डा. इन्दुल र ‘फूलका फिलिङ्गा’


असोज ९, २०८२, बिहीबार | साँझ ०५:०८ बजे | 305


डा. इन्दुल र ‘फूलका फिलिङ्गा’

मोहन दुवाल
साहित्यकार तथा जनमतका प्रधानसम्पादक
८४ वर्ष पुगिसकेर पनि साहित्यिक ड्डअभियान र सिर्जनामा, धर्मगोष्ठी र भजन मण्डलीमा, सामाजिक कार्य र कृयामा उहाँ पुगिरहनु हुन्छ अर्थात् यात्रामा नथाकिकन कुदिरहनु हुन्छ । जीवनका ऊर्जामय क्षणमा पनि सरकारी सेवामा लागेर जिल्ला विकास अधिकारीसम्म भएर आफूलाई निःस्वार्थ सेवकका रुपमा चिनाइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ उहाँ । भाषा, भाव र ओजमा फूर्ति छँर्दै सधैं मित्रजनहरुसँग स्फूर्तिले कुद्न उहाँ निपुण हुनुहुन्छ । टाढैबाट देख्दा र नजिकबाट हेर्दा पनि स्फूर्ति नघटेका मित्र हुनुहुन्छ डा. इन्दुल के. सी. ।
‘इन्दुलका फूलका फिलिङ्गा’ २०८२ साउनमा प्रकाशित पछिल्लो कवितासङ्ग्रह हो । प्रा.डा. कृष्णप्रसाद दाहालको विस्तृत समीक्षात्मक लेख ‘कवि इन्दुलका फूलका फिलिङ्गामा व्यङ्ग्यात्मक चेत्’ मा समालोचक दाहालले उहाँबारे लेख्नुभएको छ – “उनी आफैंमा परिचयको स्मारक भइसकेका छन् । अनेकांै आयाममा विभक्त भई समाज र राष्ट्रको हितमा थुप्रै कार्य गरिसकेका छन् र गर्दै छन् पनि । साहित्य, कला, संस्कृति र पत्रकारिताबाट उनी विभूषित छन् । न्याय, प्रशासन र राजनीतिमा पनि त्यत्तिकै प्रखर र प्रख्यात छन् । यिनी श्रीकृष्ण चन्दन हुन् । चनौटोमा नघोटेसम्म यिनको व्यक्तित्वको सुवास थाहा पाउन सकिन्न । जसले उनलाई थाहा पाउने गरेको छ, उसले यो कुरा बुझेको छ । सरल, शान्त र सौम्य भाव इन्दुलका गुण हुन् । कपाली तमसुकमा लेखेजस्तो साक्षी किनाराका सदर भनी यिनको परिचय दिंदा सही–छाप गरिरहनु पर्दैन । यिनी आफैंमा सही–छाप हुन् ।” मलाई पनि कृष्णजीकै भूमिकामा सहीछाप राख्दै इन्दुलजीलाई बुझाउन मन लाग्यो ।
इन्दुलजी हास्यव्यङग्यमा कविता लेख्न सिपालु हुनुहुन्छ । उहाँ कुराकानी गर्नमा पनि हास्यरस मिलाउन सफल देखिनुहुन्छ । यस कवितासङ्ग्रहमा २८ वटा नेपाली, २ वटा नेपालभाषा र १ वटा अंग्रेजीभाषाका कविता प्रकाशित छन् । उहाँ आफ्नो बुढ्यौलीको निरीक्षण गर्दै कवितामा आफ्नो बुढो अनुहार यसरी प्रष्ट्याउनु हुन्छ ः– 
ऐना अगाडि आफू उभिएर हेर्दा चाल पाएँ
आफू डाँडापारीको घाम भइसकेको आभास पाएँ ।
दाँत झरेको, छाला चाउरिएको, निधार खुम्चेको देखें 
फुस्रो अनुहार, होचो कदको मेरो प्रतिबिम्ब नियालें ।
नढाँटीकन आफ्नो कुरा स्पष्ट राख्ने खुबी उहाँको कुराकानीमा मात्र होइन कवितामा पनि छरपष्टं छन् भने कुरा ‘मेरो जीवनी’ ३० सौं कवितामा छाम्न पाएँ । यसैगरी यस कवितासङ्ग्रहमा प्रकाशित कविताहरुमा देश भत्किरहेको, अनाचार–व्यभिचारमा भासिंदै गएको दुःखमा व्यङ्ग्य गर्दै ‘नेपालको तस्वीर’ कवितामा उहाँ लेख्नुहुन्छ ः– 
नेपालीहरुको यो देशमा के छैन ? सबथोक छ ।
अनैतिक, अत्याचार, व्यभिचार सर्वत्र व्यापक छ । 
उहाँ कविताको अगाडि लेख्नुहुन्छ ः–
अख्तियार दुरुपयोग छ, न्यायालयमै अन्याय छ । 
विचौलियाहरुको बिगबिगी छ, हरेक कुरामा मिसावट छ ।
यसैगरी अर्को कविता ‘विविध प्रस्तुति’ मा लेख्नुहुन्छ ः– 
राजनीतिक नेताहरु आकर्षक भाषण र गालीगलौजमा 
सोझासिधा नेपाली श्रोताहरु अक्क न बक्क रनभुल्लमा 
सबैजना आफूलाई प्रस्तुत गर्छन् आ–आफ्नै ढाँचामा ।
यसरी कवितामा देशको बेथितिमा मात्र होइन उनी जनमनको आफ्नो इच्छामा सबैथोक खुल्छ भन्दै कवितामा यसरी लेख्ने गर्नुहुन्छ ः–
कुवाको भ्यागुतो बन्ने ÷ या नदीको माछो बन्ने ÷ जे बन्ने इच्छा छ ÷ तिम्रो आफ्नै जाँगरमा । 
प्रत्येकजसो कविताहरु बुझिने भाषामा कुराकानी गरेजस्तै कविता लेख्नसक्ने खुवीका लागि डा. इन्दुल के.सी.लाई जीवनको उत्तराद्र्धमा पनि गतिशीलता खोज्दै सिर्जनात्मक यात्रामा मन रमाउन लगाउनु भई प्रगतिपथमा कुदिरहन सक्नुभएकोमा विशेष बधाई दिन चाहन्छु ।
 

Comments