक भार, लामो दूरी हिँडाउनु र उचित खानपान नपाउनु मुख्य समस्या रहेको बताइन्छ । विशेषज्ञहरूका अनुसार, यी जनावरले पनि शान्त, स्वस्थ र सम्मानजनक जीवन बिताउने अधिकार पाउनुपर्छ भन्ने चेतना विकास अब अपरिहार्य बनेको छ ।
