पत्रकारिताको मूलबाटोमा २१ वर्षः बिनोद न्यौपानेको अनुभवी पाइला


असोज ८, २०८२, बुधबार | विहान ०८:२८ बजे | 110


पत्रकारिताको मूलबाटोमा २१ वर्षः बिनोद न्यौपानेको अनुभवी पाइला

अनिशा श्रेष्ठ
प्रारम्भिक जीवन र पारिवारिक परिवेश
बिनोद कुमार न्यौपानेको जन्म वि.सं. २०४१ साल कार्तिक २६ गते काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा भएको हो। उहाँका पिता हरिशरण न्यौपाने र माता गोमा न्यौपाने हुन्। उहाँ अहिले बनेपा नगरपालिकामा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ, जहाँ उहाँ संयुक्त परिवारमा बस्नुहुन्छ। करिब २० जनाको यो परिवारमा आमाबुबादेखि पत्नी, छोराछोरी, दाजुभाइ र भाउजुसम्म छन्। यस्तो मिलेर बस्ने संस्कार र सामूहिक जिम्मेवारीले उहाँको व्यक्तित्वमा पारिवारिक मूल्य, सहकार्य, सहनशीलता र कर्तव्यबोधको गहिरो प्रभाव पारेको देखिन्छ। पारिवारिक पृष्ठभूमिबाटै अनुशासन र सेवा संस्कार सिक्दै हुर्कनुभएका न्यौपानेले विज्ञान विषयमा प्लस टु अध्ययन गर्नुभयो। तर, उहाँको वास्तविक झुकाव भने समाजको मुटु छुने काम—पत्रकारितातर्फ थियो। यही बुझाइका कारण उहाँले स्नातक तहमा पत्रकारिता विषय रोज्नु भयो र पछि सोही विषयमा स्नातकोत्तर तहको पढाइ समेत सफलता साथ पूरा गर्नुभयो। यसले उहाँको अकादमिक स्पष्टता र भविष्यप्रतिको दूरदर्शी सोच देखाउँछ।
पत्रकारितामा प्रवेश र प्रारम्भिक संघर्ष
बिनोद न्यौपानेको पत्रकारिता यात्रा वि.सं. २०६१ सालमा सुरु भयो। शुरुवाती दिनहरूमा स्थानीय पत्रपत्रिका र छापाखानामा कार्य गर्दै उहाँले पत्रकारिताको आधारभूत अभ्यास गर्नुभयो। समाचार संकलन, लेखन, सम्पादन र प्रकाशन जस्ता कार्यहरूमा सक्रिय सहभागी बनिँदै उहाँले आफूलाई पत्रकारिताको व्यावहारिक पक्षमा घुलमिल गर्न थाल्नुभयो। सुरुमा सवारी साधनको अभाव, सीमित पारिश्रमिक, र पारिवारिक जिम्मेवारीले उहाँलाई कठिन अवस्थामा पुर्यायो। तर पनि उहाँले मेलम्ची, काठमाडौं, बनेपा जस्ता ठाउँमा डुल्दै समाचार संकलन गर्न कहिल्यै पछि हट्नुभयो। यस प्रकारको व्यावहारिक संलग्नता र निष्ठाका कारण उहाँ नेपाल एफएम, इमेज च्यानल, इन्द्रावती साप्ताहिकजस्ता स्थापित राष्ट्रिय मिडियामा काम गर्न सफल हुनुभयो। यस संघर्षले उहाँमा आत्मबल, परिपक्वता र कार्यक्षमताको झनै परिष्कार गर्यो।
 सञ्चारमाध्यमको नेतृत्वमा सक्रियता र नवप्रवर्तन वि.सं. २०६७ सालमा बिनोद न्यौपानेले आफ्नै रेडियो स्टेशन सञ्चालन गर्ने निर्णय लिनुभयो, जुन उहाँको पत्रकारितामा दीर्घकालीन योगदान दिन सक्ने सोचको प्रतिविम्ब हो। यसअघि उहाँ काभ्रे रेडियो डटकममा काम गरिरहनु भएको थियो भने सन् २०१० बाट उहाँले मेकनिकली डटकम नामक डिजिटल प्लेटफर्म सुरु गर्नुभयो। डिजिटल माध्यम विस्तार हुँदै गएको समयमा, उहाँले रेडियो र अनलाइन मिडियालाई सँगसँगै बढाउँदै प्राविधिक तथा व्यवस्थापकीय संयोजनलाई सन्तुलित रूपमा अगाडि बढाउनुभयो। आज उहाँ प्राइम एफएम मा कार्यरत हुनुहुन्छ, जहाँ उहाँ समाचार निर्माणदेखि प्रसारण, कार्यक्रम व्यवस्थापन, कर्मचारी समन्वय, प्रविधि विकासजस्ता पक्षहरूमा नेतृत्व गरिरहनु भएको छ। साथै, उहाँ नेपाल पत्रकार महासंघ, काभ्रे शाखाको अध्यक्ष पनि हुनुहुन्छ, जसले उहाँको नेतृत्व क्षमताको थप प्रमाण दिन्छ।
सामाजिक प्रतिबद्धता पत्रकारिताप्रतिको दृष्टिकोण
न्यौपानेको पत्रकारिता यात्राको मुल प्रेरणा सामाजिक परिवर्तन र जनताको आवाज बुलन्द बनाउने भावना हो। २१ वर्षभन्दा बढीको कार्यकालमा उहाँले भोगेका आर्थिक कठिनाइ, भौगोलिक चुनौती, र संसाधन अभावले उहाँलाई कहिल्यै विचलित हुन दिएन।
उहाँको भनाइ छ— “जनसरोकारका विषय लेख्न पाउनु नै ठूलो कुरा हो, आर्थिक रुपमा मजबुत नहुन पनि सकिन्छ, तर आत्मसन्तुष्टि भने मिल्छ।” यस भनाइले उहाँको सोचको गहिराइ र सच्चा पत्रकारिता प्रतिको श्रद्धालाई देखाउँछ। उहाँ पत्रकारितालाई केवल व्यवसायिक दृष्टिले नभई सामाजिक सेवालाई माध्यमका रूपमा बुझ्नुहुन्छ, जहाँ तथ्य, सत्य र निष्पक्षता मूल आधार हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ।
सम्वादकला, नेतृत्व र प्रेरणाको स्रोत
बिनोद न्यौपाने केवल समाचार संकलक होइनन्, उनी दक्ष सम्वादकर्मी, संयोजक र जनसम्पर्क सञ्जाल निर्माता पनि हुन्। उहाँको सम्वादकला, विनम्रता, तथा व्यवहारिकता कारण उहाँको सार्वजनिक सम्बन्ध अत्यन्त बलियो छ। यद्यपि, उहाँले पत्रकारिता पेशा अझै पनि आर्थिक स्थायित्वको दृष्टिले कमजोर रहेको महसुस गर्नु भएको छ, विशेषतः डिजिटल युगमा। तर पनि, समाज र राष्ट्रका लागि योगदान दिन चाहनेहरुका लागि पत्रकारिता अझै प्रभावकारी माध्यम रहन सक्ने उहाँको विश्वास छ। उनको अनुभव र जीवन यात्रा अहिलेका नयाँ पुस्ताका लागि अत्यन्तै प्रेरणादायी बन्न सक्छ। उहाँले प्रमाणित गर्नुभएको छ कि दृढ निश्चय, निष्ठा र सेवाभाव भएमा पत्रकारिता जस्तो चुनौतीपूर्ण क्षेत्रबाट पनि उल्लेखनीय योगदान गर्न सकिन्छ। बिनोद कुमार न्यौपाने नेपाली पत्रकारिता क्षेत्रका यस्ता अनुहार हुन्, जसले अत्यन्तै कठिन र सीमित परिस्थितिमा पनि पत्रकारितालाई आफ्नो जीवनको मूल बाटो बनाए। संघर्ष, श्रम, प्रतिबद्धता र धैर्यका माध्यमबाट उहाँले पत्रकारितामा न केवल स्थान बनाउनु भयो, बरु नेतृत्वदायी भूमिका समेत निर्वाह गर्न सफल हुनु भयो। उहाँको यात्रा, मूल्य र सोच–भविष्यका पत्रकार, सञ्चारविद् र सामाजिक परिवर्तनमा विश्वास राख्ने सबैका लागि मार्गदर्शक बन्न सक्छ।
 

Comments