ल्याय्म्ह साकोसको १८ औं बार्षिक साधारण सभा सम्पन्न
असोज ३, २०८२, शुक्रबार | विहान १०:५० बजे | 180
मध्यपुर थिमि । ल्याय्म्ह बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिको १८ औं बार्षिक साधारण सभा आज असोज ३ गते शुक्रवार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष विनोद बाबु बज्राचार्यले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुहुँदै जेनजी आन्दोलन पश्चात ल्याएको राजनीतिक परिवर्तनले देशलाई दीर्घकालीन स्थिरता र आर्थिक प्रगतितर्फ अघि बढाउने विश्वास रहेको भन्दै नयाँ निर्वाचित सरकार सहकारी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरी यसका लागि अनुकूल नीति र वातावरण निर्माण गर्ने अपेक्षा राखेको बताउनुभयो । अध्यक्ष बज्राचार्यले सहकारी आन्दोलन भनेकै साझा प्रयास, आपसी विश्वास र सामूहिक प्रगतिको बाटो रहेको भन्दै विगतका कठिनाइहरू, आर्थिकमन्दी तथा अस्थिर राजनीतिक परिस्थितिका बावजुट पनि संस्था निरन्तर अगाडि बढिरहेको बताउनुभयो । सभामा संस्थाका कोषाध्यक्ष प्रद्युम्नहरी श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थामा गत आर्थिक वर्ष २०८१÷८२ को अन्तसम्ममा ३ सय २८ जना शेयर सदस्यहरुबाट ६९ लाख ४ हजार २ सय रुपैयाँको शेयरपुँजी संकलन गर्न सफल भएको बताउनुभयो । कोषाध्यक्ष श्रेष्ठले सोही अवधिमा संस्थाले ५ करोड ७२ लाख ६२ हजार ३ सय १५ रुपैयाँ बचत संकलन गर्दै ५ करोड ३३ लाख ५५ हजार ५ सय ४६ रुपैयाँ ऋण लगानी गर्दै कर अघि २० लाख ८० हजार २ सय ६१ रुपैयाँ नाफा गर्न सफल भएको समेत बताउनुभयो । जुम्ल्याह बाल दिदीबहिनी अन्भि प्रजापति र अन्शि प्रजापतिले संयुक्त रुपमा उद्घाटन गरेको सो अवसरमा संस्थाका उपाध्यक्ष रमेश श्रेष्ठ, सचिव बसन्तलाल गोर्खाली, लेखा सुपरिवेक्षण समिति संयोजक धर्मसुन्दर बज्राचार्य, ऋण उपसमिति संयोजक रामकाजी श्रेष्ठ लगायतका व्यक्तिले संस्थाको विषयमा बोल्नु भएको थियो । संस्थासँग सोही आवको अन्तसम्ममा ७ करोड २८ लाख ८७ हजार ४३ रुपैयाँको सम्पत्ति दायित्वको वासलात रहेको छ ।
