संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान


असोज २, २०८२, बिहीबार | साँझ ०५:५२ बजे | 170


संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाका विजयी सांस्कृतिक समूहहरुलाई पुरस्कार वितरण एवम् सांस्कृतिक गुरुहरूको सम्मान कार्यक्रम बिहीबार भव्य समारोहबीच सम्पन्न भयो ।

कार्यक्रममा सम्मानित संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरुलाई बधाईज्ञापन गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले निस्वार्थ रुपमा जनताको सेवा गर्ने भावनाले काम गर्दै आइरहेको बताउनुभयो।

सम्पदामा क्षति र हानि नोक्सानी गर्नेहरूबाट सचेत हुनुपर्ने बताउँदै उहाँले हाम्रो सम्पदा र कला संस्कृति नै हाम्रो पहिचान भएको हुँदा यसको संरक्षण र प्रवर्धनमा हामी स्वयं लाग्नुपर्ने बताउनुभयो।

विदेशीको भरमा विकास गर्ने परनिर्भर सोचले हामीलाई अपाङ्ग र माग्ने प्रवृत्ति विकास हुने हुँदा हाम्रो इतिहास र सभ्यतालाई हामी आफैंले संरक्षण गर्नुपर्ने बताउनुभयो।

सांस्कृतिक कलाकार र संस्कृतिकर्मीहरूलाई निरन्तर उत्साहित गर्दै लानुपर्ने बताउँदै अध्यक्ष बिजुक्क्षले जनताको साथ र सहयोगमा गरिने हरेक काम सफल हुने बतानुभयो।

देशमा व्याप्त भ्रष्टाचारले देशलाई झन् झन् आर्थिक रूपले कमजोर बनाउँदै लगेको बताउँदै यसमा शासक दलहरु नै जिम्मेवार रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको गाईजात्रा संसारकै उत्कृष्ट पर्वको रूपमा रहेको बताउँदै भक्तपुरका लोपन्मुख नाचहरू उजागर गर्ने उद्देश्यले सांस्कृतिक प्रतियोगितालाई जोड दिँदै आएको बताउनुभयो ।

सांस्कृतिक गुरु सम्मानले संस्कृतिकर्मीहरूमा उत्साह थप्ने काम भएको छ भन्दै उहाँले भक्तपुर विदेशीको सहयोगले होइन आफ्नो स्वाभिमानले आत्मनिर्भर भएर अगाडि बढेको नगर भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले पर्यटन प्रबर्द्धनमा पनि जोड दिदै आएको भन्दै देशमा शान्ति सुरक्षाको प्रत्याभूति भए मात्र बिदेशी पर्यटक नेपालको भ्रमणमा आउने स्पस्ट पार्नुभयो ।

नयाँ पुस्तालाई सम्पदा संरक्षणको महत्व र भक्तपुरको कला संस्कृतिबारे अध्ययन अध्यापनको व्यवस्था गर्दै आएको बताउदै उहाले नयाँ पुस्तालाई प्रशिक्षित गरी पुस्तान्तरण गर्ने काममा नगरपालिकाले सहजीकरण गर्दै आएको बताउनुभयो।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले गाईजात्राको समयमा प्रदर्शन गरिने सांस्कृतिक प्रतियोगिताका प्रस्तुतिहरूलाई अझ व्यापक रूपमा प्रस्तुत गर्न सुझाव दिँदै कला संस्कृतिमार्फत पनि जनताको सेवा सम्भव छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गर्दै आएको बताउनुभयो।

भक्तपुरको कला संस्कृति नेपालमा मात्र नभई विश्वमा चिरपरिचित रहेको बताउँदै उहाँले कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले अझ बुद्धिमानपूर्ण ढंगले अगाडि बढ्न जरुरी रहेको बताउनुभयो।

वर्तमान राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा व्यक्त गर्दै सांसद गोसाईले विदेशी हस्तक्षेपबारे नेपाल मजदुर किसान पार्टीले संसददेखि सडकसम्म र जनतालाई सुसुचित गर्ने काम गर्दै आएको बताउँदै अहिलेको अवस्थाको मुख्य जिम्मेवार शासक दलहरू नै भएको बताउनुभयो।

देशको राजनीति गलत बाटोमा गएपछि देशमा अशान्ति र अराजकता फैलिनु स्वाभाविक भएको बताउँदै उहाँले जनता स्वयं देशको रक्षक दल हुनुपर्ने पाठ वर्तमान राजनीतिक घटनाक्रमले पुष्टि गरेको बताउनुभयो।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका अमूल्य धरोहरलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न विविध सांस्कृतिक प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै समाजका अग्रज र सम्मानित व्यक्तिको रुपमा सांस्कृतिक गुरुहरुलाई सम्मान पनि गर्दै आएको बताउनुभयो । भक्तपुर नगरलाई नाचगानको राजधानीको रुपमा प्रस्तुत गर्न भक्तपुर नगरपालिका प्रयासरत रहेको बताउँदै पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई व्यवहारिक रूपान्तरण गरी अगाडि बढ्दै आएको बताउनुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुर जिल्लाले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान कायम गर्न उदाहरणीय कामहरू गर्दै आएको बताउनुभयो।

भक्तपुर नगरपालिकाको प्रशासनिक व्यवस्था र सेवा प्रवाह अन्य नगरपालिकाको भन्दा अनुकरणीय भएको बताउँदै उहाँले संस्कृतिकर्मी सम्मान कार्यक्रमले भक्तपुरको सांस्कृतिक विविधतालाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

भक्तपुरको शान्ति सुरक्षा कायम गर्ने विषयमा अझ तदारुक्ताका साथ अगाडि बढ्ने बताउनुभयो।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले भक्तपुर कलाकृति र संस्कृतिले भरिएको नगर भएको बताउँदै यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणले हाम्रो इतिहासलाई समेत जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

सांस्कृतिक सम्पदा संरक्षण गर्ने पहिलो दायित्व स्थानीय जनतामा निहित हुने बताउँदै उहाँले आगामी दिनमा पनि भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन गरिएका घिन्ताङघिसी, माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गर्नुभयो ।

सोही क्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले यो वर्ष प्रत्येक वडाबाट १ जना सांस्कृतिक गुरुहरुलाई उहाँहरुको योगदानको कदरस्वरुप भक्तपुर नपाले सम्मान गरिएको र यो वर्षको गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १४६ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नारायणमान बिजुक्छेँ (रोहित) ले १० जना सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उत्कृष्ट कलाकारहरूलाई रु. ५००० नगद पुरस्कारबाट पुरस्कृत गर्नुभयो ।

गुन्हीपुन्ही सापारु २०८२ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ परम्परागततर्फ मुस्याख्व देवी प्याखँ समूहमा महालक्ष्मीको भूमिकामा रहेका न्हुछेलक्ष्मी वनमाला उत्कृष्ट महिला कलाकार, तुछिमला भैल प्याखँ समूहको भैल पूर्णिक अवाल उत्कृष्ट पुरुष कलाकार, नागाचा प्याखँमा कृष्णको भूमिकामा रहेका अविस कुसी उत्कृष्ट बाल कलाकार र मुस्याख्व देवी प्याखँ समूहका गुरु (निर्देशक) साजन मुस्याख्व उत्कृष्ट गुरुको रुपमा सम्मानित हुनुभयो । त्यस्तै आधुनिक विधातर्फ लालाखींलगायत अन्य बाजा बजाउने वाद्यवादक अनुषा श्यामा उत्कृष्ट महिला कलाकार, गणेश दाफा भजनका रत्नसुन्दर पाँती उत्कृष्ट पुरुष कलाकार, आरोही समूहका सुपृच बासी उत्कृष्ट बालकलाकार, आस्था सांस्कृतिक समूहका निर्देशक सुजी ह्योँगजु उत्कृष्ट लेखक र आंस्था सांस्कृतिक परिवारको ख्यालका लेखक राज प्रजापति उत्कृष्ट लेखकबाट सम्मानित हुनुभयो ।

आज सम्मानित हुने सांस्कृतिक गुरुहरू भ.न.पा वडा नं १ बाट चन्द्रभक्त सुवाल, वडा नं २ बाट रत्नभक्त ब्यान्जु, वडा नं ३ बाट तुल्सीभक्त त्वायना, वडा नं ४ बाट काशीबहादुर सुवाल, वडा नं ५ बाट आसबहादुर माक, वडा नं ६ बाट तुल्सी त्यात, वडा नं ७ बाट विष्णुभक्त ग्वाछा, वडा नं ८ बाट विष्णुभक्त भैनात्व, वडा नं ९ बाट आसराम प्रजापति, वडा नं १० बाट शुक्लज्योति बज्राचार्य हुनुहुन्छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण तथा सा“स्कृतिक गुरुहरुलाई सम्मान, आधुनिक विधा र परम्परागत विधा र घिन्ताङघिसी, माक प्याखंका बिजेताहरुलाई पुरस्कार वितरण गर्नुका साथै मुल्याकंनकर्ताहरुलाई मायाको चिनो प्रदान र सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Comments