टपटेन खबरका जेन-जी रिपोर्टर अनिस खरेल सफल उपचारपछि डिष्चार्ज


भदौ २८, २०८२, शनिबार | विहान ०७:३५ बजे | 365


टपटेन खबरका जेन-जी रिपोर्टर अनिस खरेल सफल उपचारपछि डिष्चार्ज

काठमाडौं। जेन–जी आन्दोलनको पहिलो दिन भाद्र २३ गते रिपोर्टिङका क्रममा घाइते भएका टपटेन खबरका रिपोर्टर अनिस खरेल सफल उपचारपछि आज बीएन्डबी (B&B) अस्पतालबाट डिस्चार्ज भएका छन्। २६ वर्षीय पत्रकार खरेल बानेश्वरमा समाचार संकलन गर्दै गर्दा खुट्टामा गोली लागेर गम्भीर रूपमा घाइते भएका थिए। अस्पतालले खरेलसहित आन्दोलनका क्रममा घाइते भएका आधा दर्जनभन्दा बढी व्यक्तिलाई निःस्वार्थ भावनाले उपचार गरेको जनाएको छ। अस्पतालका संचालक वरिष्ठ डा. विवेक बास्कोटाले भने, “हामी स्वास्थ्य मन्त्रालयको निर्देशन वा बजेटकै आधारमा हैन, चिकित्सकको कर्तव्य र मानवीय दायित्वका आधारमा उपचार गरेका हौं। सरकारसँग कुनै खर्च दाबी गर्ने योजना छैन।” यस्तै, अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराईले घाइते बिरामीको उपचारमा सहज वातावरण सिर्जना गर्न अस्पतालले कुनै कमी नभएको बताए। खरेलले उपचारको क्रममा चिकित्सकदेखि नर्स र प्रशासनसम्म सबैको समर्पित सेवाबाट आफू हौसिएको अनुभूति भएको बताएका छन्। पत्रकारितासँगै सामाजिक सेवामा सक्रिय खरेल लायन्स इन्टरनेशनल लियो डिष्टिक काउन्सिल ३२५ एच नेपाल, चाबहिलका सदस्य पनि हुन्। उनको सफल उपचारले खरेललाई ऊर्जा दिएको छ । बीएन्डबी अस्पतालको मानवीय र सामाजिक उत्तरदायित्वप्रति प्रतिवद्धताको उदाहरण पनि प्रस्तुत गरेको छ। बीएन्डबीले कठिन परिस्थितिमा पनि घाइतेहरुको जीवन रक्षा गरेर नागरिकको विश्वास जित्न सफल भएको छ, जसले स्वास्थ्य सेवा केवल व्यवसाय नभई जीवनरक्षक धर्म हो भन्ने सन्देश दिएको छ।

Comments