राजेन्द्र बानियाः आवाजबाट स्थापित व्यक्तित्व
असोज १७, २०८२, शुक्रबार | दिउँसो १२:३४ बजे | 250
विपना बानिया
’अहिलेसम्म कसैले नसोध्नु भएको प्रश्न सोध्नुभयो।’ तपाईंको नाम राजेन्द्र रहनमा कुनै खास कारण अथवा काहानी छ भनी मैले सोध्दा उहाँको जवाफ थियो। नवरणका हिसाबले टोपबहादुर नाम भएतापनि पछि विद्यालयमा दाजुभाइको एउटै ना म रहने भएकाले आफ्नो जस्तै व्यवहार भएका छिमेकी राजेन्द्रको नाम सँगै उहाँको नाम राजेन्द्र रहन गयो। गोरखा जिल्लाको मिरकोट–५ मा जन्मनुभएका राजेन्द्र बानियाँ नेपाली सञ्चार जगत्को एक सशक्त र प्रेरणादायी नाम हो। उहाँको जीवन यात्रा सङ्घर्ष, धैर्यता र निरन्तरताको उत्कृष्ट उदाहरण हो, जसले पत्रकारितालाई नजिकबाट अनुभूत गर्न चाहनेहरूका लागि नयाँ दृष्टिकोण प्रदान गर्दछ। श्री बानियाँले प्रारम्भिक शिक्षा मिरकोट निम्न माध्यमिक विद्यालयबाट हासिल गर्नुभयो। कक्षा ७ सम्म अध्ययन गरी अमर ज्योति जबल माध्यमिक विद्यालय, लुइटेलबाट एस.एल.सी उत्तीर्ण गर्नुभएको हो। बाल्यकालदेखि नै डाक्टर बन्ने चाहना राख्नुभएका उहाँ सोही सपना पूरा गर्नका लागि काठमाडौँ आइपुग्नुभयो र अमरित साइन्स क्याम्पसमा विज्ञान विषयमा उच्च माध्यमिक तह अध्ययन सुरु गर्नुभयो। तर समयको प्रवाहले उहाँको योजना फेरियो। अध्ययनकालमै विभिन्न कारणले पढाइमा ध्यान दिन नसक्दा डाक्टर बन्ने सपना अधुरो रहन गयो। त्यसपछि उहाँको चासो सामाजिक गतिविधि र राजनीतिकतर्फ मोडियो।
सञ्चार क्षेत्रमा प्रवेश
राजेन्द्र बानियाँले पहिलोपटक पृथ्वी जयन्ती राष्ट्रिय समता दिवसका अवसरमा आयोजित कार्यक्रमको मञ्चमा उभिएर मन्तव्य व्यक्त गर्नुभयो। त्यही क्षण उहाँलाई आत्मविश्वासको नयाँ अनुभूति भयो—“म पनि बोल्न सक्छु“ भन्ने विश्वासले उहाँलाई सञ्चारको बाटोमा डोर्यायो। उहाँको आरम्भिक संघर्ष प्रेरणादायी छ। बिहान स्वयं कलेज जानु, दिउँसो बनेपामा शिक्षकको भूमिका निर्वाह गर्नु, बेलुका बागबजारमा फर्केर आफ्नै अध्ययनमा लाग्नु—यही व्यस्त दिनचर्या उहाँका लागि सामान्य थियो। कहिलेकाहीँ थकानले खाना नपकाई भोकै सुत्नु पर्ने अवस्थासमेत आइपथ्र्यो।
व्यावसायिक संघर्ष र अवसर
विसं २०५८ भदौ महिनामा हिमालयन टाइम्स र भ्याली एफएममा कर्मचारी आवश्यक भएको सूचना पाएपछि उहाँले आवेदन दिनुभयो। लिखित परीक्षामा प्रथम भए पनि अडियो परीक्षणमा अयोग्य ठहरिनुभयो। केही समयपछि “तपाईंको स्वर रेडियोमैत्री छैन” भन्ने कारण देखाउँदै हटाइयो। त्यो क्षणले उहाँलाई आत्मगौरवमा चोट पुर्यायो। यद्यपि, उहाँ विचलित हुनुभएन। आँखा रसाइरहँदा पनि हप्तामा एक कार्यक्रम गर्न पाउने अवसर लिएर अघि बढ्नुभयो। त्यसपछि दुई वर्षभित्र सातवटा कार्यक्रम (टलक शो) सञ्चालन गर्न सफल भइ कार्यक्रम सुन्नेहरूबाट राम्रो प्रतिक्रिया पाउनुभयो। स्वर नै उहाँको पहिचान बन्न थाल्यो। त्यसपछि आम सञ्चारको औपचारिक अध्ययन आवश्यक ठानी स्नातक र स्नातकोत्तर तहसम्म मिडिया टेक्नोलोजी विषयमा अध्ययन गर्नुभयो। साथै, त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार विषयमा एम.फिल पनि गर्नुभयो।
सञ्चारको स्थायी यात्रामा
वि.सं. २०४८ सालमा रेडियोबाट सञ्चार यात्रा आरम्भ गर्नुभएका बानियाँले रेडियो नेपाल, सगरमाथा टेलिभिजन, एबीपी न्यूज, नेपाली बहसलगायत विभिन्न प्रतिष्ठित सञ्चार माध्यममा काम गर्नुभयो। हाल उहाँ हिमालय टेलिभिजनमा कार्यरत हुनुहुन्छ। रेडियो तथा टेलिभिजन दुवै माध्यममा उहाँको कार्यक्रम प्रस्तुति, विश्लेषणात्मक शैली, र स्पष्ट विचार आजको पुस्ताका लागि अनुकरणीय बनेका छन्।
जीवन दर्शन र सफलता सूत्र
राजेन्द्र बानियाँ भन्नुहुन्छ “सफलता प्राप्तिका लागि धैर्य आवश्यक छ। असफलताले नहतोत्साहित बनोस्, सफलता पाएपछि नमातिऊँ, निरन्तर प्रयास गर्दै अघि बढ्नुपर्छ।“ उहाँका अनुसार पत्रकार बन्ने चाहना भएकाहरूले निम्न विशेषताहरू आत्मसात् गर्नुपर्छ।कठिनाइका समयमा आत्मबल कायम राख्ने,असफलतालाई सिकाइको माध्यम बनाउने, क्षणिक सफलता वा आलोचनाबाट विचलित नहुने।उहाँद्वारा सञ्चालित हिमालय युट्युब च्यानल हाल १५ लाखभन्दा बढी सदस्यले सदस्यता लिएको लोकप्रिय माध्यम हो। कार्यक्रमहरूमा प्राप्त दर्शकको साथसाथै आर्थिक दृष्टिले पनि सफल भएको जानकारी दिनुभएको छ। राजेन्द्र बानियाँका अनुसार विगत र वर्तमान पत्रकारिता एकदम फरक छन्। पहिले सञ्चार माध्यम सीमित थिए, सूचनाको पहुँच पनि त्यत्तिकै सीमित थियो। तर आज प्रविधिको तीव्र विकाससँगै गलत सूचना, भ्रामक जानकारी, र अराजक सञ्चारको समस्या बढ्दो छ।उहाँले आजको पुस्तालाई सन्देश दिँदै भन्नुभयो“गतिमा मात्र केन्द्रित नभई, धैर्य सिक्नुपर्छ। समयमै गन्तव्यमा पुग्नको लागि तीव्रता मात्र होइन, दिशा पनि आवश्यक हुन्छ।“
राजेन्द्र बानियाँ आजका सफल सञ्चारकर्मी मात्र होइनन्, उहाँ एक प्रेरणादायी व्यक्तित्व पनि हुनुहुन्छ। उहाँको जीवनीले हामीलाई सिकाउँछ की जीवनमा चाहे जति कठिनाइ आए पनि दृढ निश्चय, निरन्तरता र धैर्यले असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ।
