देशभर विपद् पीडितको साथमा GENZ 2.0 र Animal Nepal: सहायताको नयाँ मिसाल
असोज १५, २०८२, बुधबार | विहान ०८:५९ बजे | 165
काठमाडौं, असोज १५ – हालै देशभर विभिन्न दुर्घटनाबाट घाइते भएका करिब १७ जनालाई GENZ 2.0 र Animal Nepal को संयुक्त सहकार्यमा नगद तथा राहत सामग्री वितरण गरिएको छ। यो पहलले काठमाडौं केन्द्रित मात्र नभई देशव्यापी सहायताको नयाँ अभ्यासको सुरुवात भएको देखिएको छ।
Animal Nepal का अध्यक्ष प्रमदा शाहका अनुसार, GENZ 2.0 का प्रतिनिधिहरूसँग मिलेर काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरू र उनीहरूको परिवारलाई सशक्त सहयोग पुर्याइएको हो। यो सहयोगमा नगद रकमसँगै खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक सामग्रीहरू वितरण गरिएका छन्।
देशका तीन प्रमुख प्रदेशहरूमा पनि GENZ 2.0 का प्रतिनिधिहरू सक्रिय रूपमा यो सहायताको अभियानमा जुटेका छन्। गण्डकी प्रदेशमा बिजय पराजुली, कोशीमा निता शाक्य र मधेस प्रदेशमा डा. राजीव झा नेतृत्वमा 'सहर बढ्ने' अभियान सञ्चालन गरिएको छ। उनीहरूले स्थानीय घाइते तथा पीडित परिवारहरूसम्म प्रत्यक्ष पुगेर आवश्यक सहयोग प्रदान गरिरहेका छन्।
अध्यक्ष शाहले भने, “राजधानीमै सीमित नभई देशभर सहकार्य गर्न पाउँदा हामीलाई गर्व लागिरहेको छ। यो सहकार्य एउटा उदाहरण बन्न सक्दछ कि जहाँ युवा पुस्ताले सामाजिक उत्तरदायित्व कति प्रभावकारी ढंगले बहन गर्न सक्छ।”
यस सहयोग अभियानले विपद्का समयमा युवाहरूको सक्रियता, सहानुभूति र उत्तरदायित्वप्रति झनै विश्वास दिलाएको छ। GENZ 2.0 को यो सक्रियता अन्य युवाहरूका लागि पनि प्रेरणादायी बन्न सक्छ।
“जहाँ आवश्यकता, त्यहीं साथ — GENZ 2.0 सधैं अगाडि।”
