प्रवक्ता लिम्वूसहित पक्राउ परेका सवैजना रिहा


असोज २६, २०८२, आइतबार | राति १०:२३ बजे | 125


प्रवक्ता लिम्वूसहित पक्राउ परेका सवैजना रिहा

काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकलाई जेनजी चोक घोषणा गर्न आइतबार गरिएको कार्यक्रममा प्रहरीबाट पक्राउ परेका सवैजना रिहा भएका छन् । पक्राउ परेका आयोजक जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि)का प्रवक्ता अविन लिम्वूसहित १३ जना रिहा भएका हुन् । 
कोटेश्वर तीनकुने क्षेत्रको चोकलाई जेन्जी चोक घोषणा गर्न कार्यक्रम आयोजना गरिएको थियो । जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) ले सार्वजनिक कार्यक्रम गरी चोकको नाम जेन्जी चोक घोषणा गर्ने कार्यक्रम रहेको थियो । तर प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै राख्न खोजिएको साइनबोर्ड पनि हटाइदिएको थियो । 
मलगायत पक्राउ परेका सवै साथीहरु रिहा भएका छन्, प्रवक्ता लिम्वूले राति टेलिफोनमा भने । रगत बग्यो देशका लागि, अव रक्षा हाम्रो जिम्मेबारी भन्ने नाराका साथ चोक घोषणा गर्ने कार्यक्रम तय गरिएको थियो । घोषणासँंगै चोकमा एउटा साइनबोर्ड पनि ठड्याइएको थियो । साइनबोर्ड तीनकुने जस्तै त्रिकोणात्मक आकारमा थियो । त्यसमा सवैभन्दा माथि नेपालको झण्डा राखिएको छ । त्यसको मुनि जेन्जी चोक (तीनकुने) लेखिएको छ । त्यसको मुनि जेन्जी आन्दोलनको क्रममा घाइते आन्दोनकारीको रगताम्य जुता (जुन आन्दोलनको क्रममा भाइरल भएको थियो) को फोटो रहेको छ । त्यसको मुनि रगत बग्यो देशका लागि, अब रक्षा हाम्रो जिम्मेबारी लेखिएको छ । त्यसको मुनि भने सानो साइजमा जेन्जी २.० (सवै पुस्ताको प्रतिनिधि) भनेर लेखिएको छ । साथै एउटा चोक घोषणा गर्ने आयोजकमध्येको एकजनाको मोवाइल नम्वर पनि लेखिएको छ ।
 

Comments