दिपावली तथा न्हुँद ११४६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान 


कार्तिक ३, २०८२, सोमबार | दिउँसो ०१:१४ बजे | 135


दिपावली तथा न्हुँद ११४६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान 

भक्तपुर, ३ कार्तिक । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा दिपावली २०८२ र न्हुँद ११४६ को उपलक्ष्यमा शुभकामना आदान प्रदान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा सोमबार ख्वप फुटसल लिवालीमा सम्पन्न भयो ।
    कार्यक्रममा अतिथि सल्लाहकार रामकृष्ण प्रजापतिले न्हुँद ११४६ को शुभकामना दिँदै शंखधर साख्वाले जनतालाई ऋण मोचन गरी नेपाल सम्बत चलाएको बताउँदै नेपाल सम्बत चन्द्रमास अनुसार तिथिमिति तयार गर्ने भएकोले सबैको एक रुपता हुने गरी चाँडपर्व मनाउनुपर्नेमा सूर्यमासको विक्रम सम्बतले अलमलाएको बताउनुभयो साथै सहकारी पनि गरिब उन्मुलनको लागि एक अर्कालाई सहयोग गरि सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले सदस्यहरुको बचत संकलन गरी सदस्यहरुको आर्थिक समस्या समाधान गर्न ऋण दिने कार्य गर्ने बताउँदै चाडपर्वलाई रचनात्मक तरिकाले मनाउने क्रममा मैत्रीपूर्ण फुटसल आयोजना गरेर मनाउनु प्रगतिशील कार्य भएको बताउँदै खेलकुदले शरीरले स्वास्थ्य बनाउने भएकोले यसले विकृति र विसंगतिबाट टाढा रही खानपानमा ध्यान दिन साथै जाँडरक्सी, जुवातासबाट टाढा रहन पर्ने बताउनुभयो ।
    कार्यक्रममा सभापति कृष्णराम कासिछ्वाले दिपावली र न्हुँदको शुभकामना दिँदै सम्पूर्ण सदस्यहरु र नेपालीहरुको सुस्वास्थ्य, दिर्घायु र मंगलमय शुभकामना दिनुभयो । कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापति, न्हुछेभक्त फोंजु, र सिद्धान्त प्रजापतिले पनि बोल्नु भएको थियो । 
 

Comments