भक्तपुरमा सकियो व्यवसायिक सुरक्षा चुनौती विषयक अन्तरक्रिया
असोज ९, २०८२, बिहीबार | राति ०८:०९ बजे | 155
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा वर्तमान अवस्थामा व्यवसायिक सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य रहेको बताए । सबै नागरिक सार्वजनिक सम्पत्तिको संरक्षणमा जिम्मेवार नभएसम्म देशको विकास हुन नसक्ने उनको भनाइ छ । पछिल्लो समयमा घटेको घटनाक्रमपछि सबै नागरिकमा डर, त्रास सिर्जना भएको भन्दै मनोबल बढाउन सबैले आआफ्नो ठाउँबाट सकेको पहल गर्न आवश्यक रहेको बताए । उनले उद्योगी व्यवसायीहरुलाई निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न अनुरोध गर्दै सुरक्षित रुपमा उद्योग, व्यवसाय सञ्चालनको लागि सुरक्षा निकायबाट पर्याप्त सुरक्षाको ग्यारेन्टी रहने उनले स्पष्ट पारे ।
कार्यक्रममा संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले पछिल्लो समय देशमा उत्पन्न विषम परिस्थितिसँगै उद्योगी व्यवसायीहरुले भयरहित एवं सुरक्षित तरिकाले आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माणका लागि जिल्लास्थित सुरक्षासँग सम्बन्धित निकायका प्रमुखहरुसँग बसेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । विनाशकारी भूकम्प, कोभिड महामारी, आर्थिक मन्दीका कारण मार खेपिसकेका उद्योगी व्यवसायीहरु पछिल्लो समय व्यवसायिक सुरक्षा चुनौतीको रुपमा सामना गरिरहेको उनको भनाइ छ ।
संघका निवर्तमान अध्यक्ष शिवप्रसाद मानन्धरले पछिल्लो समयमा देशमा घटेको घटनाले अर्थतन्त्रमा ठूलो प्रभाव परेको बताउँदै निजी क्षेत्रको मनोबल उकास्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत सुवप्रसाद रिजाल, संघका महासचिव नविन प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा रणशेर गण सूर्यविनायकका गणपति निरजप्रताप जबरा, जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, सशस्त्र प्रहरी बल नं. २२ हेक्वाका सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतलगायत जिल्लाका विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरु उपस्थित रहेका थिए ।
