थुसाचामा बाढीले पुल छोयोः प्रहरी परिचालित
असोज १८, २०८२, शनिबार | साँझ ०६:२० बजे | 445
भक्तपुर । अविरल वर्षासँंगै भक्तपुरको थुसाचामा वाढीले पुल छोएको छ । बाढी विस्तारै वढ्दै पुलमाथि पुग्ने अवस्थामा पुगेको छ ।
बाढीले उग्र रुप लिन थालेपछि प्रहरीको एक भ्यान यहाँं पुगेको छ । प्रहरीले अहिले वरपरका मानिसलाई सचेत रहन आग्रह गरिरहेको छ । प्रहरीले पुल वरिपरिका वस्तीका मानिसलाई हटाउने कार्य गरिरहेको छ । साथै पुल वरपर नबस्न पनि अनुरोध गरिरहेको छ ।
थुसाचाका दुई वटा पुलमध्ये जगातीतर्फको पुलमा वाढी वढेको हो । च्याम्हासिंहतिरको पुलमा पनि बाढी वढ्दो छ । तर पुल छुन पाएको छैन ।
यसैवीच बाढीले जिल्लाका ठाउँंठाउँंमा वितण्डा मच्चाउन थालेको छ । बाढी पहिरोबाट जनतालाई जोगाउन जिल्ला प्रशाशन कार्यालय भक्तपुर लागिपरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले उच्च शतर्कताका साथ काम गरिरहेको जनाए । शनिबार एउटा कार्यक्रममा अतिथिको रुपमा बोल्ने क्रममा उनले निरन्तर वर्षाको कारण आफु कार्यक्रमबाट छिटै जानुपरेको भन्दै छिटै बोलेर गए । सुरक्षा संयन्त्रले सम्भावित क्षेत्रहरुमा उच्च शतर्कता अपनाइएको उनले सुनाए । साथै सवैलाई सुरक्षित रहन पनि उनले जिल्लाबासीसँंग अनुरोध गरे ।
