स्काउटमाथिको आगजनी अक्षम्यः अराजक व्यक्तिको पहिचान गरी कारबाहीको माग
भदौ २५, २०८२, बुधबार | राति ०७:१५ बजे | 510
भक्तपुर । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको कार्यालयमा आगजनी गरी पूर्ण क्षति गरेको भन्दै स्काउट जस्तो अन्र्तराष्ट्रिय स्वयंसेवी शैक्षिक अभियानसहित स्थापित सामाजिक संस्थालाई लक्षित गरी भएको आगजनी अक्षम्य भएको जनाएको छ । यसकारण ती उच्छृङ्खल तथा अराजक व्यक्तिहरुको पहिचान गरी यथाशीघ्र कार्वाही गर्न बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी सम्बन्धित निकायलाई माग गरेबमे छ ।
विज्ञप्ति
२०८२ भदौ २४ गते मंगलबारका दिन “जेन जी” को नाममा भएको आन्दोलनका क्रममा अराजक तथा उच्छृङ्खल व्यक्तिहरुको घुसपैठबाट नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको कार्यालयमा आगजनी गरी पूर्ण क्षति गरेकोमा गम्भीर ध्यानाकर्षण गराउदै खेद प्रकट गर्दछ ।
भक्तपुर दरबार क्षेत्रस्थित जिल्ला प्रशासन कार्यालय, बाल अदालत र महानगरीय प्रहरी परिसरको प्रांगणमा रहेको स्काउट जस्तो अन्र्तराष्ट्रिय स्वयंसेवी शैक्षिक अभियान सहित स्थापित सामाजिक संस्थालाई लक्षित गरी भएको आगजनी अक्षम्य छ । आगजनीबाट भवनको भुई तल्ला पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने कार्यालयमा भएको फर्निचर, नगद, नागरिकता फारम, टेलिफोन सेट लगायतको सामग्री जल्दा करिब १५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय युवाहरुबाट रोक्न खोज्दा पनि अवरोध गरी उच्छृङ्खल व्यक्तिहरुबाट बेलुका करिब ८ः०० बजे तिर आगजनी भएको जानकारीमा आएको छ । स्थानीय स्काउट कार्यालय यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउदै ती उच्छृङ्खल तथा अराजक व्यक्तिहरुको पहिचान गरी यथाशीघ्र कार्वाही गर्न पनि सम्बन्धित निकायलाई माग गर्दछ ।
