सूचक सम्मान कार्तिक १५ मा 


असोज २४, २०८२, शुक्रबार | साँझ ०४:३४ बजे | 355


सूचक सम्मान कार्तिक १५ मा 

 काठमाडौँ, असोज । नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र समाजसेवामा योगदान पुर्‍याउने विभिन्न व्यक्तिलाई सूचक प्रकाशनले आउँदो कार्तिक १५ मा सम्मान गर्ने भएको छ । सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल `दीपसागर´ का  अनुसार विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका १२ व्यक्तिहरूलाई आगामी कार्तिक १५ गते विशेष समारोह आयोजना गरेर सम्मान गर्न लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, संस्कृतिविद् एवं वरिष्ठ कवि प्रा.डा. विष्णुबिभु घिमिरेको प्रमुख आतिथ्यमा हुने सम्मान समारोहमा उदयपुरका शैक्षिक अभियन्ता लालबहादुर चौधरी ( केदारनाथ–लीलादेवी शिक्षा सम्मान),   काभ्रेपलान्चोककी साहित्यकार रुबि सत्याल  (केदारनाथ–लीलादेवी साहित्य सम्मान), काठमाडौँका  साहित्यकार बिमल अर्याल (सूचक–कृष्णबहादुर विशिष्ट साहित्य सम्मान) रहेका छन् ।  यस्तै महोत्तरीका साहित्यकार मणिराज सिंह ( सूचक विशिष्ट साहित्य सम्मान), काठमाडौँका साहित्यिक अभियन्ता निबन्ध आचार्य (सूचक साहित्यिक पत्रकारिता सम्मान), पाँचथरकी साहित्यकार विमला अधिकारी ‘विमला’(सूचक–पद्मादेवी साहित्य सम्मान), इटहरीका साहित्यकार जाकिर हुसैन (जैकी मौजाहु) (सूचक साहित्य सम्मान) ललितपुरका साहित्यकार ऋषभदेव घिमिरे (सूचक काव्य सम्मान), काठमाडौँकी साहित्यकार इन्दिरा  सापकोटा (सूचक साधना सम्मान) रहेकी छन् । यसैगरी सामाजिक उत्तरदायित्व र सेवामा योगदानको कदर स्वरूप यस वर्षको (सूचक स्वयंसेवी सेवा सम्मान) काठमाडौँका समाजसेवी अनिल महर्जनलाई प्रदान गरिनेछ । यस्तै भेटुवालका अनुसार भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार काठमाडौँका बौद्ध लेखक प्रा. डा. त्रिरत्न मानन्धर र नेपाल भाषा एवं बौद्ध साहित्यकार लोचनतारा तुलाधरलाई प्रदान गरिने भएको छ ।  सूचक प्रकाशनले विगत १५ वर्षदेखि गर्दै आएको सम्मान कार्यक्रमको उद्देश्य समाजमा सकारात्मक प्रभाव पार्ने र प्रेरणादायी योगदान गर्ने व्यक्तित्वलाई उजागर गर्नु रहेकोे बताइएको छ । सामाजिक योगदानकर्ताको पहिचान मात्र होइन, नयाँ पुस्तालाई प्रेरणा दिन समेत सृजनात्मक अभियान चलाइरहेको सूचकले बताएको छ । सूचक प्रकाशनले विगतमा पनि साहित्य, समाजसेवा, शिक्षा, अध्यात्म र संस्कृतिसम्बन्धी विविध कार्यक्रममार्फत दर्जनौँ व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ ।

Comments