डा. इन्दुलको व्यक्तिवृत्त


असोज २२, २०८२, बुधबार | राति ०७:१५ बजे | 110


डा. इन्दुलको व्यक्तिवृत्त

मोहन दुवाल
साहित्यकार तथा जनमतका प्रधानसम्पादक
८४ वर्ष पुगिसकेर पनि साहित्यिक अभियान र सिर्जनामा, धर्मगोष्ठी र भजन मण्डलीमा, सामाजिक कार्य र कृयामा उहाँ पुगिरहनु हुन्छ अर्थात् यात्रामा नथाकिकन कुदिरहनु हुन्छ । जीवनका ऊर्जामय क्षणमा पनि सरकारी सेवामा लागेर जिल्ला विकास अधिकारीसम्म भएर आफूलाई निःस्वार्थ सेवकका रुपमा चिनाइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ उहाँ । भाषा, भाव र ओजमा फूर्ति छँर्दै सधैं मित्रजनहरुसँग स्फूर्तिले कुद्न उहाँ निपुण हुनुहुन्छ । टाढैबाट देख्दा र नजिकबाट हेर्दा पनि स्फूर्ति नघटेका मित्र हुनुहुन्छ डा. इन्दुल के. सी. ।
१६ वर्ष नाघिसक्यो उहाँसँग मेरो परिचय र सम्पर्क भएको । २०६६ मा मातृभूमि साहित्य समाजले मलाई हेटौंडामा सम्मान गर्दा परशु प्रधानदाईको रोहबरमा उहाँसँग मेरो चिनाजानी भएको हो । पछि उहाँ आफ्नो बर्कत् मनमा राखेर मलाई भेट्न र मसँग सम्पर्क राख्न जनमत चौतारीमा आउनुभएको पनि करिव १०औं वर्ष नाघिसकेको छ । उहाँ आउनुहुँदा, उहाँसँग–सँगै हिंड्न पाउँदा र उहाँसँग बसिबियाँलो गरिरहँदा कहिल्यै दिक्क र वाक्क भएर उहाँप्रति मेरो वितृष्णा रहेको मलाई थाहा छैन ।
कुरामा फूर्तिलोपन मात्र होइन उहाँसँग मेरो हाँस्यमिश्रित सुस्वादपूर्ण कुराकानीमा भुल्न पाइन्थ्यो । जनमतका मित्र उहाँमात्र बन्नुभएन, उहाँका मित्रहरु धेरैजनासँग पनि मित्रता गाँस्न लगाउनुभयो । चिनेदेखि भेटेदेखिको उहाँसँग मित्रतामा मेरो कहिल्यै पनि खल्लोपन आएन ।
त्यसैले उहाँ मेरो मनभित्रको मित्र हुन सफल हुनुभयो । मेरी श्रीमती भारती पनि सम्झने गर्छन्; मेरो बुबा उमेरका इन्दुलकाका अगाडि आउनुहुँदा पनि उहाँसँग बसिरहूँ जस्तो, सँगै हिँडीरहूँजस्तो लाग्छ भन्ने गर्छन् । तेजेश्वरबाबु ग्वंगः को निवासघर सूर्यविनायकमा भारती र मसँग उहाँ पुग्नुभएको थियो । आत्मीयता जोड्न, साट्न निकै सिपालु व्यक्ति इन्दुलले तेजेश्वरबाबु ग्वंगसँग पनि पुरानो मित्रतालाई स्मरण गर्नुहुँदै नयाँ खालको सम्बन्ध जोड्नुभयो । तेजेश्वरदाई पनि उहाँसँग पुनः सम्बन्ध जोड्न पाउँदा खुसी हुनुभयो । यसैगरी उहाँसँग भएर छोरी सिर्जना, भारती र म थानकोट पुगेको सम्झना आइरहन्छ । २०७९ सालमा ’जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान’ बाट सम्मानित हुनुहुने डा. गङ्गाप्रसाद अकेला (धनुषा) का साहित्यकार जनमतको कार्यक्रममा सम्मान लिन बनेपामा पुग्न नसकेकोले थानकोटमा नै पुगेर गङ्गाजीलाई सम्मान दिन गएको र उक्त सम्मान कार्यक्रम थानकोटको त्रिभुवन पार्कमा आयोजना भएको थियो । उक्त कार्यक्रममा उहाँ विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । त्यही दिन जावलाखेलस्थित निवासघरमा हाँस्यव्यङ्ग्य साहित्यका विशिष्ट लेखक रामकुमार पाँडेलाई भेट्न हामी पुगेका थियौं । यसरी त्यस दिन उहाँसँगसँगै साहित्यकारहरुको घर–घरमा पुगेर बिताइएको दिन सधैं सम्झना हुने दिन भयो ।
विशिष्ट निबन्धकार तेजेश्वरबाबु ग्वंगः सँग सूर्यविनायक निवासघरमा, अनुवादक तथा मैथलीभाषाका विशिष्ट लेखक डा. गङ्गाप्रसाद अकेलासँग थानकोट त्रिभुवन पार्कमा र हास्यव्यङ्ग्य साहित्यका चर्चित लेखक रामकुमार पाँडेसँग जावलाखेलको निवासघरमा उहाँहरुसँग भेटघाट गर्न पाउँदाका क्षणहरु अविस्मरणीय छन् । त्यही दिन लेखकहरुसँग घेटघाट गर्दागर्दा साँझ परेको पनि याद भएन । त्यस दिन फर्किदा जावलाखेलको झिलिमिलिमा रमाउँदै भक्तपुरमा इन्दुलजीलाई पुयाएर हामी बनेपामा पुग्दा रातको ९ः०० बजिसकेर पनि हामीलाई न्यास्रो लागेन । तर उल्टो सम्झिरह्यौं त्यो दिन निकै महत्वको रह्यो । कारण दिनभरजसो जनमतको साहित्यिक यात्रामा डा. इन्दुल के.सी.लाई जनमतको सहयात्री बनाउन पाइयो । तेजेश्वरदाईसँग मन सासाट गर्न पाइयो । डा. गङ्गाप्रसाद अकेलालाई जनमतको सम्मानपत्र बुझाउने कार्यक्रममा आत्मियता राखेर फूलको माला अर्पण गर्ने अवसर जुर्यो । हाँस्यव्यङ्ग्य क्षेत्रका वरिष्ठ हाँस्यव्यङ्ग्यकार रामकुमार पाँडेको निवासघरमा पुगेर परिवारजनसँग नै मन साटासाट गर्न पाउँदाका क्षणहरु बिर्सिनसक्नु छ । फर्किदा भक्तपुरमा खाना खाने व्यवस्था गर्नुभएर डा. इन्दुलले माया–पीर्तिमा गाढापन थप्नुभयो ।
थुप्रै खालका यस्तै भेटघाटबाट उहाँसँग मेरो सम्पर्क गाढा भएको छ । थुप्रै पटक उहाँ जनमत चौतारीमा पुग्नुभएको छ । भर्खरै मात्र दुई हप्ताजतिमात्र भयो उहाँ मकहाँ पुग्नुभएको । डा. इन्दुल के.सी. को सप्रेम उपहारका रुपमा ’इन्दुलका फूलका फिलिङ्गा’ पुस्तक उपहारस्वरुप प्रदान गर्नुभएको । मैले पनि केही पुस्तकहरु अपहार प्रदान गरियो । ’वाह ! जिन्दगी’ सिर्जना दुवालको सम्पादनमा प्रकाशित विविध मासिकको वार्षिक ग्राहक बन्नुभयो र ’अस्मिता हाम्रो पारिजात विशेषाङ्क ः भाग १ पत्रिका एकप्रति किन्नुभयो । यसरी मित्रतामा गाढापन थपिदै गएका मित्र इन्दुललाई ‘इन्दुलका फूलका फिलिङ्गा’ मार्फत् तल संक्षेपमा चर्चा गर्न मन लागेर चर्चा गर्दैछु ।
००


 

Comments