पत्रकारिता र शिक्षामा शिखर छुने नामः डा. इन्दुल केसी


भदौ २७, २०८२, शुक्रबार | विहान १०:१४ बजे | 190


पत्रकारिता र शिक्षामा शिखर छुने नामः डा. इन्दुल केसी

कुसुम थापा, रोजिना लामिछाने
डा. इन्दुल केसी नेपाली पत्रकारिता र शिक्षा क्षेत्रका एक अत्यन्तै आदरणीय र प्रतिभाशाली व्यक्तित्व हुन्। भक्तपुरमा जन्मिएका डा. केसी आफ्नै परिवारबाट पत्रकारिता सुरु गर्ने पहिलो व्यक्ति बनेका छन्—र उनले यो यात्रा समर्पण, दृढता र सत्यको पक्षमा बोल्ने अठोटका साथ सुरु गरेका थिए।
उनको पत्रकारिता यात्रा सन् २०१४ मा सुरु भयो, जब उनले न्युज पेपर कलेक्शन इन्स्टिच्युटमा संवाददाता (कोरेस्पोन्डेन्ट) को रूपमा कार्य थाले। प्रारम्भिक दिनहरूमा उनी स्थानीय क्षेत्रमा गएर समाचार संकलन गर्थे र ती समाचार प्रकाशित गर्न काठमाडौंसम्म साइकलबाट यात्रा गर्थे। धेरैपटक उनले अन्य मानिसहरूबाट गालीगलौज, धम्की र दुःख पनि भोग्नुप¥यो। तर यस्ता चुनौतीहरूले उनको हिम्मत कहिल्यै कमजोर बनाएन।
शैक्षिक क्षेत्रमा पनि डा. केसीले असाधारण उपलब्धिहरू हासिल गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट आई.ए. र बी.ए. उत्तीर्ण गरेका थिए। त्यसपछि उनी यही विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए.) र कानुनमा स्नातक (एल.एल.बी.) पास गरे। सन् १९७५ मा उनी इङ्ग्ल्याण्ड गएर रेडियन युनिभर्सिटीबाट शिक्षामा स्नातकोत्तर (पोस्ट ग्र्याजुएट) गरे। त्यसपछि भारतको कोलकातामा गएर शोधपत्र लेख्दै विद्यावारिधि (एज.म्.) प्राप्त गरे। उनले कानून अभ्यासको डिग्री पनि हासिल गरे र सुप्रीम कोर्टमा बहस गर्ने अनुमति समेत पाए, तर अन्ततः पत्रकारिता नै उनको मुख्य पेशा बन्यो।
उनले विभिन्न ठाउँहरूमा पत्रकारिताबारे  कक्षाहरु संचालन गरे।  कृष्ण किसी जस्ता अन्य पत्रकारहरूलाई पनि प्रशिक्षण दिए। उनले नेपालमा केन्द्रीय विज्ञापनदाताका रूपमा समेत कार्य गरे, साथै “स्वर्ण पत्रकार संघ” जस्ता सम्मानित स्थानहरूमा समेत संलग्न भए।
डा. केसी प्रविधिमा विश्वास राख्छन्। उनी भन्छन्, “आज एक कोठाबाटै समाचार तयार गर्न सकिन्छ। हामी घरमै बस्दै ल्यापटपमार्फत पत्रिका पढ्न सक्छौं।” अहिले ८४ वर्षको उमेरमा पनि उनी निरन्तर पत्रकारिता लेखन, पुस्तक र जर्नल प्रकाशन, लेखकहरूको समीक्षा, पत्रकारिता तालिम र सामाजिक सेवामा सक्रिय छन्।
इमानदारीपूर्वक काम गरिरहेका पत्रकारहरूप्रति उनले गहिरो कृतज्ञता व्यक्त गर्छन्। उनी भन्छन्—“पत्रकारिताले विश्वभर सूचना प्रवाह गर्छ, समुदायसँग जोड्छ, व्यक्तिको प्रतिभा देखाउने अवसर दिन्छ।”
पत्रकारिता अध्ययन गरिरहेका युवाहरूका लागि उनको सन्देश,
“पत्रकारिता पेसा राम्रो छ। प्रविधिले तपाईंहरूको कार्यलाई अझ सरल बनाएको छ। यो पेसा  सार्थक हुनुका साथै प्रभावकारी पनि छ, तपाईंहरू निरन्तर लागिरहनुहोस्।”
डा. इन्दुल केसीको जीवन यात्रा ज्ञान, सेवा र सत्यप्रति समर्पणको उज्यालो उदाहरण हो। नेपाली पत्रकारिता र शिक्षा क्षेत्रमा उनको योगदान आज पनि उत्तिकै प्रेरणादायी रहिरहेको छ।
 

Comments